हेटौंडा सिमेन्ट उद्योगले पुनः थाल्यो उत्पादन

नेपालभ्युज

हेटौंडा सिमेन्ट उद्योगले पुनः थाल्यो उत्पादन

मकवानपुर। करिब दुई हप्ताअघि बन्द भएको हेटौंडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ ।

बिग्रिएका उपकरण मर्मतसम्भार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए । हेटौंडास्थित नेपाल विद्युत् प्राधिकरणले दिँदै आएको विद्युत् आपूर्ति करिब आधा घण्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको उनले जानकारी दिए ।

उद्योगमा विद्युत् आपूर्तिको लागि छुट्टै फिडर जडान गरिए पनि आपूर्ति पटक-पटक अवरुद्ध हुँदा उत्पादन कार्यमा निकै समस्या भोग्नु परेकाले प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गर्न पत्राचार भइरहेको पनि महाप्रबन्धक कर्णले बताए ।

नेपाल सरकारको स्वामित्वमा रहेको सो उद्योग करिब चार दशक पुरानो हुँदै जाँदा सबै उपकरण पनि जीर्ण हुँदै गएकाले उत्पादन क्षमतामा कमी आएको उल्लेख गरिएकोे छ । साविक क्षमताअनुसार दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि अहिले दैनिक १० हजार बोरा मात्रै सिमेन्ट उत्पादन भएको उद्योग व्यवस्थापनले जनाएको छ ।

तत्कालीन श्री ५ को सरकारले विसं २०३३ मा हेटौंडामा स्थापना गरेको उक्त उद्योगले २०४३ साल मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको थियो ।
रु एक अर्ब ५० करोडको लगानीमा स्थापना गरिएको सो उद्योगले अहिले विभिन्न सहरमा दैनिक सीमित मात्र सिमेन्ट बिक्री-वितरण भइरहेकाले पर्याप्त सिमेन्ट बिक्री-वितरण हुन नसक्दा निकै आर्थिक भार व्यहोर्नुपरेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved