नेपाल टुरिजम प्रोमोशन टुरः ताप्लेजुङ–दार्चुला टिमलाई प्रमाणपत्र वितरण

नेपालभ्युज

नेपाल टुरिजम प्रोमोशन टुरः ताप्लेजुङ–दार्चुला टिमलाई प्रमाणपत्र वितरण

काठमाडौं। ऐतिहासिक नेपाल टुरिजम प्रोमोशन टुरः ताप्लेजुङ–दार्चुला टिमलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको छ।

टुरको संयोजन गरेको एनटीपी मल्टिमिडिया ग्रुपले बिहीबार नेपाल टुरिजम बोर्डको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा प्रमाणपत्र वितरण गरिएको हो।

नेपाल पर्यटन बोर्डका प्रमुख अधिकृत डा. धनञ्जय रेग्मी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सरोज पोख्रेल, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा)का निवर्तमान अध्यक्ष अच्युत गुरागाईँ, नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुनिल शर्मा र टुरका संयोजक विष्णु विवेक विश्वकर्माले संयुक्त रूपमा प्रमाणपत्र हस्तान्तरण गरे।

पत्रकार र कलाकार सम्मिलित एक टोलीले गएको जेठ १० देखि ३२ गतेसम्म (२३ दिन लामो) ऐतिहासिक मोटरसाइकल यात्रा गरेको थियो। पर्यटन प्रवर्द्धन, दिगो पर्यटन र पर्यटनमा जलवायु परिवर्तनको असरको अध्ययन गर्ने उद्देश्यले मोटरसाइकल यात्रा गरिएको हो।

जेठ १० गते काठमाडौंबाट यात्रा सुरु गरेको टोली मध्य पहाडी लोकमार्ग हुँदै सुदूरपूर्वको ताप्लेजुङ पुगेर इलाम, झापा झरेर पूर्वपश्चिम राजमार्ग हुँदै कञ्चनपुर पुगेको थियो। कैलाली, डडेल्धुरा, डोटी, बैतडीहुँदै सुदूरपश्चिमको दार्चुला पुगेको थियो।

टोली कपिलवस्तु, पाल्पा, स्याङ्जा, कास्की, तनहुँ, धादिङहुँदै काठमाडौं फर्किएको थियो। करिब चार हजार किलोमिटर, ४५ जिल्ला पार गर्दै ऐतिहासिक यात्रा सम्पन्न गरेको थियो।

पत्रकार र कलाकार सम्मिलित टोलीले गरेको पहिलो ऐतिहासिक टुर हो। टुरमा विष्णु विवेक विश्वकर्मा, चन्द्र तामाङ, राजाराम पौडेल –रियाज, पवित्रा खड्का, चन्द्रकला कार्की, रितास्मा सुनुवार थिए।

कार्यक्रममा पर्यटन बोर्डका सीईओ रेग्मीले यस टुरले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। युवा पत्रकार र कलाकारहरुद्वारा गरिएको यात्राले आफू निकै उत्साहित भएको उनले बताए।

पर्यटन मन्त्रालयका उपसचिव सरोज पोख्रेलले पर्यटनको विकास गर्न विभिन्न निकायहरूबीच समन्वय हुन जरुरी रहेको तर पर्याप्त समन्वय गर्न नसकेको बताए ।

नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईँले नेपालको पर्यटन विकासमा पर्यटन व्यवसायीहरूको छाता सङ्गठनहरूले काम गर्न नसकेको बताए।

पर्यटन बोर्डका सिनियर म्यानेजर सुनिल शर्माले पर्यटन बोर्डले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन नयाँ प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved