अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि धर्ना

नेपालभ्युज

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि धर्ना

भैरहवा। अन्तर्राष्ट्रिय उडानको माग गर्दै गौतमबुद्ध विमानस्थल अगाडि स्थानीय बासिन्दा अनिश्चितकालीन धर्ना बसेका छन्। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरु अनिश्चितकालीन धर्ना बसेका हुन्।

यो विमानस्थलमा लामो समयदेखि अन्तर्राष्ट्रिय उडान स्थगित छ ।  विमानस्थल पूर्ण क्षमतामा संचालनको माग गर्दै आइतबारबाट सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोधको कार्यक्रम सुरु भएको हो । चरणबद्ध आन्दोलन गरिरहेको सञ्जालले नियमित अन्तर्राष्ट्रिय उडान गर्न पटक–पटक सरकारलाई दवाव दिँदै आएपनि सुनुवाई नभएकोले बाध्य भएर धर्नाको कार्यक्रम अघि सारेको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

सञ्जालकै नेतृत्वमा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्री, मुख्यमन्त्री, सरोकारवाला मन्त्रालयमा ज्ञापन पत्र, ध्यानाकर्षण, छलफल र अन्तरक्रिया गरेपनि सरोकारवाला पक्ष उदाशिन रहेकोले बाध्य भएर शुक्रबार भैरहवामा जन दबाब तथा विरोध प्रदर्शन गरिएको थियो । चरणबद्ध कार्यक्रम अन्तर्गत नै विमानस्थल केन्द्रित नियमित अन्तराष्ट्रिय उडान नभएसम्म अनिश्चितकालिन धर्नाको कार्यक्रम राखिएको अध्यक्ष ज्ञवालीले बताए ।

उद्घाटन भएको १६ महिना बितिसक्दासमेत अन्तराष्ट्रिय उडान नियमित हुन नसकेपछि अर्बौं लगानी जोखिममा परेको भन्दै यस क्षेत्रका ३ दर्जन बढी संघ संस्थाहरु सडकमा आई विरोध जनाएका हुन  । धर्नामा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे, लुम्बिनी प्रदेश सभा सदस्य वसिउद्दिन खान, व्यसायिक संघ संस्था तथा जनप्रतिनिधीहरुले पनि साथ दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved