मुस्लिम समुदायका बालबालिकामा संस्कृत मोह

नेपालभ्युज

 मुस्लिम समुदायका बालबालिकामा संस्कृत मोह

मोरङ। फरक संस्कृति र परम्परा भए पनि मुस्लिम समुदायका बालबालिकामा संस्कृतमा मोह बढेको छ । विराटनगर–७ स्थित गायत्री संस्कृत माविमा चार सय विद्यार्थी अध्ययनरत छन् । संस्कृत विषयको भाषा, साहित्य र योगशास्त्र अध्ययन अध्यापन हुने मोरङको यो पहिलो विद्यालयमा ४० मुस्लिम समुदायका बालबालिका विभिन्न कक्षामा अध्ययनरत छन् ।

ती बालबालिका इस्लाम धर्मावलम्बी भए पनि हिन्दू धर्मको संस्कृति र परम्पराबारे जान्ने भएका छन् । स्वस्तिवाचनदेखि संस्कृतका विभिन्न मन्त्र जप्न र गायत्री मन्त्र पढ्न बालबालिका पोख्त छन् उनीहरू सजिलै संस्कृत भाषा बोल्ने गर्छन् । विराटनगर–७ हरियाली टोलका सलमान शेख सोही विद्यालयमा कक्षा ८ मा अध्ययन गर्छन् । उनलाई ठूलो भएपछि आचार्य बन्ने रहर छ । संस्कृत भाषाप्रति अत्यन्तै लगाव भएको शेख बताउँछन् ।

उनी भन्छन्, “संस्कृत सबै भाषाको जननी हो । मलाई संस्कृत भाषा सबैभन्दा सजिलो लाग्छ । संस्कृतले नैतिकता र शुद्ध आचरण सिकाउने गरेको छ ।” उनले घरमा आफ्ना बाबुआमालाई विद्यालयमा पढेको र सिकेको संस्कृत भाषा, व्याकरण र मन्त्रोच्चारण सुनाउने गरेको बताए ।

आफरोज शेखले छोरा सलमानमा सानैदेखि आध्यात्मिक प्रवृत्तिको रहेको बताए । उनले आफू सबै धर्मको समान सम्मान गर्ने व्यक्ति भएकाले छोरा सलमानलाई संस्कृत विद्यालयमै भर्ना गराएको बताए । संस्कृतको जग छोराछोरीमा बसाल्न सकियो भने जस्तोसुकै दुःख र परिस्थितिको सामना गर्न सक्षम हुने बुबा अफरोजको ठम्याइ थियो ।

कक्षा ४ मा अध्ययनरत सुहाना खातुनले संस्कृतले विद्यार्थीलाई अनुशासित बनाउने बताइन् । कक्षा ४ मै अध्ययनरत अतिसा खातुनले पनि फरक धर्म मान्ने भए पनि संस्कृत अध्ययन गर्दा आफ्नै समुदाय र समाजले पनि प्रोत्साहन नै गरेको उल्लेख गरिन्। ठूलो भएपछि नर्स बन्ने चाहना बोकेकी अतिसाले संस्कृत जान्ने व्यक्तिलाई कुनै पनि विषय गाह्रो नाग्ने जानकारी दिइन् ।

प्राचार्य चुडामणि नेपालले विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत रहेको बताए । उनले विद्यालयमा ४० मुस्लिम समुदाय र ३० दलित समुदायका विद्यार्थीले पनि संस्कृत भाषा अध्ययन गरिरहेको उल्लेख गरे । प्राचार्य नेपालले मुस्लिम र दलित समुदायका बालबालिकाको पछिल्लो समय संस्कृत भाषाप्रतिको रुचिमा असाध्यै वृद्धि भएको छ भने ।

दलित समुदायकी बालिका कुमकुम मरिकले सानैदेखि छिमेकी घरको हजुरआमाले संस्कृतमा रामायण र महाभारत पाठ गरेको देखेर आफूमा पनि संस्कृत पढ्ने मोह बढेको बताइन् । उनले विद्यालयमा संस्कृत भाषा र साहित्यका साथै विभिन्न कर्मकाण्डीका मन्त्र पनि पढाइने हुँदा संस्कृत रोचक लाग्ने गरेको चर्चा गरिन् । ठूलो भएपछि डाक्टर बन्ने र देश सेवा गर्ने मरिकको लक्ष्य छ ।

फरक–फरक धर्म र संस्कृति मान्ने समुदायका बालबालिकाले संस्कृत पढ्ने चाहनाले मुलुकमा धार्मिक सौहाद्र्रताको उदाहरण पेस गरेको विद्यालयका संस्कृत शिक्षक बलराम कोइरालाले बताए ।रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved