उपरथी पाण्डेको राजीनामा स्वीकृतिका लागि पठाइयो रक्षा मन्त्रालय 

नेपालभ्युज

उपरथी पाण्डेको राजीनामा स्वीकृतिका लागि पठाइयो रक्षा मन्त्रालय 

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृतिको प्रस्ताव रक्षामन्त्रालयमा पठाइएको छ ।

नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामाको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नका लागि रक्षा मन्त्रालयमा पठाएको हो ।

मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नेछ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय हुनेछ ।

पाण्डेले जागिर खान र रथी बढुवा भएर भावी प्रधानसेनापति बन्ने लाइनमा बस्न जन्म मिति किर्ते गरेको आरोप छ । एसएलसी परीक्षाफलको ढड्डामै केरमेट गरेको कागजात सार्वजनिक भएको छ ।

यो प्रकरणमा उनी विवादमा परेपछि राजीनामा बुझाएका थिए । उमेर कीर्ते प्रकरणमा जंगी अड्डाले छानविन समिति गठन गरेको छ । त्यसपछि उनले राजीनामा दिएका हुन् ।

प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले दिए राजीनामा

पाण्डे आगामी प्रधानसेनापतिको रोलक्रममा समेत थिए । प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २०८१ भदौ २४ गते सकिन्छ। त्यसलगत्तै पाण्डेको पालो थियो ।

उनको जन्म मिति २ वटा छ । एसएलसी प्रमाणपत्रमा उनको जन्म मिति २०२१ माघ १२ गते छ। तर नागरिकतामा २०४२ चैत २५ गते छ ।

तर २०३८ सालमा एसएलसी परीक्षा दिएका उनले २०४२ सालमा नागरिकतामा उमेर सच्याइएको देखिएको छ । यसैले उनीविरूद्ध सैनिक मुख्यालयमा उजुरी परेको छ ।

पाण्डेले उमेर घटाएर नागरिकता बनाई सोही आधारमा एसएलसी लगायतका शैक्षिक प्रमाण पत्रमा केरमेट र सच्याएको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved