नेपाललाई प्याजमा आत्मनिर्भर बनाउन भ्याटको व्यवस्था गरिएको हो : अर्थमन्त्री महत

नेपालभ्युज

नेपाललाई प्याजमा आत्मनिर्भर बनाउन भ्याटको व्यवस्था गरिएको हो : अर्थमन्त्री महत

काठमाडौं ।  अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रश्ताव माथिको छलफलमा सांसदहरुले प्रश्न उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले आलुमा मुलुक आत्मनिर्भरता तर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनको लागि मूल्य अभिवृद्धिकर भ्याटको व्यवस्था गरिएको बताए ।

उनले मुलुकभित्र आलु प्याज उत्पादन गर्ने उत्पादकहरु साना–साना रहेको भन्दै व्यवसायीक रुपमा एउटैले उत्पादन गर्न नसक्ने अवस्था रहेको बताए। उनले आन्तरिक उत्पादनको सप्लार्यसहरु पनि साना रहेकाले उनीहरु भ्याटको दायरामा आउनसक्ने बताए । अर्थमन्त्री महतले कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरुको समूह रहेको बताए ।

उनले गोल्भेडा नेपालमा उत्पादन हुँदा हुँदै पनि उपभोक्ताले कम पाइरहेको अवस्थामा उत्पादकहरुले सडकमा फालिरहेको बताए। उनले कालिमाटीमा विचौलियाको कारण मुलुकभित्रको उत्पादनले प्रवेश नपाउने तर बाहिरबाट आएकाले सर्सर्ति प्रवेश पाउने अवस्था रहेको बताए । उनले मुलुकभित्रका साना–साना उत्पादन गर्नेहरुलाई यो भ्याट नलाग्ने बताए।

उनले विदेशको सामान आयात गरेर सामान खरिद गरेमा भ्याट लाग्ने बताए । उनले आलु प्याजमा लगाएको भ्याटले नेपाली उत्पादकहरुलाई हौसला दिने दाबी गरे। ‘मुलुक आलुमा आत्मनिर्भरता तर्फ अघि बढ्दै गएको छ । प्याजमा पनि आत्मनिर्भर तर्फ जानैपर्छ । त्यसो हुनाले हामीले मूल्य अभिवृद्धिकर भ्याटमार्फत आलु प्याजलाई आत्मानिर्भरता लैजान खोजेको हो’ उनले भने, ‘एकतिरबाट अनुदान सहुलियत अर्को तर्फबाट भन्सारमा भ्याट लगाउँछौं । प्रश्न उठेको छ । आन्तरिक उत्पादनमा पनि लाग्ने भयो नी ? सरकारको अहिले पनि उत्पादकहरु साना–साना छन् । व्यवसायीक रुपमा एउटैले उत्पादन गर्दैन । सप्लार्यस पनि साना–साना छन् ।’

‘धादिङ,काभ्रे,नुवाकोटको उत्पादन काठमाडौंमा खपत हुन्छ । उनीहरु भ्याटको परिधि भित्र आउँदैनन् । कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरुको समूह छ । उनीहरुले गोल्भेडा नेपालमा उत्पादन हुँदा हुँदै पनि उपभोक्ताले कम पाइरहेको छ । उत्पादकहरुले सडकमा फालिरहेका छन् । त्यहाँ याक्सेसमा समस्या छ  उनीहरुको बलियो नेटवर्क छ’, उनले भने, ‘त्यसले गर्दा मुलुकभित्रको उत्पादनले प्रवेश पाउँदैन । बाहिरबाट आएको सरसर्ति प्रवेश गर्छ । मुलुकभित्र नै साना–साना उत्पादन गर्नेहरुलाई यो भ्याट लाग्दैन । विदेशको सामान आयात गरेर सामान खरिद गर्छ भने भ्याट लाग्छ । डिपार्टमेन्ट स्टोरमा जसले किन्छ । डिपार्टमेन्ट स्टोरमा किन्नेहरुले नेपाली उत्पादन किन्ने भने पनि भ्याट लाग्छ ।’

‘डिपार्टमेन्ट स्टोरमा जाने अलि हैसियत भएको मानिस नै जान्छ । साना–साना पसलहरुमा कुनै भ्याटको व्यवस्था छैन । भ्याटको परिधिमा पर्ने डिपार्टमेन्ट स्टोर बाहेक अन्य कुनैमा लाग्दैन । यो भ्याटले नेपाली उत्पादकहरुलाई हैसला दिन्छ । यो व्यवस्थाले आम उपभोक्तालाई समस्या पर्दैन’, उनले भने ।

अर्थमन्त्री महतले सुर्तिजन्य वस्तुमा विगतको करलाई नहटाएको भन्दै त्यसैमा ३ प्रतिशत कर थप गरेको बताए। उनले सुर्तिजन्य वस्तु मुलुकभित्र प्रतिबन्द गर्ने भएपनि सबै राजनीतिक दलहरुले सहमति गरे सरकार तयार रहेको बताए। उनले सरकारलाई सुर्तिजन्य वस्तु प्रतिवन्ध गर्न समस्या नभएको बताए। उनले नेपालको सुर्तिजन्य वस्तुमा एसिया मात्रै नभएर विश्वमा नै बढी रहेको जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved