इटाली पुगेर प्रधानमन्त्री प्रचण्डले भने- दिवाखाजा कार्यक्रम प्रभावकारी भइरहेको छ

नेपालभ्युज

इटाली पुगेर प्रधानमन्त्री प्रचण्डले भने- दिवाखाजा कार्यक्रम प्रभावकारी भइरहेको छ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालयमा सुचारु दिवा खाजा कार्यक्रम प्रभावकारी ढंगमा सञ्चालन भइरहेको बताएका छन्। इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलन, २०२३ मा प्रधानमन्त्री दाहालले दिवा खाजा कार्यक्रमको प्रभावकारिताबारे जानकारी गराएका हुन्।

प्रधानमन्त्री दाहालले भने,‘नेपालको सन्दर्भमा यो कार्यक्रम सफलतापूर्वक सञ्चालन भइरहेको छ। यसले कृषि, खाना सुरक्षा र सरसफाइलाई उत्कृष्टरूपमा एकीकृत गरेको छ। यसले देशभरिका करिब ३३ लाख बालबालिकालाई फाइदा पुर्‍याइरहेको छ।’

उनले सो कार्यक्रमले विद्यालयमा भर्ना, हाजिरी र सिकेका प्रतिफलहरूमा सकारात्मक असर पुर्‍याएकाले बजेटमा वृद्धि गरेको बताए। ‘विगत पाँच वर्षमा हामीले यस कार्यक्रमका लागि चौगुणा बजेट बढाएका छौँ। जारी आर्थिक वर्षको शिक्षा बजेटमध्ये ६ प्रतिशत यस कार्यक्रमका लागि छुट्याएका छौँ। हामी यस लगानी र स्रोतलाई थप बढाउँदै लाने योजनामा छौँ’, दाहालले थपे।

उनले खाद्य प्रणाली रूपान्तरण रणनीति योजना सन् २०२२ देखि २०३० सम्मको लागि निर्माण गर्दै दीगो विकास लक्ष्यहरू पूरा गर्ने जानकारी गराए। यस्तै, स्थानीय सरकारलाई पनि सो कार्यक्रमलाई सहजरूपमा सञ्चालन गर्न योजना तयार भइरहेको प्रधानमन्त्री दाहालले बताए।

विद्यालयमा खाजाको गुणस्तर, पर्याप्तता, र दीगोपनलाई प्रष्फुटन गर्न नेपालले सन् २०२१ मा सो कार्यक्रमसँग जोडिएको थियो। सोमबारदेखि बुधबारसम्म सञ्चालन हुने कार्यक्रममा भाग लिन प्रधानमन्त्री दाहालसहित कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहाल शनिबार इटाली उडेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved