सम्पादकीय

विदेसिनेको ताँतीले किन रुवाउँदैन कसैको मन ?

मुठ्ठीभर शक्तिशालीले आफ्ना सन्तानलाई खुलेआम तस्करीमा लगाउने देश हो यो । तिनैका सन्तानले ठेक्कापट्टामा एकाधिकार जमाउने देश हो यो । जुन देशमा प्रतीक थापा, सन्दीप रायमाझी र राहुल महराहरूको बिगबिगी हुन्छ, त्यो देशमा सर्वसाधारणका सन्तानको कुनै भविष्य हुन्छ ?

नेपालभ्युज

विदेसिनेको ताँतीले किन रुवाउँदैन कसैको मन ?

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ
लाखौंका लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्गं छ

पूर्वप्रधानमन्त्री झलनाथ खनालले जोशिलो उमेरमा लेखेको र जनप्रिय क्रान्तिकारी गायक जेबी टुहुरेले गाएको यो गीत कुनै बेला खुबै चर्चित थियो नेपाली समाजमा ।

क्रान्तिकारी, जनवादी वा जनपक्षीय गीत भनिन्थ्यो यसलाई । यस्ता गीतले जनताका दु:ख, पीडा र वेदनाको प्रतिनिधित्व गर्दछन् भनिन्थ्यो । जनतालाई विद्रोह, आन्दोलन र क्रान्तिमा होम्न भावनात्मक रूपले उद्वेलित र प्रेरित गर्ने ठानिन्थ्यो ।

र, यो पनि भनिन्थ्यो कि, जब कुनै दिन सर्वहारा वर्गको जित हुनेछ, गरिब, दिनदु:खी, भूमिहीन, सुकुम्बासी, मोही किसान, ज्यामी, मजदर वा शासित वर्गको राज्यसत्ता स्थापित हुनेछ । यो वर्गको राजनीतिक शक्ति कम्युनिस्टहरू सत्तामा आउनेछन् । जनताको आफ्नै शासनसत्ता स्थापित हुनेछ । जनताको दु:ख, पीडा र वेदनाको अन्त्य हुनेछ । शोषक सामन्त, दलाल पुँजीपतिहरूको अन्त्य हुनेछ । सुनौलो बिहानीको उदय हुनेछ ।

भाष्य र बाटो फरक थियो । तर, कांग्रेसीको दाबी पनि झण्डै यस्तै यस्तै थियो । कम्युनिस्टहरू राज्यसत्ता कब्जा गरेर समाजवाद ल्याउन चाहन्थे । कांग्रेसहरू लोकतान्त्रिक निर्वाचनबाटै समाजवाद आउँछ भन्थे । ‘समाजवाद’ दुवैको मुखमा झुन्डिएको थियो ।

लाग्थ्यो यी दिनदु:खीका मसिहा हुन् । शोषित पीडितका मुक्तिदाता हुन् । स्वतन्त्रता, समानता, भातृत्व र न्यायका दूत हुन् । मानवीय गरिमा र आत्मसम्मानको रक्षा गर्ने छन् यिनले । देशलाई गरिबी र कुशासनबाट जुरुक्कै माथि उचाल्नेछन् ।

देशमा तिनै कांग्रेस–कम्युनिस्टले कहिले एक्लाएक्लै, कहिले संयुक्त सरकार सञ्चालन गर्न थालेको साढे तीन दशक पुग्न लागेको छ । करिब साढे सत्र वर्ष कांग्रेस र करिब साढे चौथ वर्ष कम्युनिस्टको प्रधानमन्त्रित्वमा सरकार बनेछ । राज्यसत्ता सञ्चालन भएछ । शोषक सामन्तको नाइके ठानिएको राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको पनि दुई दशक पुग्न लागेको छ ।

ठीक यतिखेर पनि सत्ताको नेतृत्व त्यही पार्टी र नेताले गर्दैछन्– जो आफूलाई जनवादी, क्रान्तिकारी, सर्वहारावादी, गणतन्त्रवादी र समाजवादी ठान्दछन् । दाबी गर्दछन् । तर, विदेसिनेको संख्या भने दिनप्रतिदिन बढ्दै गइरहेको छ । यो घट्ने कुनै संकेत देखिएको छैन ।

हिजो बसाइँसराइको कुरा थियो । कठिन र दुर्गम पहाडबाट सहज जीवनको खोजी गर्दै मान्छे तराई–मधेस झर्थे । अझ धेरै पर भए मुग्लानिन्थे । भारतका विभिन्न शहरमा कुल्ली र दर्बान हुन पुग्थे । इन्डिया र ब्रिटिस सेनाका गोर्खा रेजिमेन्टमा भर्ती हुन्थे । कोइलाखानीतिर जान्थे । आसाम, मेघालय र मणिपुरका जंगलमा पुगेर आरावाल बन्थे । कति उतै हराउँथे । उतै घरजम गर्थे । कति फर्किन्थे, थोरै कमाएर वा गुमाएर । कसैको नाममा काँचो धागोले बाँधेको चिठ्ठी आउँथ्यो ।

भन्न सकिन्न, यीमध्ये पनि कति उतै बस्ने हुन् । कति फर्किने हुन् । काँचो धागोले बाँधेको चिठ्ठीको साटो कतिको शव बाकसमा आउने हो । तर, हिजो ‘बसाइँ सर्नेको ताँती’ ले रुने मनहरू आज ‘विदेसिनेको लर्को’ले रोइरहेका छैनन् । किन ? हिजो ‘मुठ्ठीभरको स्वर्ग’ भनेर जसलाई दोष दिन्थे उनीहरू आज आफैँ ‘मुठ्ठीभर’ भएका छन् किन ? के यो प्रश्नको कुनै उत्तर छैन ? कसैले दिन पर्दैन यसको उत्तर ?

झलनाथ खनालले यो गीत सायद त्यही बेला लेखेका थिए । सायद पहाडबाट तराई–मधेस झर्नेहरू, तराईमा झोडा फाँड्नेहरू, मुग्लानिया वा लाहुरे हुनेको नाममा लेखेका थिए । तसर्थ, उनले ‘बसाइँ सर्नेको ताँती’ भने होलान्।

तर, आज देशभित्रै ‘बसाइँ’ सर्ने मात्र हैन, ‘विदेसिने’ कुरा छ । बसाइँ सर्नु त सामान्य भइसकेको छ । आफ्नै देशको एक ठाउँबाट अर्को ठाउँ जानु, त्यो कुन ठूलो कुरा रह्यो ? ‘बसाइँ सर्नेको ताँती’ ले पुर्ख्यौली थलो वा जन्म गाउँ मात्र छोड्दथे । आज ‘जन्म देश’ नै छोड्नुपर्ने अवस्था छ । एक छाक कमाउन । सन्तानलाई सकेसम्म राम्रो शिक्षा, स्वास्थ्य र आवासको जोरजाम गर्न।

भन्न सकिन्न, यीमध्ये पनि कति उतै बस्ने हुन् । कति फर्किने हुन् । काँचो धागोले बाँधेको चिठ्ठीको साटो कतिको शव बाकसमा आउने हो । तर, हिजो ‘बसाइँ सर्नेको ताँती’ ले रुने मनहरू आज ‘विदेसिनेको लर्को’ले रोइरहेका छैनन् । किन ? हिजो ‘मुठ्ठीभरको स्वर्ग’ भनेर जसलाई दोष दिन्थे उनीहरू आज आफैँ ‘मुठ्ठीभर’ भएका छन् किन ? के यो प्रश्नको कुनै उत्तर छैन ? कसैले दिन पर्दैन यसको उत्तर ?

तथाकथित क्रान्तिकारीले सरकार चलाउन थालेको करिब ३ दशकमा पनि देश किन उस्तै छ ? किन उस्तै गरिबी र बेरोजगारी ? किन उस्तै भ्रष्टाचार र कुशासन ? किन उस्तै कालाबजारी र तस्करी ? किन उस्तै शोषण र शासन ? किन उस्तै गुणस्तरहीन र लम्पट चरित्रको राजनीतिक संस्कृति ?

आज देश नयाँ त्रासदीको संघारमा पुगेको छ । देशभित्र रोजगार छैन । देशभित्र उद्योगधन्दा, कलकारखाना छैनन् । देशभित्र उद्यशमीलता छैन । हिजो कम्तीमा कृषि थियो । कृषिप्रधान देश थियो । कम्तीमा दाल चामल, रोटी तरकारी आयात गरेर खान पर्दैनथ्यो । आज त्यो पनि छैन ।

देशभित्र न्याय मरेको छ । स्वतन्त्रता, समानता, बन्धुत्व मरेको छ । मानवीय हौसला, गरिमा र सौन्दर्य ओइल्याएको छ । देशभित्र वित्तीय स्रोतमा सहज पहुँच छैन सबैको । मरिमरी काम गर्छन् मान्छे । औसत ज्याला मुस्किलले मासिक २० हजार पनि छैन, तर ५० हजारले पनि धान्न नसकिने भाउ र महँगी छ बजारमा ।

हिजो पनि मुठ्ठीभरको स्वार्थ थियो देश आज पनि केही सीमित र मुठ्ठीभर मानिसकै हालीमुहाली छ । पात्र फरक छन् । चरित्र उस्तै छ । अनुहार फरक छन्, व्यहोरा उस्तै छ । औपचारिक विचारका दस्तावेज फरक छन्, नीति, काइदा, कानुन उस्तै छ ।

ती मुठ्ठीभर आज पनि कानुन मिच्न सक्दछन् । ती मुठ्ठीहरू आज पनि विधिको शासनभन्दा माथि छन् । ती मुठ्ठीभर आज पनि भ्रष्टाचार गर्न स्वतन्त्र छन् । ती मुठ्ठीभर आफ्नै देशको नागरिकलाई अर्कोको देशको नागरिक बनाएर बेच्न र पैसा असुल्ल सक्ने गरी तागतवर भएका छन् ।

ती मुठ्ठीहरू देशको राजधानीमा भएको अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर क्विन्टलका क्विन्टल सुन तस्कर गर्न डर नमान्ने भएका छन् । ती मुठ्ठीभरहरू समानुपातिकको सिट र चुनावको टिकट बेच्न सक्दछन् । राजदूतको पद, संवैधानिक आयोगका नियुक्ति र सरुवा-बढुवा बेच्न सक्दछन्।

अझ डरलाग्दो कुरा– ती मुठ्ठीभर देशको प्रधानमन्त्रीको कार्यालय रहेको जग्गा नै बेचेर खानसक्ने बलिया छन् । सहजै अनुमान गर्न सकिन्छ, जब मुठ्ठीभरहरू यति बलिया छन् भने सर्वसाधारण कति कमजोर भएका होलान् ?

परिणाम ठीक यही हो–आज जताततै निराशा छ । घृणा, वितृष्णा र आक्रोश छ । यस्तो देशमा किन बस्ने युवा ? मुठ्ठीभरले लुटेर सिध्याएको, भित्रभित्रै खोक्रो बनाएको देशमा सर्वसाधारणका सन्तानको भविष्य बन्न सक्दछ ?

मुठ्ठीभर शक्तिशालीले आफ्ना सन्तानलाई खुलेआम तस्करीमा लगाउने देश हो यो । तिनैका सन्तानले ठेक्कापट्टामा एकाधिकार जमाउने देश हो यो । जुन देशमा प्रतीक थापा, सन्दीप रायमाझी र राहुल महराहरूको बिगबिगी हुन्छ, त्यो देशमा सर्वसाधारणका सन्तानको कुनै भविष्य हुन्छ ?

आज यी ताँतीको गीत लेख्ने न कुनै झलनाथ खनाल निस्किएको छ, न गीत गाउने जेबी टुहुरे । बरु मान्छेहरू एक-अर्कालाई–‘सुन साइँली चालिस कटेसी रमाउँला’ भन्दै बिदाबारी गर्दैछन् । विदेसिनेको जत्रो ठूलो ताँती छ विमानस्थलमा त्योभन्दा लामो बिदाइ गर्ने, फूलमाला र खादा लगाइदिनेको भीड छ ।

यो भिन्नै कुरा हो–विदेसिँदैमा भविष्य सुनिश्चित छैन । त्यहाँ पनि छन् उत्तिकै अग्ला दु:खका पहाड । तर, कम्तीमा त्यहाँ सम्भावना छ । तसर्थ, विदेसिनेको लर्को छ । देश छोड्नेको ताँती छ ।

तर, आज यी ताँतीको गीत लेख्ने न कुनै झलनाथ खनाल निस्किएको छ, न गीत गाउने जेबी टुहुरे । बरु मान्छेहरू एक-अर्कालाई–‘सुन साइँली चालिस कटेसी रमाउँला’ भन्दै बिदाबारी गर्दैछन् । विदेसिनेको जत्रो ठूलो ताँती छ विमानस्थलमा त्योभन्दा लामो बिदाइ गर्ने, फूलमाला र खादा लगाइदिनेको भीड छ ।

हिजो छिमेकी बसाइँ सर्दा मान्छेको मन रुन्थ्यो, आज आधा देश विदेसिँदा कसैको मन रुँदैन । बरु खादामाला लगाइदिएर हाँसीखुसी बिदाइ गर्छ ।

हालै वितेको आर्थिक वर्ष २०७९-२०८० मा विदेसिनेको तथ्यांकले कीर्तिमान बनाएको छ । नेपाल राज्य बनेयताकै सर्वाधिक धेरै मान्छे विदेसिएका छन् गत वर्ष । करिब ७ लाख ७५ हजार नेपाली रोजगारीको खोजीमा विदेसिएका छन् । करिब १ लाख १० हजार पढ्नका लागि भनेर गएका छन् । अर्थशास्त्री भन्छन्– यो १६–४० वर्ष उमेर समूहभित्रको करिब ७ प्रतिशत जनसंख्या हो ।

एउटै आर्थिक वर्षमा ७ प्रतिशत विदेसिए । समग्रमा यो तथ्यांक कति होला ? कस्तो हुँदै जाला ? अझ यसमा अनौपचारिक ढंगले जान पाइने भारततिरको समेत संख्या जोड्ने हो भने यो कति होला ?

गज्जब के छ भने कसैको मन दु:खेको छैन । ती सबै हाँसीखुसी नै छन्, जसको मन दुख्नुपर्ने हो । जसको मन दुखेर पनि केही हुँदैन, उनीहरूले के गर्ने ? जसको मन दुखे केही हुन सक्ने हो, तिनीहरूको मन दुख्दै दुख्दैन ।

उनीहरूको राजनीति, सुतीखेती र व्यापार झन् सप्रेको छ । रेमिट्यान्स भित्रिएको छ । जसरी बाहिरिनेको संख्याले कीर्तिमान बनाएको छ त्यसरी नै देशले पाएको रेमिट्यान्स, वैदेशिक मुद्राको सञ्चिती र शोधनान्तर बचत पनि उकालो लागेको छ ।

ढुक्क छन् सत्तामा बस्नेहरू । विदेसिनेको ताँती देखेर उनीहरूको मन रोएको छैन, बरु हाँसेको छ भित्रभित्रै खित्का छोडेर । किनकि, देशभित्र उनीहरू विरुद्ध खनिन सक्ने युवा छैनन् । अर्को एउटा क्रान्ति, विद्रोह र आन्दोलनको राँको बाल्न सक्ने जनशक्ति नै छैन देशमा ।

यति भए देश श्रीलंका भइहाल्दैन । ढुक्क छन् सत्तामा बस्नेहरू । विदेसिनेको ताँती देखेर उनीहरूको मन रोएको छैन, बरु हाँसेको छ भित्रभित्रै खित्का छोडेर । किनकि, देशभित्र उनीहरू विरुद्ध खनिन सक्ने युवा छैनन् । अर्को एउटा क्रान्ति, विद्रोह र आन्दोलनको राँको बाल्न सक्ने जनशक्ति नै छैन देशमा । बिचरा ती,  जसले भोटसमेत हाल्न पाउँदैनन् ।

अर्कोतिर विदेशबाट पैसा आएको कारण सत्ता चलाउन सहज भएको छ । रेमिट्यान्स, वैदेशिक मुद्राको संचिती, शोधान्तर बचत सन्तोषजनक भएको हुँदा देशमा कुनै आर्थिक संकट आउँदैन, ढुक्क हुनुहोस् भन्दै भाषण छाँट्न पाइएको छ । दुवै हातमा लड्डु छ मुठ्ठीभर नेतालाई । उनीहरूको मन किन रुनुपर्‍यो  ? उनीहरूको मन भित्रभित्रै खित्का छोडेर किन नहाँसोस् ।

सत्य यो हो कि, भूमण्डलीकरणको युगमा मान्छे विदेशिनुको कुनै एक मात्र कारण हुँदैन । यो पूरै नकारात्मक प्रवृत्ति र विषय मात्र पनि हैन । यो मान्छेको आधारभूत मानव अधिकार पनि हो, जहाँ आफ्नो सपना, भविष्य र करिअर देख्छ, त्यहाँ जान्छ मान्छे । खासमा यी देशका सीमा पनि तथाकथित राष्ट्रवादीले कोरेका कृत्रिम रेखा नै हुन् । खासमा मान्छेको देश त सिंगो धर्ती, सिंगो पृथ्वी हो ।

तर, जबसम्म राज्यहरू रहन्छन्, त्यसका आफ्नै केही सपना, दायित्व र कर्तव्य पनि हुन्छन् । यतिका धेरै मान्छे देश छोडेर पलायन हुनुको अर्थ राज्य कर्तव्यच्यूत छ भन्ने हो । जुन राज्य कर्तव्यच्यूत छ त्यसले आफ्नो अस्तित्व कसरी र कहिलेसम्म जोगाउन सक्दछ ?

जुन तरिकाले देश छोड्ने र विदेशिनेको ताँती छ, यो कायम रहने हो भने कुनै दिन देशको अस्तित्व नै निरर्थक सावित हुन बेर लाग्दैन ।

के त्यतिखेर पनि यी मुठ्ठीभरको मन रुँदैन ? सोचौं एकपटक जुन देश, राज्य र राष्ट्रमाथि शासन गर्ने हो, त्यसैको अस्तित्वमा संकट सिर्जना गरेर गरिने शासन पनि के शासन ?

यस्तो शासक हुनुले कुनै आत्मगौरव देला कि अपराधबोध ? त्यस्तो शासक हुनु पनि के हुनु जसको आत्मा मर्ने बेलामा पनि आफ्नै देश, जनता, समाज र राष्ट्रप्रति गरेको घात र कर्तव्यहीनताको अपराधबोधले तड्पिरहेको हुन्छ ।


Comment

One thought on “विदेसिनेको ताँतीले किन रुवाउँदैन कसैको मन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप सम्पादकीय

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved