आलेख

दुई राज्य समाधान : प्यालेस्टाइनको न्याय र इजरायलको सुरक्षा एकसाथ सम्भव छ

गाजा क्षेत्रमा इजरायलको लामो पुनर्कब्जा र नाकाबन्दी हुनुहुँदैन । लामो समयदेखि पीडित प्यालेस्टाइनीले आत्मनिर्णय र सभ्य जीवनस्तरको अवसर पाउनुपर्दछ । यदि गाजा क्षेत्रको सत्ताबाट हमासलाई हटाइयो भने त्यहाँ प्यालेस्टाइनीले अझ राम्रो जीवनस्तरको अवसर पाउनुपर्छ । इजरायलले गाजामा कब्जा मात्र गर्‍यो भने त्यो उल्टो हुनेछ र त्यसले हमासलाई नै फाइदा पुग्नेछ ।

दुई राज्य समाधान : प्यालेस्टाइनको न्याय र इजरायलको सुरक्षा एकसाथ सम्भव छ

बितेका १५ वर्षमा इजरायल र हमासबीच ५ वटा युद्ध भए । जारी युद्ध हामीले कसरी अन्त्य गर्ने ? ढिलो चाँडो फेरि हुन सक्ने छैटौँ युद्ध कसरी रोक्ने ? द्वन्द्वका जरा र युद्ध रोक्न चाहिने हाम्रा अपेक्षाबीच कसरी सन्तुलन गर्ने ?

७५ वर्षदेखि कुटनीतिज्ञ, असल मनसाय भएका इजरायली र प्यालेस्टाइनी, संसारभरिका सरकार र नेताहरूले त्यो क्षेत्रमा शान्ति ल्याउन संघर्ष गरिरहेका थिए । यही अवधिभित्र एक इजिप्टका राष्ट्रपति र एक इजरायली प्रधानमन्त्री शान्ति स्थापना गर्ने प्रयत्नबापत् अतिवादीद्वारा मारिए । यो जारी छ र जारी रहने देखिन्छ ।

हामी जो यो युद्ध अन्त्य गर्न मात्र हैन, भविष्यमा हुनसक्ने यस्तो युद्धको सम्भावनाबाट समेत बच्न चाहन्छौँ, पहिले तथ्यहरूबारे स्पष्ट हुन जरुरी छ ।

हमासले अक्टोबर ७ मा इजरायलमाथि एक बर्बर आक्रमण गर्‍यो । १२०० भन्दा बढी महिला, पुरुष र बच्चाको हत्या गर्‍यो । २०० भन्दा बढीलाई बन्धक बनायो । अनुपातका आधारमा यदि इजरायलको जनसंख्या अमेरिकाको जति हुन्थ्यो भने यो हमलाबाट भएको क्षति ४०,००० बराबर हुने थियो, सेप्टेम्बर ११ मा भोग्नु परेको मृत्युभन्दा १० गुणा बढी हुने थियो ।

जवाफमा इजरायलले प्यालेस्टाइनी जनताविरुद्ध समग्र युद्ध गरिरहेको छ । इजरायल अहिले दक्षिणपन्थी प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको नेतृत्वमा छ, जो आफैँ भ्रष्टाचारको अभियोग खेपिरहेका छन्, जसको मन्त्रिमण्डलमा नश्लवादीहरूको बर्चश्व छ ।

गाजाबाट १६ लाखभन्दा बढी प्यालेस्टाइनीलाई उनीहरूको घर छोड्न बाध्य बनाइएको छ । खाद्यान्न, पानी, औषधि र इन्धन आपूर्ति रोकिएको छ । संयुक्त राष्ट्र संघको अनुमानअनुसार गाजा क्षेत्रमा ४५ प्रतिशत घर ध्वंस वा विनाश भएका छन् । १३ हजारभन्दा बढी प्यालेस्टाइनीको मुत्यु भइसकेको छ । हजारौं घाइते छन् । र, स्थिति दिनप्रतिदिन भयानक हुँदै गइरहेको छ ।

यो एक यस्तो मानवीय विपत्ति हो, जसले व्यापक क्षेत्रीय द्वन्द्व प्रज्वलित गर्ने जोखिम छ । हामी सबै यही चाहन्छौँ कि यो स्थिति यथासम्भव छिटो अन्त्य हुनुपर्दछ । यस उद्देश्यमा प्रगति हासिल गर्न हामीले परिस्थितिको जटिलतासँग जुध्नपर्ने हुन्छ । तर, दुवै पक्षका धेरै मानिस यसबाट टाढा भाग्न चाहन्छन् ।

पहिलो कुरा— हमासले अक्टोबर ७ अघि वा पछि यो स्पष्ट गरिसकेको छ कि उसको लक्ष्य अविछिन्न युद्ध र इजरायल राज्यको विनाश हो । गत हप्ता मात्र न्यूओर्क टाइम्सलाई हमासका एक प्रवक्ताले भनेका छन्— मलाई आशा छ कि इजरायलसँगको युद्ध अवस्था सबै सिमाना क्षेत्रमा स्थिर हुनेछ । अरब विश्व हामीसँग उभिने छ ।

दोस्रो कुरा— इजरायलले हालैका वर्षमा शान्तिपूर्ण समाधानका लागि केही पनि गरेको छैन । इजरायलले गाजा क्षेत्रमा नाकाबन्दी कायम राखेको छ । पश्चिमी किनारा क्षेत्रमा अपमानजनक दैनिक कब्जा विस्तार गर्दैछ । प्यालेस्टाइनीले सामना गरिरहेको भयावह अवस्था बेवास्ता गर्दैछ ।

भन्न आवश्यक छैन, यो कहिल्यै अन्त्य नहुने त्रासदीबारे मसँग पनि सबै जवाफ छैनन् । तर, शान्ति र न्यायमा विश्वास गर्ने हामीले इजरायल र प्यालेस्टानको विचारशील प्रतिक्रियाका लागि सक्दो प्रयास गर्न आवश्यक छ । यस्तो प्रयासले हामीले आज सामना गरिरहेको समस्याको समाधान गर्न यथार्थपरक मार्गचित्र बनाउन सक्दछ ।

यहाँ मैले व्यक्त गरेका विचारले उत्तम मार्गमा अघि बढ्न सकिन्छ । अमेरिकाले विश्वलाई कसरी एक नैतिक स्थितिको वरिपरि एकीकृत गर्न सक्दछ, कसरी हामी यो क्षेत्रको शान्ति र प्यालेस्टाइनी जनताको न्यायका लागि काम गर्न सक्दछौँ भन्नेतर्फ लैजान्छ ।

सुरुवातमा हामीले इजरायलले गरिरहेको अन्धाधुन्ध बमबारी रोक्न माग गर्नुपर्दछ । इजरायलको यस्तो बमबारीले ठूलो मात्रामा नागरिकको हताहती भइरहेको छ । अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भइरहेको छ । इजरायल हमाससँग युद्धमा छ, निर्दोष प्यालेस्टाइनी जनतासँग हैन । इजरायलले हमास लक्ष्य भेदन गर्न सम्पूर्ण छिमेकमा बमबारी गर्न पाउँदैन ।

यी अभियान हमासको सैन्य क्षमतालाई कमजोर पार्न प्रभावकारी भइरहेका छन् कि छैनन् भन्नेसमेत हामी कसैलाई थाहा छैन । तर, हामीलाई यो थाहा छ कि ७० प्रतिशत हताहती महिला र बालबालिकाको छ । संयुक्त राष्ट्र संघका १०४ सहायता कार्यकर्ता मारिएका छन् । ५३ पत्रकार मारिएका छन् । यो स्थिति स्वीकार्य छैन ।

गाजा क्षेत्रमा मान्छेको जीवन बचाउन चाहिने खाद्यान्न, पानी, औषधि र इन्धन छैन । त्यहाँ एक निक्कै ठूलो मानवीय विराम हुनुपर्दछ । बन्धक रिहाका लागि ४ दिने युद्धविराम सम्झौता सम्मान गर्नयोग्य छ । यो आशाको पहिलो चरण हो । अब युद्धविराम विस्तारको काम गर्नुपर्दछ ।

संयुक्त राष्ट्र संघलाई तीर्खा, भोकमरी र रोगहरूबाट मान्छेलाई बचाउन र आश्रयस्थल निर्माण गर्न, गम्भीर विपत्तिमा फसेकालाई बाहिर निकाल्न आवश्यक सञ्जाल बनाउने र सेवा वितरण गर्ने समय दिनुपर्दछ । यस्तो निकासले धेरै बन्धकलाई मुक्त गर्ने वार्ताका लागि अनुमति दिने छ ।

यस्तो विस्तारित विरामले अन्धाधुन्ध बमबारी पुनश्च: सुरू हुन दिनु हुँदैन । इजरायलले हमासलाई पछ्याउन छोडोस् भन्ने हैन । तर, यस्ता कारबाही नागरिक क्षति नहुने वा न्यून हुनेगरी हुनुपर्दछ ।

गाजा क्षेत्रमा इजरायलको लामो पुनर्कब्जा र नाकाबन्दी हुनुहुँदैन । लामो समयदेखि पीडित प्यालेस्टाइनीले आत्मनिर्णय र सभ्य जीवनस्तरको अवसर पाउनुपर्दछ । यदि गाजा क्षेत्रको सत्ताबाट हमासलाई हटाइयो भने त्यहाँ प्यालेस्टाइनीले अझ राम्रो जीवनस्तरको अवसर पाउनुपर्छ । इजरायलले गाजामा कब्जा मात्र गर्‍यो भने त्यो उल्टो हुनेछ र त्यसले हमासलाई नै फाइदा पुग्नेछ ।

यस क्षेत्रको दीगो शान्ति र प्यालेस्टाइनी जनताको उज्ज्वल भविष्यका लागि गाजालाई हमासको नियन्त्रणबाट मुक्त हुने अवसर दिन पर्दछ । तर, त्यहाँ लामो इजरायली कब्जा हुनु हुँदैन ।

गाजालाई चाहिने राजनीतिक रूपान्तरण गर्न फराकिलो राजनीतिक प्रक्रिया र नयाँ प्यालेस्टाइनी नेतृत्व चाहिन्छ । त्यस्तो रूपान्तरण र शान्तिका लागि इजरायलले केही राजनीतिक प्रतिबद्धता गर्नुपर्दछ, जसले गर्दा प्यालेस्टाइनी नेतृत्वलाई शान्ति निर्माणका लागि समर्थन गरोस् ।

विस्थापित प्यालेस्टाइनीलाई पुनर्निमाणका रूपमा आफ्नो घर फर्किने प्रत्याभूति दिनुपर्दछ । वर्षौँदेखि गरिबी र निराशाबीच बाँच्न बाध्य मानिसलाई घरबारविहीन बनाउन मिल्दैन ।

इजरायलले पश्चिमी किनारामा हत्या र कब्जा अन्त्य गर्नुपर्दछ । त्यसको पहिलो कदमको रूपमा वस्तीहरूलाई स्थिर हुन दिने प्रतिबद्धता गर्नुपर्दछ । यस्ता कदमले यो देखाउन सक्दछ कि शान्तिले नै प्यालेस्टाइनी जनताका लागि सहजता प्रदान गर्न सक्दछ । अन्तर्राष्ट्रिय बल र अस्थायी विरामबाट प्यालेस्टाइनी प्राधिकारले गाजा क्षेत्रको वैधता र प्रशासनिक नियन्त्रण प्राप्त गर्ने आशा गर्न सकिन्छ ।

र, अन्तिम कुरा प्यालेस्टाइनी जनतालाई विद्यमान युद्धको परिप्रेक्ष्यमा सभ्य भविष्यको आशा दिने भनेको दुई राज्य समाधानले नै हो । दुई राज्य समाधानप्रति शान्ति वार्ताको प्रतिबद्धता हुनुपर्दछ । अमेरिका, अन्तर्राष्ट्रिय समुदाय र इजरायलका छिमेकीको यसतर्फ तीव्र अग्रसरता हुनुपर्दछ ।

यसबाट धनी खाडी राष्ट्रलगायत अन्तर्राष्ट्रिय समुदायको प्यालेस्टाइनी जनताप्रतिको समर्थन नाटकीय बृद्धि हुन्छ । साथै, इजरायलसँग शान्तिका लागि पूर्ण प्रतिबद्ध नयाँ लोकतान्त्रिक सरकार निर्वाचित नभएसम्म प्यालेस्टाइनलाई पूर्ण मान्यता दिने बाचा समावेश हुनेछ ।

तर, प्रष्ट हौँ कि यी कुरा आफैँ हुने हैनन् । नेतान्याहूको लिकुड पार्टी स्पष्टरूपमा ‘सागर र जोर्डन नदी बीचमा इजरायली सार्वभौमसत्ता हुनेछ’ भनेर स्थापित भएको थियो । हालको गठबन्धन सम्झौताले त्यो लक्ष्यलाई अझ बलियो बनाउँछ । यो कुनै विचारधारा मात्र हैन, वर्तमान इजरायली सरकार यो लक्ष्य हासिल गर्न व्यवस्थितरूपमा लागेको छ ।

गत वर्षको अभिलेखले पश्चिमी किनारामा इजरायली वस्ती बृद्धि भएको देखाउँछ । त्यहाँ अहिले अमेरिका र संयुक्त राष्ट्र संघले ओगटेको क्षेत्रमा ७ लाखभन्दा बढी इजरायली बस्दछन् । उनीहरूले यस कार्यका लागि राज्य हिंसाको समर्थन प्राप्त गर्दछन् ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदनले भन्छ— यहाँ अक्टोबर ७ यता ५३ बालवालिकासहित कम्तीमा २०८ प्यालेस्टाइनी इजरायली सुरक्षा बल तथा सेटलरद्वारा मारिएका छन्। यसलाई जारी राख्ने अनुमति दिन सकिँदैन ।

नेतान्याहूले यी सवालमा उनी कहाँनेर उभिएका छन् भनेर स्पष्ट पारेका छन् । हामीले पनि आफूलाई स्पष्ट पार्नुपर्दछ । यदि अनुरोधले मात्रै काम गर्थ्यो भने हामी आज यो स्थितिमा हुने थिएनौँ । अमेरिकाले इजरायलसँगको आफ्नो पर्याप्त पुँजी प्रयोग गरे मात्र आवश्यक परिवर्तन सम्भव हुनेछन् । र हामी सबैलाई थाहा छ कि त्यो पुँजी के हो ।

वर्षौँदेखि अमेरिकाले इजरायललाई पर्याप्त रकम उपलब्ध गराउँदै आएको छ । तर, त्यसको तार नजिकबाट जोडिएको छैन । हालै हामीले एक वर्षमै ३.८ बिलियन डलर दियौँ । राष्ट्रपति बाइडनले त्यो कार्यका लागि कांग्रेससँग थप १४.३ बिलियन डलर मागेका छन् । तर, निरीक्षण नियमहरू माफ गर्न भनिएको छ । यस्तो खाली चेक दिने दृष्टिकोण समाप्त हुनुपर्दछ ।

अमेरिकाले यो भन्न सक्नुपर्दछ कि हामी इजरायलका मित्र त हौँ तर, मित्रताका शर्त पनि छन् । हामी अन्तर्राष्ट्रिय कानूनको उल्लंघन र आफ्ना मर्यादाविपरीत कार्यमा संलग्न हुन सक्दैनौँ । यस्तो शर्तभित्र अन्धाधुन्ध बमबारीको अन्त्य पनि समावेश हुन्छ ।

विस्थापित गाजाका वासिन्दाको घर फिर्तीको अधिकारप्रति बेवास्ता गर्न मिल्दैन । यस क्षेत्रमा व्यापक मानवीय सहायताको परिचालनमाथि अवरोध हुनु हुँदैन । गाजामा इजरायलको दीर्घकालीन कब्जा हुनु हुँदैन । र पश्चिमी किनारामा इजरायली सेटलरद्वारा हुने हिंसा र इजरायली बस्ती विस्तार रोकिन पर्दछ ।

युद्ध अन्त्यको परिप्रेक्ष्यमा दुई राज्य समाधानका लागि व्यापक शान्तिवार्ताको प्रतिबद्धता हुनु पर्दछ। प्यालेस्टाइनका लागि न्याय र इजरायलका लागि सुरक्षाको तरिकाद्वारा द्वन्द्व समाधान गर्ने प्रयास विश्वभरिका असल मान्छेहरूको वर्षौँ लामो प्रयास हो ।

मैले र अमेरिकी कांग्रेसका अन्य केही सदस्यले यस पक्षमा सक्नेजति थुप्रै प्रयास गरेका छौँ । स्पष्ट छ कि हामीले पुग्दो गर्न सकेका छैनौँ । अब यो प्रयासमा हाम्रो पुनर्प्रतिबद्धता चाहिन्छ । यस्तो प्रयासको महत्त्व यतिखेर धेरै उच्च छ ।

(लेखक अमेरिकी सिनेटर तथा डेमोक्र्याटिक पार्टीभित्र फरक दृष्टिकोण राख्ने छवि बनाएका एक प्रखर राजनीतिज्ञ हुन् । यो आलेख द न्यूओर्क टाइम्सबाट अनुवाद गरिएको हो ।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved