दीपावलीमा केरा : फलसँगै बोट बिक्रीबाट पनि प्रशस्त आम्दानी

दीपावलीमा केरा : फलसँगै बोट बिक्रीबाट पनि प्रशस्त आम्दानी

जनकपुरधाम । दीपावली र छठ पर्वमा मधेसका अधिकांश जिल्लाका केराको फल मात्र होइन बोट (थाम)समेत खपत हुने गरेको छ । केराको बोट बिक्री गरेरै कृषकले राम्रै आम्दानी गर्ने गरेका छन् ।

दीपावलीमा हरेक पसल अगाडि केराको बोट राखेर अशोकको पात तथा फूलमालाले सजाएको देख्न सकिन्छ । दीपावली पर्वको अवसरमा पसल तथा घरघरमा लक्ष्मीको स्वागतका लागि द्वार बनाउने प्रयोजनमा केराको प्रयोग हुन्छ । जसका लागि केराको थाम बिक्री जिल्लाका किसानका लागि आम्दानीको बाटो बनेको छ । यसैगरी छठमा पनि नदी किनारमा पूजा गर्नका लागि केराको थाम प्रयोग गरी सजाउने गरिएको छ ।

खासगरी बजार क्षेत्रका व्यापारिक केन्द्रले आफ्नो पसलअगाडि स्वागतद्वार बनाउन केराका थाम प्रयोग गर्ने मिथिलाको परम्परा छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधामसहित सबै जिल्लाका बजार क्षेत्र र व्यापारिक केन्द्रहरुमा एक साताअघिदेखि नै केराका थाम बेच्ने र किन्नेको चहलपहल देखिएको छ ।

दीपावली पर्वका लागि रातिदेखि नै ट्रयाक्टर तथा टायरगाडाबाट केराका थाम जनकपुरधाम बजार पुर्याएका क्षीरेश्वरनाथ नगपालिका ३ पकडियाका रामवरण सिंहले २२ हजारको केराको थाम बेचेको बताए ।

त्यसैगरी, महेन्द्रनगर, ढल्केवर, विरेन्द्रबजार, गोदार लगायतका ठाउँमा शनिबारदेखि नै हजारौँ थाम बिक्री भएको मधेस प्रदेश उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

जनकपुरधाममा मात्रै लक्ष्मीपूजाका दिन करिब ३० लाख मूल्य बराबरको केराको थाम बिक्री भएको अनुमान गरिएको संघका अध्यक्ष अशोक टेमानीले बताए।

दीपावली पर्वमा द्वार बनाउन कमसेकम दुईवटा थाम चाहिने र लक्ष्मीपूजाका दिन थाम प्रतिजोर ३०० देखि ५०० रुपैयाँसम्ममा बिक्री भएको किसानहरुको भनाइ छ । महेन्द्रनगरको पकडियाबाट आएका व्यापारी रामनरेश सिंहले डेढ लाख रुपैयाँको केराको बोट बिक्री गरेको बताए ।

हरेक वर्ष केराको बोट बिक्री गर्दै आएका राम सकील साहका अनुसार विभिन्न ग्रामीण क्षेत्रबाट किसानहरुले पच्चीस लाख बढीको केराको बोट बिक्री भएको अनुमान छ ।

दीपवालीमा पसल अगाडि केराको बोट राख्ने परम्परा वर्षौंदेखि चलिआएको छ । लक्ष्मीपूजाको १ दिन पहिलेबाट नै केराका थामको बिक्री भइरहेको थियो ।

दीपावली पर्वमा लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन केराको बोट सजाइने मैथिल परम्पराअनुसार जिल्लाका गाउँनगर बस्तीमा केराका थामका लागि एक साता पहिलेदेखि नै पेस्की लिइएको किसानहरुले बताएका छन् ।

स्वागतद्वारको मूल खाँबा नै केराको थामबाट बनाइने परम्परा भएकाले मिथिला क्षेत्रमा केरोको बोटको कारोबार बढी हुने गरेको छ। पर्वका बेला थाम नपाइन सक्ने र त्यसबेला महंगो पर्ने भएकाले १ साताअघिदेखि नै झाङ (केराघारी)मै गएर मूल्य तय गरिएको थाम किन्नेहरूले बताए ।

वटेश्वर गाउँपालिका–५ शान्तिपुरमा व्यावसायिक रूपमै केरा खेती गर्दै आएका किसान अमर किशोर यादवले आफूले ८५ हजार रुपैयाँ बराबरका केराका थाम बेचेको बताए। उनले भने, ‘राम्रो उत्पादन लिन केराको एउटा झ्याङमा ३ भन्दा बढी बोट रहनु हुँदैन, बोट त छाँट्नु नै पर्छ,’ लगभग एक बिघा क्षेत्रफलमा केरा खेती गरेका यादवले भने, ‘यस्ता झ्याङमा हामी बोट छाँट्न दीपावली पर्व पर्खने गरेका छौं।’

मिथिला क्षेत्रमा दीपावली र छठपर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागतरुपमा अनिवार्य जस्तै रहँदै आएको केराको थाम शुभफलदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार ८२ वर्षीय रमापति चौधरीले बताए। ’वैदिककालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोक संस्कृतिको अभिन्न अंग नै बनिसकेको,’ चौधरीले भने ।

जिल्लामा पर्व विशेषमा हुने केराको थाम र घरी बिक्रीको आकर्षणले यसको खेती गर्ने किसानको संख्या र क्षेत्रफल बर्सेनि बढ्दै गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved