आलेख

एक बहुसांस्कृतिकवादीको आँखामा चाडपर्वहरूको सौन्दर्य

कतिपयले हाम्रो दिमागमा ‘निषेधको निषेध’ नामको वहियात दार्शनिक सोच घुसाएका छन् । कतिपयले ‘सभ्यता-संघर्ष’ को सैद्धान्तिक विष पिलाउन खोजेका छन् । यी दुवै मान्यता गलत हुन् । सभ्यताहरू सहअस्तित्वमा रहन सक्दछन्, कसैले कसैलाई निषेध गर्न आवश्यक छैन ।

एक बहुसांस्कृतिकवादीको आँखामा चाडपर्वहरूको सौन्दर्य

मान्छेको सोच कसरी आकारित र व्यवहार कसरी संस्कारित हुन्छ ? यसबारे संसारमा अनेक अध्ययन तथा अनुसन्धान भएका छन् । अनेकानेक निष्कर्ष निकालिएका छन् । निष्कर्ष निकाल्ने यति धेरै ‘एप्रोच’ वा ‘मोडालिटी’ छन्, उल्लेख गरी साध्य छैन । यहाँ ती सबैको चर्चा गर्नतिर म लाग्दिनँ ।

मलाई सबैभन्दा मन पर्ने र सही लाग्ने भने जे. कृष्णामूर्तिको ‘पहुँच र प्रारुप’ हो । उनी मान्छेको मस्तिष्कको बढो सरल वर्गीकरण र व्याख्या गर्दछन् । उनको विचारमा मानव मन वा मस्तिष्कका दुई चरित्र हुन्छन् । एक– फोटोकपी माइन्ड र दुई– क्रिएटिभ माइन्ड । अर्थात् अनुलिपिकृत मस्तिष्क र सृजनात्मक मस्तिष्क ।

मानव मनको अनुलिपिकृत भागले कपी गर्छ । के-के कपी गर्छ त ? त्यसको यतिधेरै बृहत् आयाम छ । भनेर वा गनेर साध्य छैन । मातापिताबाट सुरू हुन्छ उसले कपी गर्ने कुरा । त्यसपछि परिवारका अन्य सदस्य, भाषा, धर्म, संस्कृति, साथीभाइ, स्कूल, कलेजको परिवेश, शिक्षक, खेलेका मैदान, पौडेका नदी-ताल, पढेका पुस्तक, घुमेका ठाउँ यी सबै-सबैको प्रभाव पर्दै जान्छ उसमा ।

अर्थात् यी सबै चिज ‘स्टोरेज’ हुँदै जान्छन् मस्तिष्कको त्यो भागमा । र, मान्छेको स्वभाव नै हो, आफूसँग जे छ, त्यही आफ्नो लाग्छ । त्यसैमाथि स्वामित्वभाव उत्पन्न हुन्छ । आफ्नो मस्तिष्कमा भण्डार भएका चिज नै उसलाई आफ्ना लाग्न थाल्दछन् ।

अन्ततः ऊ कुनै न कुनै सांस्कृतिक, भाषिक, धार्मिक वा राष्ट्रिय समुदायसँग आबद्ध पाउँछ आफूलाई । उसको आफ्नै एउटा पहिचान र स्वभाव बन्छ । मानव जीवनको यो प्रक्रिया र नियतिलाई हामी अस्वीकार गर्न सक्दैनौँ । समग्रमा ‘स्कूलिङ’ हो यो । स्कूल औपचारिक होस् वा अनौपचारिक ।

‘स्कूल अफ थड’ को प्रभाव हो यो, चाहे त्यो हिन्दू, बौद्ध, इसाई, किरात, इस्लाम वा अन्य कुनै होस् । चाहे त्यो कन्जरभेटिभ, उदारवादी, फासिष्ट, साम्यवादी, समाजवादी वा अन्य कुनै होस् ।

दोस्रो, सृजनशील मस्तिष्कको चरित्र भने यो हैन । मनको यो भागलाई थाहा हुन्छ– यी सबै चिज बेकार त हैनन, तर सत्य पनि हैनन् । ‘सत्य’ भन्ने एउटा भिन्नै चिज छ यो दुनियाँमा, त्यसको भिन्नै अस्तित्व र मज्जा छ । सत्य खोज्नु, सत्य चिन्नु, सत्य बुझ्नु र सत्यसँग एकाकार हुनुको भिन्नै आयाम छ, आनन्द छ । स्कूलिङले त्यसलाई कुनै फरक पार्दैन ।

सत्यको खोज र स्वीकारोक्तिमा कुनै नश्ल, वर्ग, वर्ण, समुदाय, सम्प्रदाय, भाषा, धर्म वा राष्ट्रियता बाधक हुन सक्दैन ।

जस्तो– इस्लाम, हिन्दू वा इसाईको जन्म संस्कार फरक हुन सक्दछ तर, जन्मिने प्रक्रिया फरक हुँदैन । जुनसुकै स्कूलिङ सम्प्रदाय वा विचारधाराको मान्छे होस्, आमाबुबाको जैविक तथा यौनिक प्रक्रियाबाटै जन्मिन्छ । जन्मेपछि उसले फरकफरक नाम पाउँछ । न्वारान फरकफक तरिकाले हुन्छ ।

अर्थात् ‘जन्मिने प्रक्रिया’ र ‘जन्म संस्कार’ बीच जुन भिन्नता छ, त्यो यथार्थ र स्कूलिङबीचको भिन्नता हो । त्यो नै रचनात्मक मस्तिष्क र अनुलिपिकृत मस्तिष्कबीचको भिन्नताको आधार पनि हो । यसलाई अरु थुप्रै उदाहरणमा भन्न सकिन्छ । जस्तो कि भोक एउटै हो, खानाका परिकार फरकफरक हुन्छन् । मृत्यु एउटै हो, मृत्यु संस्कार फरकफरक हुन्छन् । ज्ञान एउटै हो, भोगाइ र अनुभव फरफरक हुन्छन् । धर्ती एउटै हो, देश फरकफरक हुन्छन् ।

यहीनेरबाट मान्छेको जीवनको सबैभन्दा ठूलो विरोधाभाष वा अन्तर्विरोध सुरुवात हुन्छ । मान्छेको नियति, भाग्य वा दूर्भाग्यको सुरुवात हुन्छ । त्यही मान्छे इस्लाम परिवारमा जन्मिन्छ, एक तरिकाले सोच्ने हुन्छ । यहाँसम्म कि धर्मका नाममा जिहाद गर्ने, मर्ने, मार्नेसम्म हुन्छ । त्यही बच्चा हिन्दू वा इसाइ वा अरु कुनै धर्मको हुन्छ, यसको सोच्ने तरिका फरक हुन्छ ।

मान्छे धर्मका नाममा, संस्कृतिका नाममा, नश्लका नाममा, भाषाका नाममा, क्षेत्रका नामका धुव्रीकृत वा पूर्वाग्रही हुन्छ, मर्ने-मार्ने हुन्छ भने त्यो स्कूलिङको समस्या हो, मान्छे हुनुको समस्या हैन ।

‘सोच’ सत्य हो । सोच्ने तरिका सत्य हैन, अनुलिपिकृत हो ।

मान्छे धर्मका नाममा, संस्कृतिका नाममा, नश्लका नाममा, भाषाका नाममा, क्षेत्रका नामका धुव्रीकृत वा पूर्वाग्रही हुन्छ, मर्ने-मार्ने हुन्छ भने त्यो स्कूलिङको समस्या हो, मान्छे हुनुको समस्या हैन । त्यो अनुलिपिकृत दिमागको समस्या हो, रचनात्मक दिमागलाई प्रयोग गर्ने हो भने ती सबै पूर्वाग्रह, रिस, आक्रोश, घृणा, वितृष्णा निरर्थक हुन्छन् । आफैँ बिलाएर जान्छन् ।

रचनात्मक तहमा ती सबैलाई आफ्ना बनाउन सक्दछ मान्छेले, कोही अर्काका वा पराइ नै रहँदैनन् । जब अर्काको वा पराइ नै छैन, सबै आफ्ना हुन् भने कोप्रति रिस ? कसप्रति घृणा वा वितृष्णा ? किन चाहियो धर्मयुद्ध वा जिहाद ? किन चाहियो साम्प्रदायिक भेदभाव ? किन परिवेश र अवसरअनुरूप सबै चाडपर्व वा संस्कृतिलाई नमनाउने ?

तर, दूर्भाग्यको कुरा के हो सबैको दिमागले यसरी सोच्न सक्दैन । किनकि त्यहाँ यथार्थ र स्कूलिङबीच विरोधाभाष उत्पन्न हुन्छ । यसैलाई अंग्रजीमा ‘नेचर–कल्चर पाराडक्स’ भनिन्छ । प्राकृतिक सत्यलाई स्वीकार गरेर जब कसैले सांस्कृतिक सत्यको अभ्यास गर्दछ, तब मात्र यो विरोधाभाषको अन्त्य हुन्छ । किनकि ‘नेचर’ सत्य हो, ‘कल्चर’ अनुलिपिकृत हो, स्कूलिङ हो ।

यही हो बहुसांस्कृतिकतावाद– मल्टीकल्चरालिज्म । संस्कृति फरक छन् भने तिनीहरूसँग झगडा हैन, स्वीकार गरौँ । ‘सहिष्णु’ बन्ने मात्र हैन, स्वीकार गरौँ । ‘सहिष्णु’ बन्नु र ‘स्वीकार’ गर्नु फरक कुरा हो । सहिष्णु बन्नुको अर्थ चुप लाग्दिनु हो, मन परे पनि नपरे पनि । ठीकै छ तिमी तिम्रो गर, म चुप बस्दिउँला भन्नु हो । स्वीकार गर्नुको अर्थ भिन्नतालाई आत्मसात गर्नु हो । तिमी तिम्रो ठाउँमा ठीक छौ, म मेरो ठाउँमा ठीक छु, हामी दुवै ठीक छौँ, तसर्थ हामी दुवै एक छौँ भन्ने भावना नै स्वीकारेको भावना हो ।

म आफूलाई बहुसांस्कृतिकतावादी सोच र संस्कार भएको मान्छे ठान्दछु । मलाई लाग्छ, बहुसांस्कृतिकतावाद मेरो रगतको थोपाथोपामा छ । बहुसांस्कृतिकतावादको अभ्यास अरुले मानसिक तथा बौद्धिक तहमा, सृजनशील मस्तिष्कको उपयोग गरेर गर्नुपर्ने हुन्छ तर, मेरो भने संस्कार, संस्कृति र स्कूलिङमै आएको छ ।

दूर्भाग्यको कुरा हो कि कतिपय मान्छे स्कूलिङको शिकार हुन्छन् र अनावश्यकरूपमा आफ्नो अमूल्य समय र जीवनलाई नचाहिँदा काममा खेर फाल्दछन् । दशैं वा अरु कुनै चाडपर्व बहिष्कार गरौं भन्नेहरूलाई मैले त्यसरी नै बुझ्छु ।

नेपाली समाजको जुन बहुसांस्कृतिकतावादी चरित्र छ, म मात्र हैन, स्वभाविकरूपमा हामी धेरै त्यस्तै छौँ ।

दूर्भाग्यको कुरा हो कि कतिपय मान्छे स्कूलिङको शिकार हुन्छन् र अनावश्यकरूपमा आफ्नो अमूल्य समय र जीवनलाई नचाहिँदा काममा खेर फाल्दछन् । दशैं वा अरु कुनै चाडपर्व बहिष्कार गरौँ भन्नेहरूलाई मैले त्यसरी नै बुझ्छु । यदि कसैले इस्लाम, इसाइ वा अरु कुनै धर्म वा उनीहरूका चाडपर्वप्रति नकारात्मक टिप्पणी गर्दा वा त्यस्तो सुन्न पर्दा पनि उस्तै नरमाइलो लाग्दछ ।

संस्कृतिलाई धर्म वा सम्प्रदायसँग जोड्न पनि आवश्यक छैन । नि:सन्देह ती धार्मिक आन्दोलन वा सोचबाटै उत्पति भए होलान् तर, त्यसको उत्पति कसरी भयो भन्ने कुराले मात्र उपयोगिता वा सौन्दर्य निर्धारण हुँदैन । जस्तो कि धान कहाँ उत्पति भयो ? त्यही देशमा मात्र धानको खेती गर्ने वा भात खाने हो र ? मोमोको उत्पति तिब्बती खानाको परिकारका रूपमा भयो, यसको अर्थ के मोमो खाने सबै तिब्बती हुने हुन् र ?

धर्म अलिक फरक कुरा हो । त्यसमा कुनै न कुनै दर्शन वा विचाराधारा पनि जोडिएको हुन्छ । तर, चाडपर्वहरूलाई त्यसरी बुझ्न आवश्यक छैन । जसले जुनजुन चाडपर्व मानेपनि हुन्छ, नमाने पनि हुन्छ । नमानेको कुरालाई सार्वजनिक प्रदर्शन गरेर वा ‘इरिटेसन’ सिर्जना गर्न आवश्यक हुँदैन ।

शरद ऋतु नेपाली समाजमा सघन चाडपर्वहरूको मौसम हो । दशैं, तिहार र छठ एकपछि अर्को गर्दै आउँछन् यही बेला । अझ मैले त हरिबोधनी एकादशीलाई पनि यही मेलोमा राख्छु । किनकि म जुन समाजमा हुर्किएँ, त्यहाँ ‘ठूली एकादशी’ भनिने हरिबोधनी एकादशीको पनि धेरै ठूलो प्रभाव र महत्त्व थियो ।

हाम्रो गाउँघरमा हरिबोधनी एकादशीको राति ठूलो मेला लाग्थ्यो । वल्लो गाउँ, पल्लो गाउँ जताततै नाटक मञ्चन हुन्थे । घुमी-घुमी एकै रात दर्जनौं प्रकारका नाटक हेर्न पाइन्थे । अहिले पनि सम्झिन्छु, केही नाटकको नाम–रुनाझुना, राजा भरथरी, मोहब्बत कि पुतली, सल्ताना डाँकु आदि ।

पूर्वको थारु समाजमा हरिबोधनी एकादशीको निकै ठूलो प्रभाव हुन्छ । त्यससंँग जोडिएर आउने कयौं कुराले मेरो बाल्यकाललाई गहिरोगरी प्रभावित गरेको छ । दशैंका देउसी-भैलोजस्तै म एकादशी मेलाका नाटकका संवाद र दृष्य सम्झिन्छु अहिले पनि । नाटक हामीले त्यही हेरेका हौँ, शहरका थियेटरमा हैन । यहाँसम्म कि सिनेमा हलमा सिनेमाभन्दा पनि पहिले ।

हाम्रो गाउँघरमा हरिबोधनी एकादशीको राति ठूलो मेला लाग्थ्यो । वल्लो गाउँ, पल्लो गाउँ जताततै नाटक मञ्चन हुन्थे । घुमी-घुमी एकै रात दर्जनौं प्रकारका नाटक हेर्न पाइन्थे । अहिले पनि सम्झिन्छु, केही नाटकको नाम रुनाझुना, राजा भरथरी, मोहब्बत कि पुतली, सल्ताना डाँकु आदि ।

अक्सर हामी आफ्ना कुरा अर्काले स्वीकार गर्‍यो, मान्न मनाउन थाल्यो भने खुसी हुन्छौँ । युरोप अमेरिकातिर भजन गाएका भिडिओ टेप पाए सबैले शेयर गर्छौँ । तर, यहाँ कसैले क्रिसमस मनायो भने अनेक प्रतिक्रिया गर्छौँ । हामीले बुझ्न के सकिरहेका हुन्नौँ भने जसरी मान्छे एक वैश्विक प्राणी हो, त्यसैगरी भाषा, धर्म, संस्कृति र चाडपर्व पनि वैश्विक सम्पदा हुन् ।

स्वीकार र प्रेम गर्ने हो भने ती सबै आफ्ना हुन्छन् । आफ्नो स्कूलिङबाट मात्र प्रेरित हुने हो भने आफैँ प्रताडित हुन्छौँ । आफ्नो केही पनि रहँदैन, रहे पनि थोरै मात्र रहन्छ । त्यही थोरैका लागि हामी झगडा गर्छौँ जब कि सिंगो ब्रह्माण्डलाई नै आफ्नो बनाउन सकिन्छ ।

दशैं, तिहार, छठ वा ठूली एकादशी मात्रै हैन, सबै समुदायका चाडपर्वलाई त्यसैगरी स्वीकार गर्नु पर्दछ । जसरी छठ केही दशकअघि मिथिलाञ्चलमा सीमित थियो । अहिले देशैभरिको भएको छ । त्यसै गरी हामीले सबै समुदायका चाडपर्वको स्वीकार्यता बढाउनु पर्छ । यसैलाई भनिन्छ– सांस्कृतिक विनिमय । सांस्कृतिक एकता निर्माण प्रक्रिया । सद्भाव र बन्धुत्व । नयाँ राष्ट्रियताको जन्म पनि यसरी नै सांस्कृतिक संसर्गबाटै हुने हो ।

नेपालमा संघवादको औचित्यको प्रमुख आधार बहुसांस्कृतिकतावाद थियो र हो । म संघवादी हुनुभन्दा अघि बहुसांस्कृतिकतावादी थिएँ त्यही भएर संघवादलाई समर्थन गरेको थिएँ । तर, यहाँ त संघीयतालाई एक सामान्य प्रशासनिक एकाई वा राजनीतिक स्वार्थ र जेरिम्यान्डरिङको औजार बनाइयो । अहिले मलाई पनि लाग्छ कि अहिलेको जस्तो संघीयता हुनुभन्दा त नभए पनि हुन्छ ।

कतिपयले हाम्रो दिमागमा ‘निषेधको निषेध’ नामको वहियात दार्शनिक सोच घुसाएका छन् । कतिपयले ‘सभ्यता-संघर्ष’ को सैद्धान्तिक विष पिलाउन खोजेका छन् । यी दुवै मान्यता गलत हुन् । सभ्यताहरू सहअस्तित्वमा रहन सक्दछन्, कसैले कसैलाई निषेध गर्न आवश्यक छैन । सभ्यताहरू बीच सामञ्जस्यता हुन सक्दछ, तिनले ‘अस्तित्वका लागि संघर्ष’ नै गर्नु पर्छ भन्ने छैन ।

नेपालमा संघवादको औचित्यको प्रमुख आधार बहुसांस्कृतिकतावाद थियो र हो । म संघवादी हुनुभन्दा अघि बहुसांस्कृतिकतावादी थिएँ त्यही भएर संघवादलाई समर्थन गरेको थिएँ । तर, यहाँ त संघीयतालाई एक सामान्य प्रशासनिक एकाई वा राजनीतिक स्वार्थ र जेरिम्यान्डरिङको औजार बनाइयो । अहिले मलाई पनि लाग्छ कि अहिलेको जस्तो संघीयता हुनुभन्दा त नभए पनि हुन्छ । तर, खासमा अहिलेको संघीयता संघीयता नै हैन, यो त दूध भनेर चौलानी पिए, पिलाएजस्तो हो ।

संघीयताको साँचो रूप देख्न र उपयोग गर्न पाएको भए नि:सन्देह जनताले त्यसको विरोध गर्दैनथे । जस्तो कि अमेरिका, स्वीट्जरल्याण्ड, जर्मनी, अष्ट्रेलिया आदि देशमा संघीयता खारेज गरौँ भनेर कसैले भन्दैन । किनकि उनीहरूले संघीयताको दूध पिउन पाए, हामीलाई दूध भनेर चौलानी पिलाइयो । त्यहीनेर समस्या भइहाल्यो ।

सबै संस्कृति, सभ्यता र चाडपर्वलाई सम्मान गरौँ । यसको अर्थ यो हैन कि बहुसंख्यक तथा बर्चश्वशालीको संस्कृति र सभ्यतालाई मात्र सम्मान गरौँ । अल्पसंख्यक, सीमान्तकृत र कमजोर वा शक्तिहीनहरूका संस्कृति, सभ्यता र चाडपर्वलाई पनि उत्तिकै स्वीकार र सम्मान गरौँ ।

अनुलिपिकृत चरित्र हामी पूरै छोड्न सक्दैनौँ । तर, जति बढी सृजनशील मस्तिष्क प्रयोग गर्दछौँ, स्वीकार्यता र सामञ्जस्यताको चरित्र उत्ति नै बढ्दै जान्छ । सबै संस्कृति र चाडपर्व हाम्रा हुन्छन्, आफ्ना हुन्छन् ।

यो दुनियाँमा मान्छेको सबैभन्दा ठूलो चिज सोच हो । यो संसारमा एकता पनि सोचले हुने हो, झगडा पनि सोचले हुने हो । र सोच भनेको मूलतः मस्तिष्क अंगको काम हो । जे. कृष्णामूर्तिको विश्लेषणअनुरूप त्यहाँ अनुलिपिकृत चरित्र पनि छ, सृजनशील चरित्र पनि छ ।

अनुलिपिकृत चरित्र हामी पूरै छोड्न सक्दैनौँ । तर, जति बढी सृजनशील मस्तिष्क प्रयोग गर्दछौँ, स्वीकार्यता र सामञ्जस्यताको चरित्र उत्ति नै बढ्दै जान्छ । सबै संस्कृति र चाडपर्व हाम्रा हुन्छन्, आफ्ना हुन्छन् । सबै मान्नै पर्छ, मनाउनैपर्छ भन्ने छैन, सबैलाई स्वीकार मात्र गर्दा पुग्दछ । सम्मान गर्दा मात्र पुग्छ ।

मान्छेको मस्तिष्क जति सृजनशील हुन्छ, संस्कृति र चाडपर्वहरूको सौन्दर्य उत्तिकै बृहत् देखिन्छ । सबै आफ्ना भएपछि पराइ को नै रहन्छ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved