एमाले सुदूरपश्चिममा ओली गुटलाई रावलको तनाव, को होला अध्यक्ष ?

सुदूरपश्चिम प्रदेशमा भने एमालेले उपेक्षा गरेका पूर्वउपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओलीको गुटबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपालभ्युज

एमाले सुदूरपश्चिममा ओली गुटलाई रावलको तनाव, को होला अध्यक्ष ?

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन असोज २१ र २२ गते हुँदैछ । अधिवेशन आउन अझै केही समय बाँकी भए पनि यहाँको भावी नेतृत्वबारे भने चर्चा, परिचर्चा हुन थालिसकेको छ ।

नेतृत्व चयनका लागि लुम्बिनीमा भएको चुनावले अन्य प्रदेशसँगै सुदूरपश्चिममा पनि प्रभाव पारेको छ । र, नेताहरूमा बढ्दो आकांक्षाले नेतृत्व छनोट सर्वसम्मत नहुने पनि निश्चित जस्तै छ ।

पछिल्लो समय एमालेमा प्रदेशैपिच्छे फरक–फरक गुट देखिएका छन् । लुम्बिनीको नेतृत्वका लागि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल गुटबीच चुनाव भयो । कोशी प्रदेशमा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुटबीच टक्कर भइरहेको छ । तर सुदूरपश्चिम प्रदेशमा भने एमालेले उपेक्षा गरेका पूर्वउपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओलीको गुटबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

पार्टीको अघिल्लो महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग चुनाव लडेर पराजित भएका रावलको यो क्षेत्रमा निकै राम्रो प्रभाव छ । अघिल्लो संसदीय चुनावमा टिकटसमेत नदिएर खेदे पनि रावल एमालेमै बसिरहेका छन् । र, यस क्षेत्रमा उनको गुट प्रभावशाली छ ।

यहाँ रावल गुटका दर्बिलो खम्बा हुन्, ओलीसँग चिढिएका स्थायी कमिटी सदस्य कर्ण थापा । रावल–थापा समूहले पार्टीको सुदूरपश्चिम अध्यक्षमा एमाले प्रदेश सचिवालय सदस्य कृष्ण प्रसाद जैशीलाई उठाउने तयारी गरेको छ । अछामका जैशीले सोहीअनुसार आफ्नो तयारी गरिरहेका छन् ।

ओली समूहले भने बाजुराका लालबहादुर थापालाई अघि बढाउने तयारी गरेको छ । त्यस्तै सोही समूहका दामोदर भण्डारी र वचन सिंहको नाम पनि चर्चामा छ । यद्यपि, यहाँ जैशी र थापाबीच नै प्रतिस्पर्धा हुने सम्भावना प्रबल छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved