मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

नेपालभ्युज

मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

काठमाडौं ।  मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । आइतबार बसेको  प्रतिनिधिसभा बैठकबाट  मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’, भनी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाएका  थिए । प्रतिनिधिसभाको अर्काे बैठक आगामी साउन १० गते दिउँसो १ बजे बस्नेछ । मिटरब्याजीबाट पीडित बन्नेहरूको सङ्ख्या बढ्दै गई मिटरब्याजले समस्या सिर्जना गरेकोले सरकारले कानुन बनाउने प्रक्रिया स्वरूप मुलुकी संहितामा संशोधन गर्ने गृहकार्य थालेको थियो ।

अनुचित आर्थिक लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र घरसारमा हुने लेनदेन सम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ सरकारले गत वैशाख २० गते अध्यादेश ल्याएको थियो ।

यो विधेयक पारित भएसँगै मिटरब्याज कानुनी प्रक्रियाभित्र आएको छ । राष्ट्रियसभाबाट पारित भइसकेको यो विधेयक अब पुनः राष्ट्रिय सभामा जानेछ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved