पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल गर्छु : प्रधानमन्त्री

नेपालभ्युज

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल गर्छु : प्रधानमन्त्री
  फाइल तस्विर

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि विशेष पहल गर्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटमा उनले आँफू छिट्टै चीन भ्रमणमा जाने र त्यहाँका उच्चअधिकारीलाई पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानबारे ‘ब्रेक थ्रु’ नै हुनेवाला रहेको बताए।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानबारे भारतसँग पनि कुरा भएको र कोरला नाका सञ्चालनबारे सहमति जुटिसकेको र अब नेपाली भूमिमा पनि भौतिक निर्माणलगायतका काम हुने उनले जानकारी दिए। भेटघाटमा नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सुस्ताएको बजारलाई माथि उकास्न विशेषखालका कार्यक्रम ल्याउन प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

बजारमा भारतीय रुपैयाँको विनिमय दर घटेको बताउँदै उनले यो समस्या लामो समय रहे मुद्रास्फिति अझ बढ्नसक्नेबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दीगो सञ्चालनको लागि नेपालको पूर्वतिर भएका हवाइ रुट प्रयोगमा ल्याउनुपर्ने र श्रीलङ्का एवं भारतका विभिन्न सहरमा उडान थाल्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान, उत्तरगङ्गा जलविद्युत् परियोजना निर्माण, प्रशारण लाइनको उचित व्यवस्थापनलगायतका माग गरे। मित्रराष्ट्र चीनको राजकीय भ्रमणको क्रममा एयरपोर्टको विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दै उनले उद्योगी व्यवसायीको मनोबल उकास्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

पृथ्वी राजमार्गको स्तरोन्नतिको गति बढाउने, कोरला–त्रिवेणी राजमार्ग निर्माणमा आएका अवरोध हटाउन र मध्यपहाडी राजमार्ग निर्माणलाई गति दिन पनि उनले माग गरे । हरेक प्रदेशमा सो क्षेत्रका मौलिक उत्पादनको प्रवर्द्धनको लागि कोसेली घर निर्माण हुनुपर्ने धारणा राख्दै उनले पोखरा उद्योग वाणिज्य सङ्घले कोसेली घर निर्माणको सोच बनाएको जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved