सन्दर्भ : संविधान दिवस

देशलाई संविधान दिएपछि अस्ताएका दुई हस्ती : सुशील र सुवास

फेरि आइपुगेको छ, असोज ३ गते । संविधान जारी गर्न त्यस समयमा राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउने र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई सारथि बनेर सघाउने काम संविधानसभा अध्यक्ष नेम्वाङले गरेका थिए।

नेपालभ्युज

देशलाई संविधान दिएपछि अस्ताएका दुई हस्ती : सुशील र सुवास

काठमाडौं। ‘‘संविधानसभाबाट पारित संविधानको प्रतिमा संविधानसभा नियमावली २०७० को नियम १ सय १० को उपनियम ३ बमोजिम हस्ताक्षर गरी नेपाली जनतासमक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गरिदिनुहुन अनुरोध गर्दछु’’ संविधानसभा अध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति डा. रामवरण यादवलाई अनुरोध गरे।

त्यसअघि, संविधानसभाबाट अत्यधिक मतले संविधान पारित भएको घोषणा संविधानसभाका अध्यक्ष नेम्वाङले गरेका थिए संसदबाट संविधानको घोषणापछि प्रमाणीकरण पनि गरेका थिए उनले।

त्यसअघि, प्रधानमन्त्री सुशील कोइरालाले संविधान पेस गरेका थिए।

लगतै राष्ट्रपति डा. यादवले संविधानको एक प्रति हातमा लिएर उठाउँदै भने ‘‘संविधानसभामा संविधानसभाबाट पारित एवम् संविधानसभाका सम्मानित अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु।’’

तत्कालीन राष्ट्रपति डा. यादवले आजकै दिन (असोज ३) मा संविधान सभा बैठकमा यसैगरी संविधान घोषणा गरे।

हात मिलाउने र गला मिलाउने दृश्य संविधानसभाभित्र देखियो। राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री कोइराला र सभाध्यक्षको कुर्सीमा आसिन नेम्वाङ सबै भावुक भए।

त्यसपछि संविधानसभा सदस्यहरूले लगातार दुई मिनेटसम्म टेबल ठोके। उनीहरूको खुसीको सीमा नै थिएन।

नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा भव्य समारोहको दृश्य थियो त्यो। तत्कालीन राष्ट्रपति डा यादवको घोषणालगतै संविधानसभा हल तालीको गडगडाहटले निकै बेरसम्म गुञ्जियो।

त्यो दृश्य टेलिभिजनमा देशैभरबाट जनताले हेरिरहेका थिए। मुलुकले संविधान पाएको खबर देशभर सञ्चार भयो। संविधान जारी भएको उत्सवमा देशैभर खुसियाली साटियो।

असोज ३ गते फेरि आइपुगेको छ। संविधान जारी भएको आठ वर्ष पूरा गरेर नवौं वर्षमा प्रवेश गरेको छ ।  संविधान जारी गर्न त्यस समयमा राजनीतिक दलहरूलाई संविधान निर्माणको एजेन्डामा एक ठाउँमा ल्याउने र तत्कालीन प्रधानमन्त्री कोइरालालाई सारथि बनेर सघाउने काम संविधानसभा अध्यक्ष नेम्वाङले गरेका थिए।

भनिन्छ, युद्ध जित्न सशक्त सारथी चाहिन्छ। त्यस समयका प्रधानमन्त्री कोइरालाका सारथी थिए नेम्वाङ। कोइरालाले नेम्वाङजस्ता सारथी पाएर नै संविधान जारी गरिछाड्ने युद्ध जिते। उता सुवासको सुवास झन् संविधानसँगै जोडिएको र फैलिएको थियो।

प्रधानमन्त्री कोइरालाले आफ्ना सबै समस्या अध्यक्ष नेम्वाङसँग राख्थे र अब कसरी अघि बढ्ने भन्ने सल्लाह लिन्थे।

तर, आज संविधान दिवस मनाउँदै गर्दा संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हस्तीहरू छैनन्। कोइरालाको सोही साल माघमा निधन भयो, सभाध्यक्ष नेम्वाङको एकसाता अघि।

संविधान दिवस मनाइरहँदा संविधानसँगै सम्झिने दुई पात्र नहुँदा तत्कालीन समयमा संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गरेका उनीहरूको रिक्तता महसुस गरिएको छ।

जानकारहरू स्मरण गर्छन्, ‘‘राष्ट्रिय, अन्तर्राष्ट्रिय दबाबका बाबजुद उनीहरूको त्यस कठिन समयमा संविधान जारी गाउन भूमिका खेले। त्यो बेलामा संविधान जारी नभएको भए संविधान जारी नै हुन नसक्ने अवस्था आउने खतरा थियो। समग्र राज्य प्रणाली नै असफल हुन थियो। त्यसैले जनपक्षीय संविधान जारी गर्नुको अर्को विकल्प छैन, भन्ने उनीहरूको साझा अठोटले काम गर्‍यो।’’

कोइराला र नेम्वाङलाई नेपालको संविधान, लोकतन्त्र, संवैधानिक सर्वोच्चता र कानुनी राज्य मान्ने जोकोहीले पनि सदा सम्झिरहने वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई बताउँछन्।

उनी भन्छन्, ‘‘सबैको भावनालाई समेटेर संविधान कार्यान्वयनको पाटोलाई सही बाटोमा ल्याउन सक्ने क्षमता भएका सुशील र सुवासको निधनले ठूलो क्षति पुर्‍याएको छ। आजको संविधान दिवसमा उहाँको रिक्तता महसुस गरिरहेका छौँ।’’

आइतबार ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा संविधानविद् तथा नेताहरूले उनीहरूको भूमिकाको स्मरण गरे। एमाले पार्टी कार्यालयमा आयोजित समारोहका नेम्बाङको अभावमा संविधान दिवस मनाउनुपर्ने दुःखद् अवस्था आएको एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका थिए।

‘‘हामी संविधान दिवस पनि मनाइरहेका छौँ। तर, संविधान बनाउने सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङजी हामीमाझ हुनुहुन्न। यसपल्ट उहाँको उपस्थिति नभएर पदचिह्न, कन्ट्रिब्युसन के छ ? उहाँले दिनुभएको दिशानिर्देश, गोरेटो के छ ? उहाँका योगदान के छन् ? यी विषयहरूमा हामी छलफल गर्छौँ, गरिरहेका छौँ’’ उनले भने।

ओलीले संविधान निर्माणमा नेम्बाङले दिएको योगदानको सम्मान र प्रशंसा गर्दै आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved