एमालेले कतिन्जेल थाम्ला ‘पप्पु’हरूको भार ?

अब एमाले र अध्यक्ष कमरेड ओलीले महेश र रौनियार दुवै मार्काका पप्पुहरूको संरक्षण गर्नुपर्ने छ । कसैलाई गुन्डागर्दीको र कसैलाई भ्रष्टाचारको कारबाहीबाट जोगाएर । बदलामा पप्पुहरूले अध्यक्ष ओली र एमालेको भार थाम्नपर्ने होला ।

एमालेले कतिन्जेल थाम्ला ‘पप्पु’हरूको भार ?

काठमाडौं । पूर्वमानवअधिकारकर्मी सुबोध प्याकुरेल कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ र बलिया समर्थक मानिन्थे । उनी ओली गुटका एक खम्बा शेरधन राई प्रदेश १ को मुख्यमन्त्री हुँदा प्रादेशिक योजना आयोगका उपाध्यक्ष पनि थिए ।

अचेल उनका ट्वीट र स्टाटसमा अध्यक्ष ओली र एमाले कार्यशैलीको चर्को आलोचना हुन्छ । उनले एक पछिल्लो ट्वीटमा भनेका छन्— एमाले भन्नु नै केपी मात्रै हो, केपीबाहेक अरु कोही हैन । न संस्था विचार न प्रक्रिया भन्ने भाष्य स्थापित गर्ने, यही भाष्यमा दंगदास पर्ने सबैलाई बधाई । तारोमा छ एमाले । आलोचनात्मक चेतयुक्त कुनामा, गाली विज्ञहरूको बिगबिगी, देश निराशाग्रस्त, इशारा र निशाना फरक । सिंङगौरी ।’

प्याकुरेलले यो ट्वीट अध्यक्ष ओलीलाई मेन्सनसमेत गरेका छन् । प्रष्टै बुझिन्छ— उनको यो ट्वीट महेश बस्नेतका हर्कतप्रति लक्षित छ । बस्नेत ओलीको ‘दायाँ बाहुबली’ मानिन्छ । अहिले हैन, उहिल्यैदेखि । अहिले भने उनी ‘दुर्गा प्रसाईंको राजावादी आन्दोलन’ भाँड्न मध्यरातमा बास बसेका महिलालाई हर्काउँदै, धर्काउँदै र दुर्व्यवहार गर्ने कार्यको ‘महान् नेतृत्व’ गर्दैछन् ।

दुर्गा प्रसाईंको आन्दोलन कति ठीक छ वा छैन, त्यो भिन्नै बहसको विषय हो । तर, राजावादी नै सही बास बसेका महिलालाई दुर्व्यवहार गर्दै हिँड्ने लाइसेन्स बस्नेतको समूहले कहिले कहाँबाट पायो, प्रचण्ड सरकारले कहिलेदेखि त्यस्तो अनुमतिपत्र बाँड्न थाल्यो ? अन्यथा महिलामाथि मध्यरातमा जघन्य अपराध गर्नेमाथि प्रहरी प्रशासनले तुरुन्तै कारबाही गर्नुपर्ने थियो ।

अनौठो त के छ भने ‘महेश मण्डली’ को हर्कतविरुद्ध एमाले मौन छ । प्याकुरेलले मेन्सन गरेको ट्वीटको ओलीले कुनै उत्तर दिएका छैनन् । टिकटक बन्ददेखि दुर्गा प्रसाईंविरुद्धका कारबाहीमा प्रचण्ड सरकारले ओलीमाथि ‘काउसो खन्याए’ को प्याकुरलेको आरोप छ । भलै कि ओलीको गर्धन चिलाएको छैन भन्ने प्याकुरेलजस्तोको खसखसले मात्रै के नै नाप्छ ?

भारतीय राजनीतिमा भाजपावाला कुनै बेला राहुल गान्धीलाई ‘पप्पु’ भन्थे । त्यहाँ पप्पुको अर्थ हुन्छ– अपरिपक्क केटो । अचेल राहुल गान्धीले बाक्लो दारी पालेका छन् । उनले करिब ४००० किमी लामो ‘भारत जोडो पैदल यात्रा’ पनि गरे कन्याकुमारीदेखि श्रीनगरसम्म ।

अचेल उनलाई ‘पप्पु’ हैन ‘राहुल बाबा’ भनिन्छ । यता ‘ओलीका पप्पुहरू’ मध्यरातमा महिला लखेट्दै हिँडिरहेका छन् निर्लज्ज । त्यसैलाई उनीहरूले ‘गणतन्त्रवादी नैतिकता र प्रतिरोध’ को जामा पहिर्‍याइदिएका छन् ।

नेपाली राजनीतिमा भने ‘पप्पु’ शब्दको ‘प्राइम बुझाइ’ हो– पप्पु कन्स्ट्रक्सन । देशकै सर्वाधिक बदनाम निर्माण व्यवसायी कम्पनी । पप्पु कन्स्ट्रसनले बनाएका कति पुल कल्भर्ट भत्किए, कति निर्माण कार्य अधुरै रहे, कुनै लेखाजोखा छैन । त्यही पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारयण रौनियारलाई यही हप्ता अध्यक्ष ओलीले सगौरव रातो कार्पेट ओच्छ्याएर एमाले भित्र्याएका छन् ।

एमालेमा मध्यरातमा महिला लखेट्दै हिँड्ने, तैपनि राज्य र सरकारबाट उन्मुक्ति पाएका ‘महेश बस्नेत मार्काका पप्पुहरू’ को कुनै कमी थिएन । एक नयाँ पप्पु थपिएका छन्—रौनियार । ‘रौनियार मार्का पप्पुहरू’ को पनि खासै कमी त थिएन त्यहाँ ।

एमाले कुनै बेला मनमोहन अधिकारी र मदन भण्डारीहरूको पार्टी थियो । कम्युनिष्ट थियो थिएन भिन्नै कुरा, अबको युगमा कम्युनिष्टको कुनै सान्दर्भिकता छैन भन्ने बुझ्दाबुझ्दै पनि ब्राण्डका रूपमा त्यसलाई छोड्न नसक्ने ‘नैतिकतावादी’ हरूको पार्टी थियो एमाले । नयाँ जनवादी र जनताको बहुदलीय जनवादी दाबी गर्नेहरूको पार्टी थियो । साम्यवाद र लोकतन्त्र फरकफरक र समानान्तर विचारधारा हुन् भन्ने बुझ्दाबुझ्दै पनि साम्यवादको ब्राण्डमै लोकतन्त्रवादी हुन चाहनेहरूको पार्टी थियो एमाले ।

ओली युगमा ‘जनवाद’ को साटो ‘गनवाद’ र ‘धनवाद’ को बर्चश्व निरन्तर बढ्दो छ । गनवादका लागि ‘महेश मण्डली’ र ‘धनवाद’ का लागि ‘रौनियार मार्का पप्पुहरू’ उपयोगी हुन्छन् भन्ने कमरेड केपी शर्मा ओलीलाई राम्रै थाहा छ ।

हुन त रौनियार अघि नै एमालेमा राज्यलक्ष्मी गोल्छा र मोतिलाल दुगडहरू भित्रिसकेका हुन् । एमाले सांसद भएर पनि एक दिन संसद् भवन नटेकेकी गोल्छाले उनी कसरी समानुपातिक सभासद भएकी थिइन् भन्ने रहस्य पनि त्यही बेला बकेकै हुन् सार्वजनिकरूपमा । भ्रष्टाचारको इतिहासमा त्यसलाई ५ करोड काण्ड भनिन्छ । गोल्छाले ५ करोडमा समानुपातिक सांसद किनेकी थिइन् र त्यसको तारतम्य मिलाउने व्यक्तिका रूपमा महेश बस्नेतकै चर्चा थियो ।

दुर्गा प्रसाईं र हरिनारायण रौनियारजस्ता विसंगत पात्रहरूको जन्म आफैँ हुने हैन । राज्य र प्रणालीको विकृति र विसंगतिका अनिवार्य सहउत्पादन हुन् ती । रौनियार यसै हप्ता एमाले प्रवेश गर्नु अघि केही वर्षदेखि कुन दल प्रवेश गर्ने भन्ने हिसाबकिताबमा थिए । उनी २०७४ को चुनावमा पर्सा ३ बाट संघीय समाजवादी फोरमको टिकटले प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । चुनाव जितेर पनि रौनियारले सांसद पदको उपयोग गर्न पाएनन् । पप्पु कन्स्ट्रक्सनसँग जोडिएका भ्रष्टाचार मुद्दाको कारण उनलाई निलम्बन गरियो ।

राज्यको कानूनमा यस बिन्दुमा गम्भीर त्रुटि छ । त्यस्ता व्यक्तिले कि त चुनाव नै लड्न पाउनुहुँदैन । कि त जितेपछि जिम्मेवारी निर्वाह गर्न पाउनुपर्छ । कि त निलम्बन मात्रै हैन, पद खारेज गरी उपनिर्वाचन हुनुपर्दछ । निर्वाचित व्यक्तिले पद बहाल गर्न पनि नपाउने, पद बहाल गरे निलम्बन गर्ने तर, नयाँ चुनाव नगराउने परिपार्टीले सम्बन्धि निर्वाचन क्षेत्रका मतदाताको प्रतिनिधित्वको अधिकार हनन् हुन्छ भन्ने सामान्य कुरा पनि यो देशका नीतिनिर्माताले कहिल्यै बुझेनन् ।

तसर्थ, रौनियरको कार्यकाल त्यसै खेर गयो । पर्सा ३ का जनताले संसद्‌‌मा आफ्नो क्षेत्रको भूमिका गर्ने प्रतिनिधिबिनै ५ वर्ष बिताउनुपर्‍यो । उनी निर्वाचित पार्टी फोरम र अहिलेको जसपा अध्यक्ष उपेन्द्र यादवले रौनियारलाई त्यो अवस्थाबाट बचाउन सकेनन् ।

रौनियारले आफ्नो संरक्षण अब एमाले र ओलीबाट हुन सक्दछ भन्ने ठानेका हुन् । अन्यथा ओलीलाई मधेसको मुख्य शत्रु ठान्ने धारका रौनियार ओलीकै हातबाट टीका लगाएर एमाले प्रवेश गर्दैनथे ।

अब एमाले र अध्यक्ष कमरेड ओलीले महेश र रौनियार दुवै मार्काका पप्पुहरूको संरक्षण गर्नुपर्ने छ । कसैलाई गुन्डागर्दीको र कसैलाई भ्रष्टाचारको कारबाहीबाट जोगाएर । बदलामा पप्पुहरूले अध्यक्ष ओली र एमालेको भार थाम्नपर्ने होला ।

ओलीलाई कम्युनिष्ट गुटहरू बीचको संघर्षमा र एमालेलाई दुर्गा प्रसाईंहरूसँग भिडन्तमा जोगाउने अब पप्पुहरूले नै होला । तर, सँगसँगै यो प्रश्न पनि उत्तिकै ज्वलन्त छ कि अझै कतिञ्जेल थाम्ला एमालेले पप्पुहरूको भार ? पप्पुहरूको कुकर्म र अपराधको भारले थिचिएर कतै एमालेकै ‘स्वर्गवास’ हुने त हैन ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved