‘वाहियात आन्दोलन’विरुद्ध लाजमर्दो राज्यआतंक

किन एउटा वाहियात आन्दोलनलाई यति धेरै भाउ दिएर राज्यआतंक मच्चाइरहेको छ सरकार ?

नेपालभ्युज

‘वाहियात आन्दोलन’विरुद्ध लाजमर्दो राज्यआतंक

काठमाडौं । शुक्रबार दिनभरजसो धेरैको ध्यान तीनकुने र सानोठिमी केन्द्रित भयो । कारण थियो– गणतन्त्रविरोधी व्यवसायी दुर्गा प्रसाईंले गर्ने भनेको आन्दोलन र नियन्त्रणका लागि प्रशासनले गरेको ज्यादती !

११ बजे तीनकुनेमा प्रदर्शन गर्ने भनेपछि प्रहरीको ठूलो जत्था सानोठिमीस्थित प्रसाईंनिवास अगाडि तैनाथ भयो । प्रसाईंलाई घरबाहिर निस्कनै दिएन । अर्थात्, ‘अघोषित नजरबन्द’मा राखियो ।

यता प्रदर्शनस्थल तीनकुनेमा पनि ठूलो संख्यामा प्रहरी खटियो । चोक–चोकमा प्रहरी, रेलिङमा प्रहरी, सडकको बीचमा प्रहरी । तीनकुने आसपास जताजतै प्रहरी नै प्रहरी ! मानौं– देशमा ठूलो विदेशी आतंककारी समूहले आक्रमण गर्दैछ र कुनै पनि बेला प्रतिकार गर्नुपर्नेछ ।

सडकमा प्रहरीको उपस्थितिले कार्यालय हिँडेका कर्मचारी र कलेज–विद्यालय हिँडेका विद्यार्थीको अनुहार त्रासयुक्त देखिन्थ्यो । उनीहरु हतार–हतार तीनकुने पार गर्न चाहन्थे ।

एकछिनपछि प्रहरी एक्सनमा उत्रियो । तीनकुने चौरमा बसेर बदाम खाइरहेकाहरुलाई उठाएर भ्यानमा कोच्यो । सडकमा हिँडिरहेकाहरुलाई च्याप्प समाउँदै ‘शंकास्पद प्रदर्शनकारी’का नाममा भ्यानमा हुल्यो । खाजाघरमा खाजा खाइरहेकालाई मात्रै होइन, घरभित्र बसेकाहरुलाई समेत प्रहरीले प्रदर्शनकारी देख्यो ।

‘म प्रदर्शनकारी होइन हजुर, कार्यालय हिँडेको’, ‘मलाई त आन्दोलन सान्दोलन केही पनि थाहा छैन’, भन्ने आमाहरुको आवाज पनि सुनेन पुलिसले । दृश्य देख्दा यस्तो लाग्थ्यो– पुलिसको कान हुँदैन, हुन्छ त जसलाई पनि आन्दोलनकारी देख्ने आँखा र उचालेर भ्यानमा कोच्ने हातहरु !

अनि उक्त दृश्यहरु यस्ता लाग्थे– जसरी शाही शासनकालमा सेनाले गणतन्त्रको पक्षमा आन्दोलन गर्नेलाई पक्रन्थे उसैगरी अहिले गणतन्त्रका प्रहरीले राजतन्त्र पक्षधरलाई पक्रिरहेको छ । जसरी गणतन्त्रवादी नेतालाई नजरबन्दमा राखिन्थ्यो, उसैगरी राजतन्त्र पक्षधर व्यवसायीलाई निवासमै कैद गरिएको छ ।

दिनभरीको दृश्यले धेरै प्रश्नहरु उब्जाएका छन् । बिनाएजेन्डा र बिनासंगठन सडकमा आएको एउटा ‘बेइमान व्यवसायी’लाई तह लगाउन छाडेर किन सरकार उल्टै यसरी प्रवर्द्धन गरिरहेको छ ?

खासमा प्रसाईंद्वारा प्रर्वद्धित उक्त आन्दोलन ‘वाहियात’ नै हो । आन्दोलनको खास माग नै छैन । कुनै राजनीतिक वा नीतिगत माग पनि छैन । ‘बैंकको ऋण तिर्नु पर्दैन’ र ‘व्यवस्था फेर्नुपर्छ’ भन्ने अमूर्त अनि हावादारी कुराको पछि लागेर सयौं मान्छे प्रसाईंको पछि लागेका हुन् । न टेक्ने टेको न समाउने हाँगो भएका प्रसाईंलाई सुरुमा युवा संघले प्रमोसन गरिदियो, अहिले सरकारले ‘अघोषित प्रवर्द्धन’ गरिरहेको छ ।

सुरुदेखि इग्नोर गर्नुपर्ने मात्रै होइन, मनलाग्दी गतिविधिलाई नियन्त्रण गर्न छाडेर सरकारले विस्तार–विस्तारै प्रसाईंको सञ्जाललाई नै प्रचार गरिदियो । परिणामतः अहिलेको स्थिति निर्माण भएको छ ।

न्यूटनको चालसम्बन्धी तेस्रो नियमले भन्छ– हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ । कतै प्रसाईंको मामलामा पनि यही नियम लागू हुने त होइन ?

नत्र किन एउटा वाहियात आन्दोलनलाई यति धेरै भाउ दिएर राज्यआतंक मच्चाइरहेको छ सरकार ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved