संघीय सरकारविरुद्ध ‘वार कि पार’को आन्दोलन गर्ने मधेस सरकारको घोषणा

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रहरी समायोजन र निजामती कर्मचारीको खटनपटन प्रदेशमातहत नदिए संघ सरकारविरुद्ध आन्दोलन चर्काउने घोषणा गरेका छन् ।

संघीय सरकारविरुद्ध ‘वार कि पार’को आन्दोलन गर्ने मधेस सरकारको घोषणा

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रहरी समायोजन र निजामती कर्मचारीको खटनपटन प्रदेशमातहत नदिए संघ सरकारविरुद्धको आन्दोलन चर्काउने घोषणा गरेका छन् ।

जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले निजामती ऐन र प्रहरी समायोजनका लागि संघीय सरकारलाई एक महिने अल्टिमेटम दिँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी दिए ।

मुख्यमन्त्री यादवले मन्त्रीहरु र राजनीति दलका संसदीय दलका नेताहरुलाई सँगै राखेर गरेको पत्रकार सम्मेलनमा बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ज्ञापन–पत्र बुझाउने कार्यक्रम रहेको जानकारी समेत दिए । प्रधानमन्त्री दाहाललाई ज्ञापन–पत्र बुझाउन मुख्यमन्त्री यादवसहित मन्त्रीहरु र संसदीय दलका नेता बुधबार साँझ नै काठमाडौं हिँडेका छन् ।

उनले एक महिनाभित्र माग पूरा नगरे संघीय सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘यसअघि पनि संघीय सरकारलाई पटक पटक प्रदेश सरकारले दबाब दिएको छ । तर यो पटक आरपारको आन्दोलन गर्छौं ।’

आन्दोलन कस्तो हुन्छ भन्ने जिज्ञासामा मुख्यमन्त्री यादवले भने, ‘संघीय राजधानी र जनकपुरमा मात्रै होइन्, गाउँ गाउँमा आन्दोलन हुन्छ ।’ उनले निजामती ऐन र प्रहरी समायोजनका लागि प्रतिपक्षी दलको पनि साथ रहेको बताए ।

मुख्यमन्त्री यादवले पोखरामा भएको प्रधानमन्त्री सहितको सातै प्रदेशका मुख्यमन्त्री सहितको प्रदेश परिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ३ महिना भित्रमा प्रहरी समायोजन गर्ने र संघीय निजामती ऐन अध्यादेश मार्फत भएपनि ल्याउने प्रतिबद्धता गर्नु भएपनि हालसम्म कार्यान्वयन नभएको बताए ।

उनले प्रहरी प्रशासन तथा कर्मचारी आफूहरूसँग नभएका कारणले प्रदेश सरकारले गर्नु पर्ने काम गर्न नसकेको बताउँदै स्वास्थ्य क्षेत्रको अधिकार आफूहरूसँग आएपछि मधेसको स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तन आएको दाबी गरे।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले पश्चिम नेपालको जाजरकोट सहितको जिल्लामा आएको विनाशकारी भूकम्पप्रति प्रदेश सरकारले गहिरो दुःख व्यक्त गर्दै ६० लाखको राहत सामग्री पठाउने निर्णय गरेको जानकारीसमेत दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved