हमासले लगेका विपिनबारे दूतावास र परराष्ट्र मन्त्रालयको फरक–फरक सूचना, परिवारजन अन्योलमा

नेपालभ्युज

हमासले लगेका विपिनबारे दूतावास र परराष्ट्र मन्त्रालयको फरक–फरक सूचना, परिवारजन अन्योलमा

काठमाडौं। प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीबारे परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली राजदूतावासले प्रवाह गरेको फरक–फरक सूचनापछि उनको परिवारजन अन्योलमा परेको छ ।

भीमदत्त नगरपालिका–३, कञ्चनपुरका विपिन गाजाको एक अस्पतालमा सकुशल फेला परेको र सम्पर्कबिहिन रहेको अलग अलग सूचनाले परिवार अन्यौलमा परेका हुन् ।

गत असोज २० गते इजरायलको किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । विपिन सम्पर्कविहीन भएका थिए । उनलाई हमास समूहले अपहरण गरेर लगेको भिडिओ सार्वजनिक भएको छ ।

भिडिओको आधारमा भीमदत्त नगरपालिका–३, कञ्चनपुरका जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

परराष्ट्र मन्त्री एनपी साउदले आइतबार राति विपिनका परिवारलाई टेलिफोन सम्पर्क गर्दै उनी इजरायलमा सुरक्षित रहेको खबर प्राप्त भएको बताएका थिए । तर उता इजरायलस्थित नेपाली राजदूतावासले सोमबार विज्ञप्ति जारी गरेर जोशी अझै सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको बताएको छ ।

यी दुईथरी सूचनाले जोशीका परिवारजनमा अन्योल बढाएको हो । जोशीका बहिनी पुष्पा जोशीले भनिन्, ‘हामी आशावादी छौँ । गुड न्यूज सुन्न चाहेका हौँ । तर, तर दूतावासले अझै सम्पर्कविहीन नै रहेको बतायो ।’

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत जोशीसहितका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved