नेपाली क्रिकेट टोलीको अनुभव : भारतसँग खेल्ने सपना पूरा भयो, धेरै सिक्न पायौं

भीडलाई उछिन्दै केही युवाले आसिफ शेख, करण केसी र गुल्सन झासँग हात मिलाए, सेल्फी खिचे । उक्त क्षणमा खेलाडीको मुहारमा छाएको मन्द मुस्कान अवर्णनीय थियो।

नेपालभ्युज

नेपाली क्रिकेट टोलीको अनुभव : भारतसँग खेल्ने सपना पूरा भयो, धेरै सिक्न पायौं

काठमाडौं। एसिया कपमा सहभागी भएर नेपाल फर्केको राष्ट्रिय क्रिकेट टोलीलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरियो।

टोलीको स्वागतार्थ पुगेका क्रिकेट प्रेमीका कारण विमानस्थलमा भीड भएपछि खेलाडीहरूलाई स्कर्टिङ गर्दै बसपार्कतिर लगियो ।

भीडलाई उछिन्दै केही युवाले आसिफ शेख, करण केसी र गुल्सन झासँग हात मिलाए, सेल्फी खिचे । उक्त क्षणमा खेलाडीको मुहारमा छाएको मन्द मुस्कान अवर्णनीय थियो।

विश्वको उत्कृष्ट क्रिकेट टोलीमा गनिने भारत र पाकिस्तानसँगको प्रतिस्पर्धामा जित हासिल नगरे पनि नेपाली टोलीले फलदायी अनुभव बटुलेर आयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपश्चात् खेलाडीहरूले सञ्चारकर्मीसँग कुरा गर्दै प्रतियोगिताको अनुभव साटे।

रोहितकुमार पौडेलले भने, ‘एकदमै राम्रो अनुभव भयो। भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भयो। कसरी फास्ट बललाई ट्याकल गर्ने। विकेट जाँदा कसरी अवस्था सम्हाल्ने आदि कुराहरू सिक्यौँ।’

टोलीले राम्रो प्रदर्शन गरे पनि मिडल अर्डरमा भने उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेको उनले सुनाए । ‘सबैको मेहेनतले नै पूरा भयो। पारस दाइ शक्ति दाइ, वसन्त दाइहरूले एकदिवसीय मान्यतासम्म पुर्‍याइदिनुभयो। त्यसमा हामीले यहाँसम्मको यात्रा पूरा गर्नुमा पनि उहाँहरूको धेरै योगदान छ। यस सहभागिताले हामीले एउटा विश्वास पाएका छौँ। आशा महसुस भएको छ,’रोहितले भने।

पाकिस्तानसँगको खेललाई सम्झिँदै रोहिले भने ,‘विकेट जाँदै गर्दा बाबर आजमले अवस्थालाई कसरी सम्हाल्छन् भनेर पनि नजिकबाट बुझ्ने अवसर प्राप्त भयो। लक्ष्य पछ्याउँदा पिच फास्ट बलिङलाई सुहाउँदो हुँदा पाकिस्तानको बलिङलाई फाइदा पुगेको थियो।’

भारतसँगको खेलमा वर्षा रोकिएपश्चात् खेललाई २३ ओभरमा सीमित गरिएको थियो। त्यसबेला खेलाडीको अवस्थालाई रोहितले बताए, ‘भारतसँग खेल्दा जित्ने आशा कायम थियो। टी २० मा जे पनि हुन सक्थ्यो। करण दाइले रोहित शर्मालाई आउट गर्छन् कि भन्ने भइरहेकको थियो।’

उनले नेपाली क्रिकेटको विकासका लागि भौतिक पूर्वाधार, खेलाडीमा लगानी, तनावमुक्त भएर खेल्ने वातावरणको आवश्यकता भएको पनि बताए।

भारतविरुद्ध अर्धशतक प्रहार गरेका आसिफले भने, ‘सकारात्मक भएर खेलेको थिएँ। भारत जस्तो राम्रो टोलीसँग खेल्दै गर्दा आत्मविश्वास बलियो बनाउनुपर्ने रहेछ। पिच स्पिनरको लागि त्यति सहज थिएन। कसरी खेललाई ५० ओभरसम्म लग्ने भन्ने मात्र सोचिरहेको थिए। आउँदो ब्याटरको लागि पनि वातावरण सहज बनाउने कुरा सोचिरहेको थिएँ।’

राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक मोन्टी देशाईंले भारतीय क्रिकेट टोलीको ड्रेसिङ रुममा ह्यापी ड्रेसिङ रुमको वितरण गरेका थिए। त्यो अनुभवलाई सम्झिँदै आसिफले भने, ‘नेपालको प्रतिनिधित्व गरेर त्यहाँ पुग्दा गर्व महसुस भयो। त्यहाँ खेलाडीले आफूलाई कसरी तयार गर्छन्। कस्तो माहोल हुन्छ भन्ने पनि देख्न पायौँ। मेडल लगाउने क्रममा विराट कोहलीले पनि खुसी हुँदै एउटा मेडल मलाई पनि दिनु मैले पनि क्याच छोडेको थिएँ भन्दै जिस्किए।’

नेपाल क्रिकेट संघ क्यान म्यानेजर प्रदीपले भने, ‘खेलाडीहरूले निकै राम्रो अनुभव बटुले। पीसीबीले पनि सहज वातावरण निर्माण गरे। तयारीको क्रममा राम्रो खेलाडी तथा टोली उपलब्ध गराए। पेस बलरसँग तयारी गर्न दिएर तयारीलाई सहज बनाए।’

पाकिस्तानसँगको खेलपश्चात कप्तान बाबर आजमसँगको अन्तर्क्रियाबारे म्यानेजर प्रदिपले भने, ‘बाबरले फास्ट बल कसरी खेल्ने भनेर टिप्स दिए। छोटो मन्तव्यले पनि खेलाडीहरूले हौसला पाए। भारतसँग खेल्दा नेपाली खेलाडीहरूमा भएको असहजता पनि हटिसकेको थियो। खेलाडीहरूले पनि सिक्ने अवसर पाए।’

भारतीय ड्रेसिङमा पदक वितरणको अनुभूतिबारे उनले भने, ‘पाकिस्तानी कप्तान बाबरसँगको छोटो अन्तर्क्रियाले भारतीय ड्रेसिङ रुममा गएर खेलाडीहरूलाई मेडल वितरण गर्ने प्रस्ताव राख्यौँ। जसलाई उहाँहरूले सहजै स्वीकारेका थिए। भारतीय खेलाडीहरूले आफूलाई कसरी व्यवस्थापन गर्छन् गर्ने पनि देख्यौँ। हामीले पनि कसरी व्यवस्थापन गुर्नुपर्छ भन्ने सिक्यौँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved