सांसदले मागे महिलाबीच मात्रै प्रतिस्पर्धा हुनेगरी निर्वाचन क्षेत्र

‘समानुपातिक निर्वाचन प्रणालीले प्रतिस्पर्धा गर्नसक्ने क्षमता घटायो’

नेपालभ्युज

सांसदले मागे महिलाबीच मात्रै प्रतिस्पर्धा हुनेगरी निर्वाचन क्षेत्र

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले महिला-महिलाबीच प्रतिस्पर्धा हुनेगरी निर्वाचन क्षेत्र निर्धारण गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद सरस्वती बजिमय, नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजाललगायतले महिला, दलित, जनजाति, खस–आर्य सबैलाई जनसंख्याको आधारमा प्रतिनिधित्व हुनेगरी निर्वाचन क्षेत्र निर्धारणका लागि कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

एमालेका सांसद रिजालले समानुपातिक निर्वाचन प्रणालीनै खारेज गर्नुपर्ने प्रस्ताव समेत गरे । समानुपातिक निर्वाचन प्रणालीले महिला, दलित, जनजातिलगायतको प्रतिस्पर्धा गर्ने क्षमतामा ह्रास ल्याएको उनको तर्क छ । उनले महिलालाई पनि समानुपातिकमा राख्नुभन्दा महिला–महिलाको प्रतिस्पर्धाबाट प्रत्यक्ष निर्वाचित गनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसकी सांसद सरस्वती बजिमयले स्थानीय तहदेखि नै महिलाहरुलाई जनसंख्याको आधारमा निर्वाचित हुने व्यवस्था गर्न महिला–महिलाहरुबीच नै प्रतिस्पर्धा हुने गरी निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताइन् । स्थानीय तहदेखि नै महिला–महिलाको प्रतिस्पर्धाबाट प्रतिनिधि चुनिनुपर्ने उनको भनाइ छ ।

अर्की सांसद शोभा ज्ञवालीले पनि विद्यमान निर्वाचन प्रणालीले महिलाहरुको प्रतिनिधित्व घटाउने खतरा बढ्दै गएको उल्लेख गर्दै यसतर्फ सम्बन्धित पक्ष सचेत हुनुपर्ने बताइन् । उनले वडा तहमा महिलाहरुबीचनै प्रतिस्पर्धा गराउन सकिएमात्रै महिला जनप्रतिनिधिहरुको सहभागितामा वृद्धि हुने पनि स्पष्ट पारिन् ।

बैठकमा पूर्वसांसद विन्दा पाण्डेले भने महिलाहरुले पनि पुरुषसरह निर्वाचनमा प्रतिस्पर्धा गर्नसक्ने क्षमता विकास गरिसकेको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved