युद्ध अभ्यासमा अमेरिकी विमान दुर्घटना : तीन जना जल सैनिकको मृत्यु

नेपालभ्युज

युद्ध अभ्यासमा अमेरिकी विमान दुर्घटना : तीन जना जल सैनिकको मृत्यु

वासिंगटन । संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतवार युद्धअभ्यासका क्रममा अस्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना हुँदा तीन जना जल सेनाका अधिकारीको मृत्यु भएको छ भने पाँच जनालाई गम्भीर अवस्थामा उद्धार गरी डार्विन अस्पतालमा भर्ना गरिएको छ ।

अमेरिकी सैन्य अधिकारीहरूका अनुसार विमानमा २३ जना सैन्य कर्मचारी थिए । अस्ट्रेलियाली प्रहरी दुर्घटनास्थलमा चालक दलका सदस्य तथा बाँकी घाइतेको उद्धारमा सक्रिय रहेको जनाइएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

संयुक्त युद्धअभ्यासमा अमेरिका, अस्ट्रेलिया इन्डोनेसिया र फिलिपिन्सका हजारौं सैनिकले भाग लिएका छन् । उत्तरी अस्ट्रेलिया पछिल्ला वर्षमा अमेरिकी सेनाका लागि महत्वपूर्ण रणनीतिक स्थान बनेको छ । एसिया–प्रशान्त क्षेत्रमा चीनको सामना गर्न अमेरिकाले उक्त स्थान सैन्य अभ्यासलाई प्राथमिकता दिएको हो ।

ओस्प्रे विमानको इतिहास त्यति सुखद छैन । यो विमान समस्याग्रस्त रहेको उड्डयन क्षेत्रका जानकारहरू बताउँछन् । हेलिकप्टरको टिल्ट–रोटर र विमानको टर्बोप्रप अर्थात् दुईवटा घुम्ने इन्जिन पनि भएको र विमानका झैं पखेटायुक्त द्रुत गतिमा उड्ने ओस्प्रे गत वर्ष नर्वेमा नेटो प्रशिक्षण अभ्यासका क्रममा दुर्घटना हुँदा जल सेनाका चार जना अमेरिकी अधिकारीले ज्यान गुमाएका थिए ।

सन् २०१७ मा अस्ट्रेलियाको उत्तरी तटीय समुद्रमा अवतरण गर्ने क्रममा तीन जना र एरिजोना राज्यमा अभ्यासको क्रममा ओस्प्रे दुर्घटना हुँदा १९ जना मरिन कर्प्सका अधिकारीको प्राणान्त भएको थियो । ओस्प्रे विमान साधारण हेलिकप्टरभन्दा द्रुत गतिमा उड्न सक्छ भने सोझै विमानस्थलमा नदौडाई सोझै उडाउन र अवतरण गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved