ब्लग

ज्ञानेन्द्रको अंग्रेजी, रास्वापाको संसद अवरोध र ‘अटेन्सन सिकिङ’

शाही र लामिछानेको सबैभन्दा मिल्ने स्वभाव भनेको ‘अटेन्सन सिकिङ’ नै हो । उनीहरूलाई के गर्दा धेरैभन्दा धेरै मान्छेको ध्यान तानिन्छ भन्ने थाहा छ । किनकि, उनीहरु मान्छेको ध्यान खिच्ने कला प्रस्तुत गरेरै राजनीतिमा मौलाएका हुन् ।

ज्ञानेन्द्रको अंग्रेजी, रास्वापाको संसद अवरोध र ‘अटेन्सन सिकिङ’

अलिअघि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अस्ट्रेलियाको एक कार्यक्रममा ‘विदेशीसँग नेपाली’मा बोले । कार्यक्रममा सहभागी एकजना दोभाषेले विदेशी र शाहीबीचको कुराकानीलाई सहजीकरण गरिदिए । आफ्ठ्यारो–अफ्ठ्यारोमै उनीहरूबीच छोटो कुराकानी भयो । कुराकानीको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो । र, भाइरल भयो ।

त्यसपछि अनेकखाले मान्छेले अनेकथरी तर्क-वितर्क, कुतर्क र टिप्पणी गरे । कोहीले भने— सीए पढेको भनेर धाक लगाउने ज्ञानेन्द्र शाहीलाई अंग्रेजी बोल्न पनि नआउने रै’छ । शाहीका समर्थकले भने— नजानेर कहाँ हो र ? राष्ट्रियताको रक्षा गर्न उनले विदेशीसँग पनि नेपालीमै बोलेका हुन् ।

यी दुईखाले तर्कको पक्ष र विपक्षमा मान्छेहरू कित्ताकाट भए । शाहीको अंग्रेजीले सामाजिक सञ्जाल तात्यो, बजार पिट्यो । चर्चा चुलिएपछि ‘अटेन्सन सिकर’ शाहीले एउटा युट्यूब च्यानलमा अन्तर्वार्ता दिए । जहाँ उनले अंग्रेजी जानेको पुष्टि गर्न ‘जेपिटी पारा’मा बोले । ओभर एक्सप्रेसनमा अशुद्ध उच्चारण गर्दै कनिकुथी बोलेको उनको शैलीले अंग्रेजी भाषाकै अपमान भयो । तै पनि उनी रोकिएनन्, बोलिरहे ।

त्यसपछि उनको पक्षमा तर्क गर्नेले भने– सुन्नुभयो त शाहीको अंग्रेजी कति खतरनाक ? उनको विपक्षमा बोल्नेले भने– शाहीले अंग्रेजीकै हुर्मत लिए ।

त्यसपछि थप केही दिन शाही सामाजिक सञ्जालमा छाइरहे । उनलाई अहिले पनि थाहा छैन होला कि, मान्छेहरूले आफूलाई मजाक बनाइरहेका छन् । उनी आफू चर्चित भएकैमा मख्ख होलान् । किनकि, उनी राजनीतिमा छिरेका र जमेका नै यस्तै सामाजिक सञ्जालका सस्ता हल्ला र चर्चाले हो ।

एक हिसाबमा शाही ‘अटेन्सन शिकर’ हुन् । जे गरेर भएपनि दुनियाँको ध्यान आफूतिर खिच्न तयार हुने शाहीको ‘अंग्रेजी पारा’ त उदाहरण मात्रै हो, उनका यस्ता काण्ड त कति छन् कति ! तर यहाँ अहिले उनको चर्चा भएको प्रसंग बेग्लै हो ।

दुई प्रसंगलाई जोड्नुपूर्व अर्को एउटा चर्चा गरौं–

केही समयअघि प्रधानमन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्‍यो । एमालेलाई रास्वपा, राप्रपालगायत दलले साथ दिए । पछि एमाले, कांग्रेस र माओवादीका शीर्ष नेता बसेर ‘संसद अवरुद्ध नगर्ने, प्रधानमन्त्री प्रचण्डले गल्ती स्वीकार्ने’ सहमति गरे । त्यसपछि चिढिए– चौथो ठूलो दल रास्वपाका सभापति रवि लामिछाने ।

लामिछानेलाई लाग्यो— तीन दल मिलेर हामीलाई हेपे । उनले आफू हेपिएको कुरा संसदमै उठाए । भने– हामी कसैको पछि लाग्दैनौं, यो संसद तीन दलको मात्रै होइन । हामी ‘सग्लो प्रतिपक्षी’ हौं ।

संसद खुल्नुसँग मिटरब्याजसम्बन्धी विधेयक पनि जोडिएको थियो । प्रतिपक्षीले उक्त विधेयक रोक्न संसद अवरुद्ध गरेको आरोप लागेको थियो । प्रतिपक्षीले आफू विधेयकको पक्षमै भएको देखाउन पनि धेरै प्रयास गर्नुपरेको थियो । यसबीच आइतबार संसदमा उक्त विधेयक पारित गर्ने कार्यसूची थियो ।

मिटरब्याजसम्बन्धी विषयसहित समावेश भएको ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ निर्णयार्थ प्रस्तुत गर्दा प्रक्रिया नमिलेको भन्दै रास्वपाले संसदमा अवरोध गर्‍यो । रास्वपालाई राप्रपाले साथ दियो । सभामुखले सम्झाउन खोजे, सांसदहरूले सम्झिएनन् । सत्तापक्षका नेताले सम्झाउन खोजे, उनीहरूले कुरै सुन्न चाहेनन् ।

आक्रोशित रास्वपा र राप्रपाका सांसद रोष्ट्रम घेर्न गए । सभामुखले १५ मिनेटका लागि बैठक स्थागित गरे । पछि उनीहरूले विरोध गर्नुको तुक रहेनछ भन्ने पत्तो पाए । दोस्रो बैठकमा चुपचाप बसेर विधेयक पारित गर्न ताली बजाए ।

यसले के बुझाउँछ भने रास्वापाले हामी एमालेबिनै पनि संसद अवरुद्ध गर्न सक्छौं भन्ने पार्न कुरै नबुझी बखेडा झिकेका रहेछन् । उक्त विधेयकका केही बुँदामा चित्त नबुझे मत विभाजनमा जान पाउने स्थिति पनि थियो । तर रास्वपाले त्यो भेउ नै पाएन ।

मतविभाजन हुने प्रक्रिया पार गरेर अघि बढिसकेपछि रास्वपाले अनावश्यक लफडा झिकेको रहेछ । जुन कुरा बुझेपछि दोस्रो बैठक स्वभाविक ढंगमा चल्यो र विधेयक पारित भयो ।

राप्रपा नेता शाहीले जसरी अंग्रेजी जानेको पुष्टि गर्न नमिल्ने गरी अंग्रेजी बोलेर आफ्नै ‘मजाक उडाए’, त्यसैगरी रास्वपाले पनि ‘एमालेको टेकोबिनै उभिन सक्छौं’ भन्ने पार्न गर्नै नपर्ने ठाउँमा संसद अवरुद्ध गर्‍यो ।

हुन त शाही र रास्वपाबीच एउटा ठूलो अन्तर छ । कम्तिमा शाहीसँग एउटा एजेण्डा छ– मृत भइसकेको राजतन्त्रलाई बौराउने । तर रास्वपासँग त त्यही पनि छैन । ‘जता मान्छेको भीड बढ्छ, त्यहीँ नै आफ्नो धार’ भनेर अघि बढेको रास्वपालाई संसदमा आइतबार भएको घटनाले राजनीतिकरूपमा घाटा पारेको छ । तर, त्यहीँ घटनालाई पनि रास्वपा सभापति रवि लामिछानेले भाषा मिलाएर भनेपछि भक्तले ताली त बजाउने नै छन् ।

शाही र लामिछानेको सबैभन्दा मिल्ने स्वभाव भनेको ‘अटेन्सन सिकिङ’ नै हो । उनीहरूलाई के गर्दा धेरैभन्दा धेरै मान्छेको ध्यान तानिन्छ भन्ने थाहा छ । किनकि, उनीहरू मान्छेको ध्यान खिच्ने कला प्रस्तुत गरेरै राजनीतिमा मौलाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved