सुरक्षा कारबाहीमा १४ जनाको मृत्यु

नेपालभ्युज

सुरक्षा कारबाहीमा १४ जनाको मृत्यु

इस्लामावाद। पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको ग्यारिसन क्षेत्रमा बुधबार सेना र आतङ्ककारीबीच भएको भिडन्तमा १४ जना मारिएका छन् ।

प्रान्तको झोब ग्यारिसनमा विभिन्न घातक हतियार बोकेका आतङ्ककारीको एक समूहले बुधबार बिहान लुकेर आक्रमण गर्दा ९ सैनिक जवानले वीरगति प्राप्त गरेका सेनाको आन्तरिक सञ्चार तथा जनसम्पर्क कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सेनाले गरेको कारबाहीमा पाँच जना आतङ्ककारी पनि मारिएका छन् ।

पाकिस्तानी सेनाले सुरक्षा बल बलुचिस्तानसहित पाकिस्तानको शान्ति सुव्यवस्थामा खलल पार्ने शत्रुका सबै घृणित प्रयासलाई विफल पार्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

जातीय द्वन्द्वमा तेह्र जना मारिए

यसैबीच, पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा दुई जनजातिबीच जारी झडपमा परी मृत्यु हुनेको सङ्या १३ पुगेको छ । बुधबार थप दुई जनाको मृत्यु भएको हो । हालसम्म ७४ जना घाइते भएका छन् । कुर्रममा लगातार छैटौँ दिन पनि जारी झडपमा थप पाँच जना घाइते भएका दैनिक समाचारपत्र डनलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

जिल्लाको बोसेहरा डाँडर क्षेत्रमा गत साता झडप सुरु भएको हो । जातीय द्वन्द्व अहिले खार कल्ले, बलेशखेल, पेवार, गिदु, तेरी मेङ्गल, कर्मान पारा चम्कनी, मकबल, कुञ्ज अलिजाईलगायत जिल्लाका अन्य भागमा फैलिएको छ ।

हिंसात्मक झडपका कारण सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रका जनताले खाद्यान्न, औषधि र इन्धनको अभाव भोग्नुपरेको छ । शैक्षिक संस्था बन्द हुँदा जनजीवन प्रभावित भएको छ । कुर्रमका सहायतक कमिश्नर सैयद सैफुल इस्लाम शाहले जनजातिका अग्रजहरूसँग शान्ति बहाली तथा झडप रोक्ने सम्बन्धमा सहकार्यको प्रयास भइरहेको बताएका छन् ।–रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved