हातहतियार मुद्दामा छुटेका ‘श्रीनिवास’लाई धार्मिक दङ्गा फैलाउने मुद्दामा पनि छुटकारा

गम्भीर कसुरमा सामान्य धरौटीमा छुटेका श्रीनिवास नाम राखेका दिनेश पण्डितलाई धार्मिक दङ्गा फैलाउने मुद्दामा पनि उन्मुक्ति दिइएको छ। कानुनको नजरमा ‘सबै व्यक्ति समान’ भनिए पनि हिन्दु धर्मको पगरी गुथेका कथित धर्मगुरु दिनेश पण्डितले कसरी एकपछि अर्को अपराधमा उन्मुक्ति पाउँदै आएका छन् ? नालीबेली।

हातहतियार मुद्दामा छुटेका ‘श्रीनिवास’लाई धार्मिक दङ्गा फैलाउने मुद्दामा पनि छुटकारा

काठमाडौं। प्रचलित कानुनी व्यवस्थाले भन्छ– ‘कानुनको नजरमा सबै व्यक्ति समान छन्।’ अर्थात्, कानूनले जात, धर्म, लिङ्ग, वर्गका आधारमा विभेद गर्दैन। समान फैसला गर्छ।

सत्य यही हो। तर, सत्य एउटा प्रश्न बनेर पनि उभिएको छ– के व्यवहारमा कानुनको यही मर्म लागू भएको छ ? के सबै जात, धर्म र समुदायका मानिसलाई यही कानुन कार्यान्वयन भएको छ त?

सुनसरीका आचार्य श्रीनिवास नाम राखेका दिनेश पण्डितको कथा यही प्रश्नको उत्तर चियाउने ‘केस स्टडी’ बनेको छ। हातहतियार तथा खरखजना जस्तो गम्भीर कसुरमा सामान्य धरौटीमा छुटेका दिनेश पण्डित अहिले फेरि धार्मिक दङ्गा फैलाउने कसुरमा पनि छुटकारा पाएका छन्।

अहिलेको कसुरमा अनुसन्धान नभई उन्मुक्ति पाए।  यहाँ पहिला चर्चा गरौँ उनको अघिल्लो कसुर र सजायबारे। त्यसपछि अहिलेको अपराध।

०००

२५ चैत २०७४ मा विराटनगर महानगरपालिका– १४ स्थित जतुवामा गोली लागेर दिनेश पण्डित घाइते भए। जतुवाको रामजानकी मन्दिरमा हुने श्रीमद् भागवत सप्ताहमा उनी कथा भन्न उनी सुनसरीको चरकघट्टिबाट आएका थिए। धार्मिक गुरुको हत्या प्रयास भएको भन्दै विरोध सुरु भयो। प्रहरीले घटनाको अनुसन्धान सुरु गर्‍यो।

महिना दिनपछि २४ वैशाखमा आचार्य काठमाडौंमा पक्राउ परे। प्रहरी अनुसन्धानमा श्रीनिवास आफैँले आफैँलाई गोली हान्न लगाएको समेत खुल्यो।

उनले आफूलाई गोली हान्न लगाएर त्यसलाई धार्मिक रङ्ग दिएर धार्मिक दङ्गा फैलाउने योजना बनाएको खुल्यो। तर, प्रहरीले उनीमाथि अवैध हातहतियार तथा खरखजानाको मुद्दामा जिल्ला प्रशासन कार्यालयमा बुझायो।

उनका अन्य दुई जनामाथि हत्या प्रयासको अभियोजनमा अदालतमा लगियो। हिन्दु धर्म र अरू धर्म मान्ने समुदायबीचको द्वन्द्व चर्काउन आफ्नै अङ्ग रक्षकलाई गोली हान्न लगाएको देखिएका उनले प्रहरी अनुसन्धानबाटै उन्मुक्ति पाए। धार्मिक दङ्गा फैलाउने कसुरअन्तर्गत कम्तीमा २ वर्ष जेल सजाय हुने मुद्दामा प्रहरीले बेवास्ता गर्‍यो।

गम्भीर अपराध अवैध हातहतियार तथा खरखजानाको मुद्दामा मात्रै दिनेश पण्डितलाई जिल्ला प्रशासन कार्यालयले नै मुद्दा हेर्‍यो । प्रमुख जिल्ला अधिकारीले पुर्पक्षमा राख्ने आदेश गरे। तर, उनी ८ असार २०७४ मै छुटे। प्रहरी हिरासत र पुर्पक्षमा झुम्का कारागारमा गरी करिब डेढ महिना बसेपछि पाँच हजार धरौटीमा छुटे।

त्यो बेलामा फौजदारी अपराध ऐन २०७४ पारित भएको थिएन। हातहतियार खरखजना ऐन २०१९ प्रचलनमा थियो। प्रचलित कानुनअनुसार दिनेश पण्डितको मुद्दामा ‘हातहतियार खरखजना ऐन २०१९’ २ को उपदफा १ अन्तरगत २ वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। (पछि संशोधन भएको ऐनमा कसुर हेरी ७ वर्षसम्म जेल सजाय तोकिएको छ।)

हातहतियार तथा खरखजानाको ऐन २०१९ अन्तगर सो कसुरमा सजाय हुने प्रावधान

२ वर्षसम्म कैद र २० हजार रुपैयाँ सजाय कानुनले तोके पनि दिनेश पण्डित २ महिना पनि जेल नबस्दै छुटे, त्यो पनि अति सामान्य धरौटीमा।

जिल्ला प्रशासन कार्यालयले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, त्यसविरुद्ध मुलुकी ऐनको अदालती बन्दोबस्तको महलको १७ नम्बरअनुसार श्रीनिवासले जिल्ला अदालतमा पुनरावेदन गरेका थिए। अनन्त जिल्ला अदालतको आदेशमा उनलाई जिल्ला प्रशासन कार्यालयले पाँच हजार रुपैयाँमा धरौटीमा रिहा गर्‍यो।

धार्मिक बितण्डा मच्चाउने ‘उदण्ड आचार्य श्रीनिवास’को दुष्प्रयास, कसले गर्दैछ भरथेग ? (भिडिओसहित)

उनको जस्तै मुद्दामा कैयौँ अभियुक्तहरूले २ वर्षसम्म कैद र २० हजार रुपैयाँ सजाय पाइरहेका थिए। तर, दिनेश पण्डितले भने सजिलै धरौटीमा उन्मुक्ति पाए। उनलाई छुटाउने आदेशको भाषाले ‘कानुनका नौ सिङ’ भनिने प्रचलित उक्ति याद दिलायो।

त्यसो त प्रहरीले दोषी करार गर्दै सरकारी वकिलमार्फत अदालतमा मिसिल बुझाएकै भरमा कोही अपराधी सावित हुँदैन। तर, दिनेश पण्डितविरुद्धको जाहेरी सामान्य प्रकृतिको थिएन। उनीविरुद्ध प्रशस्त प्रमाण थिए, उनी आफैँले आफैँलाई गोली हान्न लगाएका।

यति हुँदाहुँदै पनि उनलाई सामान्य धरौटीमा छाड्ने फैसला न्याय निरूपणमा त्रुटिले भएको भन्दै भयंकर शंकाको घेराभित्र पर्‍यो । सायद उनले ‘धार्मिक गुरु’ भएकै भरमा माफी पाए।

किनकि, उनीसँगै पक्राउ परेका दुई जना चेलाहरू भने जेलमै रहे। एकै प्रवृत्ति र एउटै मुद्दामा एउटा सामान्य धरौटीमा छुट्ने र अरूचाहिँ कारागारमै बस्नु पर्ने कुरा कुनै हालतमा सुहाउने थिएन। त्यति बेला त्यो फैसला ठूलो विवादित नभए पनि जनतामा न्याय पाउन र उन्मुक्ति पाउन पनि ‘प्रभावशाली’ बन्नुपर्ने सन्देश प्रवाह गरेको थियो।

फेरि उन्मुक्तिको प्रयास

दिनेश पण्डितले छुटेपछि आफूलाई फसाइएको दाबी गर्थे। त्यसपछि उनी चर्चाभन्दा बाहिरै रहे। धेरैपछि करिब पाँच वर्षपछि अहिले उनी फेरि सक्रिय बने। गौहत्याको विरोधमा धर्मको आडमा राजनीति गर्ने सङ्गठन सक्रिय भएसँगै उनले पुरानै दुस्कर्म दोहोर्‍याए।

धार्मिक सङ्गठनको नाममा हुने प्रदर्शनमा सहभागी हुन थालेनन् मात्रै खुकुरी सोझ्याउँदै प्रदर्शनमामा होमिए। धारिलो खुकुरी ताक्दै उनले भड्काउ भाषण गर्न भ्याए, ‘‘जसले गौहत्या गर्छ त्यसको हत्या गरे पाप लाग्दैन। म त्यो हत्याको जिम्मा लिन्छु।’’

धनुषामा आयोजित कार्यक्रममा हातमा खुकुरी नचाउँदै उनले ‘जसले गाई काट्छ त्यो व्यक्तिलाई खुकुरी लिएर गएर काटिदिनुस्। तपाईँलाई दश वर्षसम्म जेलमा पाल्ने काम म गर्छु’ भनेका थिए।

गौहत्या प्रकरणले अशान्त बनेको धरान क्षेत्र बल्ल शान्त भएको छ। तर, यही बेलामा दिनेश पण्डितले दिएको भड्काउ भाषण सामाजिक सञ्जालमा भाइरल छ।

यसले फेरि सद्भावमा खलल पुग्ने उच्च खतरा छ। धार्मिक दङ्गा फैलाउने अभिव्यक्ति दिएको कसुरमा उनी पक्राउ परेका छन्। काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो र प्रादेशिक ब्युरोले बराहक्षेत्रमा रहेको आश्रमबाट मंगलबार पक्राउ परेका उनी जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा छन्।

उनी अहिले पक्राउ परेका मुद्दा पनि सामान्य होइन। पटक-पटक छुट पाएका उनी ‘पटके कसुरदार’ हुन्।

मुलुकी फौजदारी अपराधको ‘धार्मिक भावना आघात पुर्‍याउन नहुने’ कसुर अन्तगर २ वर्षसम्म हैद र २० हजार जरिवाना पाउनुपर्ने कसुरदार हुन्। यति गम्भीर अपराधमा संलग्न भए पनि उनीमाथि  गहकिलो अनुसन्धान भएन। धार्मिक सद्भाव भड्काउने आपराधिक प्रवृत्तिलाई अनदेखा गरियो।

तर, उनीविरुद्ध फेरि खुकुलो मुद्दा दर्ता भयो। साम्प्रदायिक दङ्गा भड्काउने अभिव्यक्तिलाई नजरअन्दाज गर्दै सार्वजनिक शान्तिविरुद्ध कसुरमा मात्रै अनुसन्धान भयो। जुन मुद्दामा बिहीबार उनी छुटे।

श्रीनिवास नाम राखेका दिनेश पण्डितविरुद्ध सार्वजनिक शान्तिविरुद्ध कसुरमा मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए। उनले भने, ‘‘सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेर जिल्ला अदालत धनुषाबाट बिहीबार तीन दिनको म्याद थप गराएर अनुसन्धान सुरू गरिएको थियो। सो म्याद सकिएपछि बिहीबार छुटे।’’

पछिल्लो डेढ महिनाको अवधिमा मुलुकमा धार्मिक सद्भावका लागि राज्यले कर्फ्यु लगाउनुपरेको छ। सुरुमा पूर्व धरान, लगत्तै मधेसको सर्लाही र अहिले पश्चिम नेपालगञ्जमा समस्या भयो। यस्ता घटना गराउन उद्यत गर्ने दिनेश पण्डितलाई उन्मुक्ति दिँदा समाजका लागि दुर्भाग्य बन्ने खतरा रहेको जानकारहरू बताउँछन्।

उनीहरू भन्छन्, ‘‘यस्ता गम्भीर अपराधका आरोपितलाई साना आँखाले हेरिनु हुँदैनथ्यो। हिंसा गर्न सिकाउने र उत्तेजित मान्छे जुनसुकै समुदायको भए पनि धार्मिक होइन । धर्म सिकाउने होइन, बिकाउने कुनै पनि व्यक्तिको बहाउमा लाग्नु आफ्नै धर्मको पनि अपमान हो । यसैले दिनेश पण्डितलाई कानुनअनुसार कारबाही गर्नुपर्थ्यो। राज्य यहाँ चुक्यो।’’

फरक धार्मिक समुदायलाई लक्षित गरी सामाजिक सञ्जालमा कुनै व्यक्ति विशेषले स्ट्याटस लेखेकै कारण नेपालमागञ्जमा आगो बलेको छ। यसअघि, गत भदौ २२ र असोज ४ मा पनि यस्तै विषयलाई लिएर दुई समुदायबीच झडप हुँदा सर्लाही सदरमुकाम मलंगवामा निषेधाज्ञा जारी गरिएको थियो ।

धरानमा पनि धार्मिक साम्प्रदायिक हिंसा भड्किने स्थिति देखिएपछि भदौ ९ मा कर्फ्यु जारी गरिएको थियो । त्यहाँ हिंसा भड्काउने कोसिस उनै दिनेश पण्डितले गरेका थिए। अहिले फेरि धार्मिक सद्भाव बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका उनलाई सोही कसुरमा अनुसन्धान गर्नुपर्ने माग उठिरहँदा उल्टो उन्मुक्ति पाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved