दसैँका विभिन्न साइत सार्वजनिक, टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

नेपालभ्युज

दसैँका विभिन्न साइत सार्वजनिक, टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ  । समितिका अनुसार असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको छ ।

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरिने  समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । उनका अनुसार असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०:१९ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ ।

कात्तिक ४ गते शनिबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइने छ ।  तुलजा भवानी यात्राको साइत बिहान ८:२४ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ९:३५ बजे स्थिरासन गराइने समितले जनाएको छ ।

कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गरिने छ ।

यस्तै  कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ ।

कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १०:३७ बजे विसर्जन गरिने साइत छ ।

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११:२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ९:२ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान १०: ३ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ ।

यस्तै कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ । त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved