सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख

नेपालभ्युज

सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख

दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ ।

कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदेखि उहाँ पूर्णरूपमा यस खेतीमा लागिरहनुभएको छ ।

छपन्न वर्षीय थापाले ५६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा सुन्तला खेती गर्नुभएको हो । चार सय बोट सुन्तलाबाट बर्सेनि रु २५ लाखभन्दा बढी आम्दानी भइरहेको उनले जानकारी दिए ।

सुन्तला खेतीमार्फत मनग्य आम्दानी गर्दै आएका थापा कृषिविज्ञ पनि हुन् । उनले भने, “३५ वर्ष सरकारको कृषि प्रसार अधिकृतका रूपमा काम गरेर सेवानिवृत्तपश्चात पुख्र्यौली पेसा सुन्तला खेतीमा आफूलाई समाहित गरी निरन्तर अगाडि बढेको छु ।

सुन्तला खेतीबाट मनग्य आम्दानी भइरहेको छ, यसमा सन्तुष्ट छु ।” यस वर्षको सुन्तलाको ठेक्का रु २५ लाखमा काठमाडौँका व्यापारीलाई दिएको उनले बताए । उनले भने, “उमाचोकका किसानले व्यापारीलाई सिधै ठेक्कामा सुन्तला बिक्री गर्ने गरेका छन् । यसले गर्दा सहज भएको छ ।”

थापाले सुन्तला खेतीबाटै कमाएको रकमले छोराछोरी विदेश पठाएका छन् ।

जिल्लामा गत वर्ष रु २९ करोडको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित अधिकांश सुन्तला बाहिर निर्यात हुने गरेको छ । त्यस वर्ष नौ हजार छ सय ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ ।

कार्यालयले सुन्तला खेती किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved