क्वीन्टल सुन समातिएको एक सातापछि मात्रै गोदाममा छापा, बाकस खोलिएको अवस्थामा भेटियो

नेपालभ्युज

क्वीन्टल सुन समातिएको एक सातापछि मात्रै गोदाममा छापा, बाकस खोलिएको अवस्थामा भेटियो

काठमाडौं । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिइसकेपछि झन्डै १०० किलो सुन बरामद भएको एक सातापछि विभिन्न ठाउँमा छापा मार्दा सुन भेटिएन। बुधबार र बिहीबार विभिन्न ठाउँमा छापा मार्दा कतै पनि सुन नभेटिएको हो।

२ साउनमा भेटिएको सुन सामानसहित जोख्दा १ सय ५५ किलो देखिएको छ। सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो। त्यसैले सुन लुकाएको आशङ्कामा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार मात्रै रेडी ट्रेड प्रालिको सोह्रखुट्टेस्थित गोदाममा छापा मार्‍यो।

त्यहाँबाट विगतमा बरामद गरिएको जस्तै कार्टुनमा सामान बरामद भयो। जहाँ ६६ कार्टुन ब्रेक प्याड भेटियो। ब्रेक शु, डिस्क ब्रेकका सामानसँगै सुन नाप्ने मेसिन, हिटर पनि भेटियो। ती बाकसमा सुन राखिएको आशंका भएपछि विभागको कार्यालयमा लगेर हेर्दा केही भेटिएन ।

बिहीबार पनि लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले खानतलासी गर्‍यो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा छापा मारिएको हो। विभागले केही महत्त्वपूर्ण कागजात र सामग्री बरामद हुनसक्ने आशंकामा खानतलासी गरेको स्रोतले बताएको छ । यद्यपि सुन भने भेटिएन ।

बरामद भएका कार्टुनमध्ये एक दर्जनबाहेक सबै खोलेको फेला परेको विभाग स्रोतले जानकारी दिएको छ । विभागले रेडी ट्रेडले सुन भित्र्याउने क्रममा ती सामान ल्याएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएको छ ।

विभाग स्रोतले भन्यो, ‘‘कार्टुनमा रहेको सामानको साइज, प्याकिङ, डिजाइन सबै गत २ गते बरामद गरिएको सुनको ‘ब्रेक शु’जस्तै देखिएको छ। तर सुन भए नभएको बारे भने यकिन भइसकेको छैन ।’’

यद्यपि रेडी ट्रेडको नाममा आएका सामान सबै शंकास्पद देखिएपछि विभागले थप विस्तृत अनुसन्धान गरिरहेको छ।

बुधबार सोह्रखुट्टेमा छापा मार्नुअघि नक्सालमा पनि छापा मारियो। केही भेटिएन तर बाट यस प्रकरणमा संलग्न एक जना पक्राउ परे। सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा नुवाकोटका दिनेश तामाङ पक्राउ परेको महानिर्देशक ढुङ्गानाले बताए। उनीमाथि तस्करलाई गोदाम खोजिदिएको आरोप लागेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गर्दै साउन ३ गते एक क्विन्टल सुन बाहिरिएको थियो। तर, विभागको टोलीले विशेष सूचनाका आधारमा सो सुन बरामद गरेको थियो।

सुन बरामद भएको एक साताभन्दा बढी समयपछि अर्थात् आठ नौ दिनपछि छापा मारिँदा कतै पनि सुन भेटिएको छैन। सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरी भन्सार अधिकृत र एजेन्टहरूसहित १७ जना पक्राउ परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved