गृहमन्त्री भन्छन्: ललितानिवास प्रकरणका कसैलाई पनि छाडिँदैन

नेपालभ्युज

गृहमन्त्री भन्छन्: ललितानिवास प्रकरणका कसैलाई पनि छाडिँदैन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्याय सरकारको प्रमुख कार्यभार रहेको भन्दै ललितानिवास प्रकरणमा संलग्न कसैलाई नछाडिने बताएका छन् ।

ललितपुरको हात्तीवनस्थित निजी निवासमा पत्रकारसँगको अनौपचारिक कुराकानीमा उनले सुशासनको अभियानलाई अझै सशक्त ढंगमा अघि बढाउने बताएका हुन् ।

‘हामीले प्रस्ट निर्देशन दिएका छौँ, कुनै राजनीतिक दबाब र प्रभावमा नपर्नु, राजनीतिक ‘कनेक्सन’का आधारमा के गर्ने भनेर नसोच्नू’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘कुनै प्रकारको चलखेलले भूमिका खेल्न नपाओस्, स्वतन्त्र स्वच्छ अनुसन्धान गर्नुस्, जो दोषी छ, दोषीलाई कानुनको दायरामा ल्याउनका लागि निर्भिकताका साथ अगाडि बढ्नूस् भन्ने प्रहरीलाई निर्देशन छ ।’

समृद्धिको यात्राको मात्रात्मक गतिलाई परिवर्तन गरेर गुणात्मक फड्कोमा पु¥याउनुपर्ने अवस्था रहेको भन्दै उनले राजनीतिक परिवर्तनले निर्देश गरेअनुसारको सामाजिक आर्थिक रुपान्तरण हुनुपर्ने बताए । ‘हाम्रो समृद्धिको यात्राले गति प्राप्त गर्न सकेको छैन, सन्तुष्ट हुने ठाउँमा छैनौँ’, उनले भने, ‘समृद्धिको यात्रालाई तीव्र बनाएर जनआकाङ्क्षा पूरा गर्नु सरकारको पहिलो कार्यभार हो ।’

सरकारले सुशासनलाई पहिलो शर्त मानेर आफ्नो ध्यान केन्द्रित गरेको उनको भनाइ छ । भ्रष्टाचार र कमिसनले देश धेरै जर्जर भएको उल्लेख गर्दै उनले भ्रष्टाचारको प्रभावकारी ढङ्गले नियन्त्रण गर्ने नसके परिवर्तन पछाडि पनि देश जुन हालतमा छ, त्यस्तै भइरहने खतरा रहेको बताए ।

उनले नक्कली भूटानी शरणार्थी बनाएर राज्यलाई नै अपमानित गर्ने राज्यकै मुख्य ठाउँमा बसेर जुन घटना भयो त्यो लज्जास्पद भएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved