‘अहँ, म देशको सेवा गर्न सक्दिनँ’

‘अहँ, म देशको सेवा गर्न सक्दिनँ’

म मूल्यहीन व्यक्ति हुँ, म मान्छे हैन, हुँ त केवल यो देशको दास । मलाई कसैको छोरा, कसैको श्रीमान्, कसैको बुबा, भएर बाँच्ने अधिकार छैन । मैले मात्र यो देशका लागि बाँचेको छु ।’

नेपाल प्रहरी बनेर देशको सेवा गर्ने हुटहुटीले मलाई सधै कुत्कुत्याउँथ्यो बाल्यवस्थामा । नेपाली लाहुरे बन्ने, देशको सेवा गर्ने, बुबा-आमालाई खुसीसाथ राख्ने आदि इत्यादि सपनाले मलाई अरुजस्तै बिहान अबेरसम्म निदाउन कहिल्यै दिएन । गाउँ-घरमा लाहुरेलाई दिइने सम्मानले झन् मलाई औधी हौस्याउने गर्थ्यो आफ्नो सपनाको ढोका फोर्न ।

नेपाल प्रहरी बन्ने जुनुनले मलाई यतिसम्म अन्धो बनाइदिएछ कि, मैले आफू र आफ्नो परिवारलाई नै बिर्सिएछु । मैले आफ्नो जिउ ज्यान देशका लागि आहुति दिएको छु । मैले आफूलाई देशसंँग बेचेको छु । मेरो शरीरको मोलमोलाइ गर्न मैले सानैदेखि धेरै मेहेनत गरेँ । आजभोलि मलाई लाग्छ, ‘म मूल्यहीन व्यक्ति हुँ, म मान्छे हैन, हुँ त केवल यो देशको दास । मलाई कसैको छोरा, कसैको श्रीमान्, कसैको बुबा, भएर बाँच्ने अधिकार छैन् । मैले मात्र यो देशको लागि बाँचेको छु ।’ व्यक्तिगत जीवनलाई मारेर, आफ्नै इच्छा र आकांक्षाको हत्या गरेर म गर्वसाथ भन्ने गर्छु ‘म राष्ट्रसेवक नेपालको सुपुत्र हुँ’ तर म भित्रको सत्य कुहिएको दुर्गन्ध केवल म मात्र सुघ्न सक्छुु ।

नेपाल प्रहरीको तलबले जीवन धान्न मलाई नै गाह्रो छ । अझ परिवारलाई मैले खै कसरी खुसी दिन सक्थेँ र ? बल्ल-बल्ल छुट्टि मिलाएर घर जान पाउँदा परिवारलाई केही उपहार लगिदिने हैसियत पनि हुँदैन । साँच्चै भन्नुपर्दा परिवार, आफन्तको आसे आँखाले मलाई गिज्याएको झैँ लाग्छ । देश र जनताको सेवाको लागि दिनरात, भोक, तिर्खा, गाह्रो साह्रो केही नभनी खट्छौं । तर, जनताले हामीलाई बुझिदिँदैनन् त्यतिबेला धेरै दुःख लाग्छ बहिनी । जसका  लागि हामी खटिन्छौं उनीहरू नै हामीमाथि जाइलाग्छन् । उनीहरूबाटै ढुंगामुढा शरीरमा बर्सिंदा आफ्नो सानैदेखिको जुनुनप्रति नै हीनताबोध हुन्छ । जसलाई सुरक्षा दिन हामी खटिन्छौं उनीहरूबाट नै हामी असुरक्षित छौं । कहिलेकाही त बेकारमा फोर्स जोइन गरेछु जस्तो लाग्छ ।

आफूसंँगैका साथीहरू कहाँबाट-कहाँ पुगिसके कति प्रगति गरिसके म भने जहाँको तहीँ छु । यस्तो तालले त खै ! जीवनमा केही गर्न सकिँदैन होला । कहिलेकाँही त विदेशी भूमिले बोलाइरहेको छ जस्तो पनि लाग्छ ।

(निकै भावुक भएर एक प्रहरी जवान आफ्नो कथा र व्यथा सुनाउँदै थिए ।) उनको कथाको गहिराइमा डुबेर उनको जीवन कथासंँगसंँगै म पनि बहिरहेँ । उनको सपनाको कथा भित्रको व्यथाले मलाई नै कता-कता निचोरिरहेको थियो । उनलाई सावन्त्वना दिने शब्द पनि थिएन मसंँग । नि:शब्द एकोहोरो उनलाई नियालिरहे ।

तर, नझुक्किनुस् यो एउटा व्यक्तिको कथा मात्र होइन, समग्र देशका प्रहरी जवानहरूको यथार्थ जीवन भोगाइ हो ।

प्रहरी प्रशासनको गरिबी

घटना भर्खरैको हो म मेरो भाइको नागरिकता बनाउन गाउँ गएकी थिएँ । मेरो गाउँ रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ मा पर्छ । मेरो भाइको नागरिकताको लागि स्थानीय चौकीबाट मुचुल्का बनाउनुपर्ने भयो । त्यसैले, हामी मुचुल्का बनाउन इलाका प्रहरी कार्यालय बेथान गयौं, त्यहाँका प्रहरीहरूले मुचुल्का लेख्ने ‘बलपेन र पेपर’ पनि हामीलाई किन्न लगाए । चार-पाँच घण्टा लगाएर एउटा मुचुल्का लेखिदिएँ त्यसपछि हामी फर्कियौं ।

यो दृश्य र घटना आफैँमा लज्जास्पद थियो । एउटा प्रहरी कार्यालयमा स्टेसनरी सामानसमेत छैन । सुरक्षाकर्मीहरू प्रविधि र इन्टरनेटसंँग जोडिन पाएका छैनन् । त्यस इलाकाको भौतिक संरचना पनि निकै दयनीय थियो । चौकीको परिसर हेरेर नै अनुमान लगाउन सकिन्थ्यो कि, त्यहाँका प्रहरीहरू कसरी बसिरहेका छन् भनेर । कमसेकम एउटा कम्प्युटरजन्य प्रविधि उपलब्ध भएको भए, उनीहरू देश र जनताको सुरक्षाका लागि दिनरात खट्छन् उनीहरूलाई बस्ने ठाउँको व्यवस्था त अलि राम्रो गरिदिएको भए… ।

यस्तै–यस्तै कुराहरूले मेरो मनमा परेड खेल्न थालेको त्यो दिन सम्झन्छु म । सम्झिँदा आज पनि दुःख लाग्छ । मेरो देशको प्रहरी प्रशासनको गरिबी देख्दा सरकारलाई लाज लाग्छ कि लाग्दैन होला ? देश र जनताको सुरक्षामा अहोरात्र खटिने सुरक्षाकर्मीहरूलाई किन व्यवस्थित बनाएर राख्न सक्दैन नेपाल सरकार ! बर्सेनी करोडौं रकम खर्चेर आफ्नो सरकारी निवास मर्मत र निर्माणमा अबौं राज्य ढुकुटी रित्याउने मेरो देशको सरकारले सुरक्षाकर्मीको निवास पनि व्यस्थित बनाइदिए त हुने नि ।

भदौ १० गते मात्रै ८५ करोड खर्चेर ललितपुरको सैंबुमा मुख्यमन्त्री तथा प्रदेश प्रमुख बस्ने सरकारी निवास को निर्माण गरी चाबी हस्तान्तरण भयो । तर, देश र जनताको सेवामा तल्लीन ग्रामीण भेगका प्रहरी कार्यालयहरूको दुर्दशा र समस्या ज्युँ को त्युँ नै छ । त्यतातिर सरकारको ध्यान जाने कहिले हो ?

कुरा २०८० असार २० गतेको हो । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १४ को बिमिरे चौहान टोलकी एक स्थानीय विष्णुमाया थापाले गाउँकै एक व्यक्तिले आफूलाई ज्यान मार्ने धम्की दिँदै घर घेरेको भनी स्थानीय प्रहरी चौकीमा रातको १२ बजेतिर फोन गरिन । रातीको समय त्यसमा पनि सवारी साधन नभएको भन्दै प्रहरीले बिहान भएपछि मात्र घटनास्थलमा आउने बताए ।

यस घटनाका विषयमा बुझ्न हामीले रामेछाप जिल्लाका प्रहरी प्रमुख डीएसी होमबहादुर पराजुलीसंँग कुराकानी गर्‍यौं । उनले फुलासी पोखरी प्रहरी चौकीमा सवारी साधन नभएको सहर्ष स्वीकार गरे । उनले भने, ‘हामीले एकवटा मोटरसाइकल उपलब्ध गराएका थियौं । तर, त्यो पनि अहिले बिग्रिएको छ । बजेट अभावका कारण मोटरसाइकलको मर्मत हुन नसक्दा यो अवस्था आएको हो ।’

अब तपाईंहरू नै भन्नुहोस् यसमा दोषी को हो ? आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मीसंँग सहयोग माग्ने ती पीडित कि सवारी साधन नभएको कारणले गर्दा जनतालाई सेवा दिन नसक्ने लाचार प्रहरी प्रशासन कि सुरक्षाकर्मीहरूलाई आधारभूत आवश्यकीय सामान उपलब्ध गराउन नसक्ने सरकार ?

किन खुसी छैनन् प्रहरी जवान ?

यदि नेपाल प्रहरी जवानहरूलाई उनीहरूले डिजर्भ गर्ने सम्मान र आदर नेपाल सरकारले भाषणमा मात्र सीमित नगरी खुल्ला रूपमा कार्यान्वयनमा ल्याइदिएको भए सायद कोही पनि जवानहरूलाई आफ्नो कामको प्रतिबन्धले हिनताबोध महशुस हुन दिँदैन थियो होला । देश र जनताको सेवामा तल्लीन आफूप्रति कति गर्व गर्ने थिए होला !

कोशी प्रदेशमा २०८० साउन १६ गते मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भए । नवनिर्वाचित मुख्यमन्त्रीलाई सुरक्षा दिनका लागि नेपाल प्रहरीका ७-८ जना जवानहरू परिचालन गरियो । तर, ती जवानहरूले उनलाई सुरक्षा दिन कत्ति सास्ती भोगे भन्ने कुरा हामीमाझ खुलाएका छन् ।

मुख्यमन्त्री उद्धव थापाको निवासबाहिर पशुगोठ छेउमै बसेर उनलाई सुरक्षा दिनुपर्ने त्यसमा पनि रातभरि मच्छडले टोकेर आतंक नै फैलाउने उनीहरूले बताए । उनीहरूका अनुसार पशुगोठ छेउमा बसेर रातभरि डिउटी गर्नुपर्थ्यो । एउटा मच्छड भगाउने लिक्विडको समेत उपलब्धता  थिएन । राति सुत्नलाई पालो गर्नुपर्ने जहाँ एउटा खाट छ, त्यसमा सानो गुन्द्री छ अनि त्यसैमा मच्छडको आतंक सहँदै सुत्नुपथ्र्याे ।’

देश र जनताको सेवामा खट्नु उनीहरूको कर्तव्य हो । तर, नेता तथा राजनीतिज्ञको लागि देशका कत्ति प्रहरी परिचालन गरिएको छ । त्यसमा उनीहरूप्रति गरिने यो खालको व्यवहार, (उफ) कत्तिसम्मको हेपाहा प्रवृत्ति ! के नेपाल प्रहरीहरू मान्छे हैनन् र ? मान्छेलाई किन मान्छे जस्तो व्यवहार गरिँदैन ? नेपाल प्रहरीको शरीर हैनर ? उनीहरू थाक्दैनन् र ? एउटा राजनीतिज्ञ नेतालाई सुरक्षा दिन नेपाल प्रहरीले यति सास्ती भोग्नुपर्ने किन ?

के भन्छन् जवानका परिवार ?

जवानको पीडा एकातिर छ भने उनको परिवारको पीडा पनि अर्कातिर छ । आफूले चाहेको समयमा परिवारको साथमा बस्न नपाउनु त्यो स्वाभाविक नै हुन्छ । तर, आवश्यक पर्दासमेत परिवारसंँग समय बिताउन, परिवारलाई साथ दिन पाउँदैनन जवानहरू ।

केही समय अगाडि मात्र बेलका नगरपालिकामा कार्यरत मनोसामाजिककर्ता जानुका कार्की बिरामी भएर हस्पिटलको बेडमा थिइन् । उनको श्रीमान् नेपाल आर्मीमा आबद्ध छन् । आफ्नी श्रीमती बिरामी भएर हस्पिटलको बेडमा हुँदा पनि आफू साथमा हुन नपाएको भन्दै उनले ‘गेट वेल सुन’ सहित सामाजिक सञ्जाल फेसबुकमा ‘यो अवस्थामा सहयोग पाइनँ दु:खी छु बुढी चाँडै निको भएर घर फर्कनू । उच्च मनोबल बनाउनु है ।’ भनी पोस्ट्याए । त्यस पोस्टको प्रतिउत्तरसहित मनोसामाजिककर्ता कार्कीले जवाफसहित नेपाल आर्मीको प्रमुखलाई प्रश्नको झटारो हानिन् ।
उनको लेख जस्ताको तस्तै :–

नेपाल आर्मीको प्रमुखलाई मेरो चिठी’

‘आदरणीय सर नमस्कार ! नेपाल आर्मीको परिवारले बिरामी हुँदा पनि श्रीमानको छुट्टि नपाउने कस्तो खालको सेवा हो । हरबखत देश र जनताको सेवामा तल्लीन भई आफ्नो र परिवारको पनि ख्याल नगरी सेवा गर्दा पनि श्रीमती बेडमा छट्पटीमा हुँदा पनि छोडेर जानुपर्ने यो कस्तो खालको सेवा हो ? हजुरलाई यो हामी आर्मीका परिवारको श्रीमतीको प्रश्न, अनि म मात्र होइन यस्तो समस्यामा हरेक आर्मी तथा प्रहरीको जागिर खाने व्यक्तिहरूको परिवारलाई यस्तो समस्या छ । महिलाले आफ्नो घर धानेर बसेका हुन्छन् श्रीमानको सहयोग विना । महिलाको समस्या पनि बुझिदिनुहुन मेरो अनुरोध ।

आखिर आफ्नो परिवार बिरामी भएर बेडमा हुँदा छोडेर जाँदा कस्तो हुन्छ एकपटक आफ्नो परिवालाई आफूसंँग भएको महशुस गरेर हेर्नुस् । यस्तो हुन्छ भने त बरू वैदेशिक रोजगारमा गएर ६ वर्ष बिताएर आउँदा पैसा पनि हुने, टाढा छ भनेर मन ढुक्क पनि हुने । कम्तिमा सेवा गर्ने भएपछि सेवाको भावनाले पनि हेर्नुपर्छ होला नि !  त्यहाँ भित्र घाँस काटेर इँटामा कलर लगाएर मात्र सेवा हुँदैन मेरो व्यक्तिगत बुझाइ अनि श्रीमान् ज्यु माफी चाहान्छु यो पत्रले हजुरको व्यक्तिगत काममा असर नपरोस् । रहरले अस्पताल बसिँदैन । मनभरिको भावना हजुरसमक्ष पोखेको यसलाई अन्यथा नलिदिनुहोला बरू सक्नुहुन्छ भने सुधार्नु होला ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved