धार्मिक बितण्डा मच्चाउने ‘उदण्ड आचार्य श्रीनिवास’को दुष्प्रयास, कसले गर्दैछ भरथेग ?

धार्मिक दंगाले न कसैको फाइदा हुन्थ्यो न कुनै उपलब्धि। घरहरू जलाइन सक्थे, सहर जल्नसक्थो। कैयौँ दिनसम्म मानिसहरू हिंसामा बस्नुपर्थ्यो । अनाहकमा कैँयौँ मरिनुपर्थ्यो। कैयौँ अगभंङग हुनुपर्थ्यो। तर, आचार्य श्रीनिवास भने त्यही चाहन्थे, किनकि उनी क्रूरतामा नै आनन्द लिन चाहन्थे।

धार्मिक बितण्डा मच्चाउने ‘उदण्ड आचार्य श्रीनिवास’को दुष्प्रयास, कसले गर्दैछ भरथेग ?

काठमाडौं। पूर्व नेपालको सुनसरी र मोरङ विविधताले भरिएको सहर । त्यहाँ धेरै घरका आँगन जोडिएका छन्, मन्दिर, मस्जिद तथा गुरुद्वारमा । त्यहीँ प्रकृतिपूजक मानिने किरातको साकेला, उधौली-उभौलीमा हिन्दूहरू मज्जाले रमाउँछन्। मुस्लिमले मनाउने चाडपर्वमा गैरमुस्लिमहरू खुसी साट्छन्।

हिन्दूका पर्वलाई सबै समुदायले मनाउँछन्। हिन्दू समुदायले मनाउने चाडपर्वमा यी सहरमा रौनक अर्कै हुन्छ। सबै समुदायका मानिसले रामलीलाका नाट्य मञ्चन हुन्छन्, दुर्गा पूजाका ठूल्ठूला पण्डाल बनाइन्छन्। हेर्न परका गाउँ-गाउँबाट मानिसको घुइँचो नै लाग्ने गर्छ । तिहारको दीपावली र देउसी-भैलोको त कुरै गर्नुपर्दैन।

त्यहाँ सबै समुदाय तथा धर्मका पर्वमा सबै समुदायको प्रतिनिधित्व भएको अलौकिक वातावरणले मोहित पार्छ । तर, हिन्दू धर्मको खोल ओढेका ‘कथित धर्मगुरु’ आचार्य श्रीनिवास भने मिलेर बसेको त्यो समाजमा क्रूर धार्मिक दङ्गा हेर्न चाहन्थे। जुन कुरालाई विभिन्न तथ्यहरुले प्रमाणित गरेको छ ।

धार्मिक दंगाले न कसैको फाइदा हुन्थ्यो न कुनै उपलब्धि। घरहरू जलाइन सक्थे, सहर जल्न सक्थ्यो। कैयौँ दिनसम्म मानिसहरू हिंसामा बस्नुपर्थ्यो। अनाहकमा कैयौँ मारिनुपर्थ्यो । कैयौँ अगभङ्ग हुनुपर्थ्यो। तर, आचार्य श्रीनिवास नाम राखेका दिनेश पण्डित भने त्यही चाहन्थे, किनकि उनी क्रूरतामा नै आनन्द दिन चाहन्थे।

खासमा आचार्य श्रीनिवास मुलुकमा हिन्दूराज्य कायम गर्न चाहन्थे। विभिन्न हिन्दूवादी सङ्गठनले विभिन्न समयमा आन्दोलन चलाए पनि सफल हुन भएन।

हिन्दू धर्मावलम्बी र धर्म गुरुहरूलाई अराजक आन्दोलनका लागि उनी उक्साइरहन्थे। कैयौँपटक प्रयास गर्दा पनि उनको मिसन सफल भएन। भारतका केही चर्चित धर्मगुरु जस्तै आचार्य श्रीनिवास पनि चर्चामा आउन चाहन्थे।

चर्चामा आउने कुनै योजना सफल भएपछि अनन्त उनले आफैँले योजना बनाएर गोली हान्न लगाए। त्यसको पछाडिको कारण थियो ‘पूर्वी नेपालमा धार्मिक दङ्गा गराउनु।’ नेपालमा हिन्दू धर्ममा आस्था राख्ने बहुसंख्यक छन्।

यसैले आफूले आफैँलाई हिन्दू धर्मगुरु बनाए। अनि आफैँले आफैँलाई गोली हानेर मङ्गोल समुदायविरुद्ध आरोप लगाएर दुई समुदाय भड्काउन खोजे। एकता र सद्भाव भड्काएर दङ्गा गराउने उनको योजना थियो। त्यसमा उनका केही अनुयायीले प्रयत्न गरे। तर, समुदायले साथ दिएनन्। सद्भाव भड्काएर धार्मिक दङ्गा गराउने उनको योजना तुहियो।

धार्मिक दङ्गाको त्यो ‘षड्यन्त्र’

२५ चैत २०७४ को राति २ बजे, विराटनगर–१४ जतुवामा ‘ड्वाङ्ग’ आवाज आयो। मस्त सुतिरहेका स्थानीयको निद्रा भङ्ग भयो, जब ठूलो आवाजसहित कसैले चिच्याएको सुनियो।

केही बेरसम्म लगातार एउटै आवाज आइरह्यो, ‘ऐया,ऐया मरेमरे’। लगातारको चिच्याहटपछि स्थानीयहरू उठेर गए। हेर्दा एकजना पण्डितलाई गोली हानिएको रहेछ।

गोली लागेर छटपटाउँदै गरेका पण्डित थिए, आचार्य श्रीनिवास। उनी बिहानै २ बजे उठेर शौच गर्न निस्किएका रहेछन्। त्यही बेला कसैले गोली ठोकेछ।

‘माओवादी युद्धमा नचलेको गोली आज चल्यो’, स्थानीयले त्रसित हुँदै अनुभव सुनाए। बिहानै कलश यात्रा गरिने तय थियो। एघार बजेबाट सप्ताह पुराण हुँदै थियो, तर मूल गुरुलाई गोली लागेपछि सबै कार्यक्रम स्थगित भयो।

०००

आचार्य श्रीनिवासको दायाँ छातीको कुम मुनिको भाग (पाखुरा)छेडेर गोली पार भएको देखियो। धन्न गोली छातीमा लागेन। पाखुरोमा गोली लागेकाले उनी बाँच्न सफल भए। लगत्तै उनलाई विराटनगरस्थित न्युरो अस्पताल लगियो।

‘हिन्दूधर्म गुरु आचार्य श्री निवासमाथि गोली प्रहारको घटना सनसनी फैलियो। ‘कसले गोली हान्यो’ ठूलै चर्चाको विषय बन्यो। प्रहरी घटनास्थल पुग्दा घटनास्थलमा ‘मङ्गोल नेसनल अर्गनाइजेसन आर्मी’ नामक भूमिगत समूहको पर्चा भेटियो। घटनामा उसकै संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगायो।

अस्पतालमा आचार्य श्रीनिवासको उपचार सुरु भयो। स्वास्थ्य अवस्था बुझ्न सानादेखि ठूला नेतासम्म पुगे। उनका अनुयायीदेखि देशभरबाट स्वास्थ्य लाभको कामना गरियो।

गोली लागेर घाइते भएका आचार्य श्रीनिवास

धर्मसँग जोडिएकाले घटनालाई प्रहरीले गम्भीररूपमा अनुसन्धान अघि बढायो। किनकि, घटनाको अनुसन्धानको अलिकति पनि तलमाथि भएमा धार्मिक दङ्गा हुनसक्ने खतरा थियो।

घटनाको छानबिन र अनुसन्धानका लागि नेपाल प्रहरीको सबै संयन्त्र सक्रिय बन्यो। केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह (आरआईटी), संघीय प्रहरी इकाइ कार्यालय धरान र जिप्रका मोरङको टोली संयुक्तरूपमा परिचालित भयो। अनुसन्धान तीव्र अघि बढ्यो।

त्यो बेलासम्म आचार्य श्रीनिवास फाट्टफुट्ट चर्चामा आइरहेका थिए। गोली लागेपछि मिडियामा मुख्य समाचार बने। चर्चामा आए।

०००

आचार्य श्रीनिवासलाई हत्या गर्ने उद्देश्यले गोली हानिएको भन्दै हिन्दूवादीहरूले प्रदर्शन गरे। उनीहरूले हिन्दू धर्ममा आस्था राख्नेहरूको रगत उमाल्ने भाषण गरे। देशभरबाट विरोध भयो। घटनास्थल रहेको जिल्ला विराटनगरमा ठूलै प्रदर्शन गरियो ‘दोष पत्ता लगाएर कारबाही गर्नुपर्छ’ भन्ने मागसहित।

‘आचार्य श्रीनिवासमाथिको आक्रमण सम्पूर्ण हिन्दू धर्ममाथिको आक्रमण भएको’ टिप्पणी गरेका श्रीनिवास आचार्य निकटले गरे। उनीहरूले घटनास्थलमा पर्चा भेटिएको आधारमा हिन्दूमाथि मंगोलले आक्रमण गरेको भन्दै विवादित अभिव्यक्ति दिए।

‘मङ्गोल नेसनल अर्गनाइजेसन आर्मी’ पर्चा भेटिँदैमा उनकै संलग्नता रहेको भन्दै सम्पूर्ण मङ्गोल समुदायमाथि नानाथरी गालीगलौज गरियो। आक्रमणमा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर कडा कारबाहीको माग गर्दै सडक तताइयो। सञ्जालमा लेखियो।

गोली लागेर घाइते भएका आचार्य श्रीनिवासलाई अस्पतालमा भेट्दै तत्कालीन प्रदेश गृहमन्त्री

‘हिन्दू धर्मगुरूलाई गोली हान्ने को होला ?’ भन्ने चासो सबैतिर थियो। त्यही चासोको बीचमा घटनामा नयाँ ट्विस्ट आयो, तब आचार्य श्रीनिवास आफैँ पक्राउ परे।

घटनाको महिना दिनपछि २५ वैशाखमा उनलाई प्रहरीले समाते। उनी उपचारको बहानामा नयाँ दिल्ली भाग्दै थिए। तर, विमानस्थलबाटै समातिए। कारण थियो, ‘आफैँलाई गोली हान्ने मुख्य योजनाकार।’

उनका गतिविधि पहिल्यैदेखि शंकास्पद थिए। प्रहरी अनुसन्धान त्यसैतिर सोझिएको रहेछ। अनन्त जसलाई गोली प्रहार भएको थियो उनै पक्राउ परे। गोली प्रहारमा संलग्न भएको अभियोगमा अरू दुईजना पनि समातिएका थिए। पक्राउ परेका अरू दुईले ‘आचार्य श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको’ स्वीकारी बयान दिए।

हिन्दू धर्मगुरु आचार्य श्रीनिवासले धार्मिक र साम्प्रदायिक हिंसा फैलाउने योजनाका साथ आफैँमाथि गोली हान्न लगाएको अनुसन्धानबाट खुल्यो। गोली नजिकबाट हानिएको देखिएको थियो। घटनास्थलमा मङ्गोल आर्मी नाममा एक पर्चा पनि भेटिएकाले घटना थप रहस्यमय बन्दै गएपछि अनुसन्धान उनीहरूतर्फ नै सोझिएको रहेछ। प्रहरीले पत्ता लगाइहाल्यो, उनीहरू उम्कन पाएनन्।

आफैँले गोली हान्न लगाएको खुलासापछि पक्राउ परेका आचार्य श्रीनिवासलाई सार्वजनिक गर्दै प्रहरी

धार्मिक दङ्गा गराउन चाहन्थे आचार्य श्रीनिवास

घटनामा आफूहरूमाथि शंका नहोस् भनेर र धार्मिक सद्भाव भड्कियोस् भनेर उनीहरूले मङ्गोल आर्मीको नक्कली पर्चासमेत छरेका रहेछन्।

पक्राउ परेका अरू दुईलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइयो। आचार्य श्रीनिवासलाई हातहतियार खरखजाना ऐनअनुसार मुद्दा चलाइयो। जेल चलान भए।

आचार्यका गतिविधि त्यसअघि पनि शंकास्पद थियो। २०७४ मा सुनसरीमा भएको हिन्दूवादीको प्रदर्शनमा आचार्यकै अगुवाइमा भारतीय रुपैयाँ बाँडिएको थियो। यसअघि, उनले संविधान बनेको एक साताभित्र देशभरका चर्चहरू भत्काउने भन्दै हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए।

फेरि अर्काे दुस्साहस

आफैँमाथि गोली हानेर हातहतियार खरखजाना ऐन अनुसार मुद्दामा केही वर्ष जेल बसेर उनी छुटे। तर, सुध्रिएनन्। उनै विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास मंगलबार पक्राउ परेका छन्।

विवादास्पद अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि सुनसरीको चक्रघट्टीबाट पक्राउ परे। उनले केही दिन अगाडि गौहत्या गर्नेहरूलाई हत्या गर्न आह्वान गर्दै चर्को भाषण गरेका थिए।

‘‘गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने’’ उनले विवादित अभिव्यक्ति दिएका थिए। उनले सार्वजनिक सभामै खुकुरी देखाएर भाषण गरेको भिडिओ सञ्जालमा छ।

गौहत्या प्रकरणले अशान्त बनेको धरान क्षेत्र बल्ल शान्त भएको बेलामा श्रीनिवासले दिएको भड्काउ भाषण सामाजिक सञ्जालमा भाइरल छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई सोही अभिव्यक्तिको कारण नियन्त्रणमा लिएको बताए।

‘गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने’ भन्दै हतियारसहित अभिव्यक्ति दिँदै आचार्य श्रीनिवास

धार्मिक उत्तेजनाको बिउ

महिना दिनअघि धरानको विवादमा पनि आचार्य श्रीनिवास संलग्न थिए। उनले इसाई धर्मालम्बीविरुद्ध भड्काउपूर्ण अभिव्यक्ति मात्र दिएनन्, धार्मिक सद्भाव खलबलाउने दुस्साहस गरे। दुई समुदायबीच असहजता सिर्जना गर्न भड्काउ गतिविधि गरे।

धरानमा धार्मिक साम्प्रदायिक हिंसा भड्किने स्थिति देखिएपछि भदौ ९ मा कर्फ्यु जारी गरियो। लगातारको कर्फ्यु र संयमताले त्यो घटना विस्तारै मत्थर भयो। सुरुमा पूर्व धरान, लगत्तै मधेसको सर्लाहीमा पनि उस्तै घटना भयो।

अहिले पश्चिम नेपालगञ्जमा सद्भाव कायम गर्न डेढ महिनायता मात्र तीन सहरमा कर्फ्यु लगाउनुपरेको छ। यो अवस्थामा संयमित हुनुपर्नेमा फरक धार्मिक समुदायलाई लक्षित गरी उत्तेजना फैलाउन फेरि सक्रिय रहे आचार्य श्रीनिवास।

धार्मिक सद्भाव खल्बलिन लागेमा सम्बन्धित समुदायका अगुवाले अग्रसरता देखाउनुपर्छ । तर, गेरु वस्त्र लगाएर हिन्दू धर्मको खोल ओडेका आचार्य श्रीनिवास भने आफ्नो व्यक्तिगत फाइदाका लागि धार्मिक साम्प्रदायिक हिंसा भड्काउन उद्यत रहिरहे।

धार्मिक साम्प्रदायिक हिंसा भड्किने अभिव्यक्ति दिएपछि आचार्य श्रीनिवास नाम राखेका दिनेश पण्डितलाई पक्राउ गर्दै प्रहरी

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved