दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन – काठमाडौं प्रशासन

नेपालभ्युज

दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन – काठमाडौं प्रशासन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भाइरल म्यान दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानअन्तर्गत आजदेखि घोषणा गरिएको आन्दोलनको थप कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ । तीनकुनेमा कार्यक्रम गर्ने अनुमति नभएको बताएको हो ।

प्रसाईंले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए । उक्त ठाउँमा कार्यक्रमका लागि अनुमति नदिएको प्रशासनले प्रष्ट्याएको छ ।

काठमाडौं प्रशासनका सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीतका गतिविधि गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

‘सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने व्यहोरा अवगत गराइन्छ’, प्रशासनले भनेको छ ।

हिजो बल्खुमा प्रदर्शनकारीहरू उत्तेजित भई कार्यक्रमस्थलभन्दा बाहिर झुण्ड झुण्डमा बाँडिएर सामाजिक सद्भाव बिथोल्ने, कानून निषिद्ध, अराजक, हिंस्रक एवम् दङ्गा भड्काउने अभिव्यक्ति दिने, निषेधित क्षेत्र प्रवेश गर्न खोज्ने र सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले पानीको फोहोरा र केही सेल अश्रुग्यासको प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved