विषयगत समितिहरुमा अविलम्व सभापति चयन गर्न सांसदहरुको माग

नेपालभ्युज

विषयगत समितिहरुमा अविलम्व  सभापति चयन गर्न सांसदहरुको माग

काठमाडौं ।  सांसदहरुले अविलम्व समिति सभापति चयन गर्न माग गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरुमा हालसम्म सभापतिको चयन हुन सकेको छैन । हाल समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरिरहेका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसदहरुले निर्वाचित समिति सभापति नहुँदा समितिका काम कारबाहीहरुमा अपठ्यनरो  परेको भन्दै छिटोभन्दा छिटो समिति सभापतिको चयन गर्न माग गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले समिति सभापति चयन नगर्दा समिति र संसदले तिब्र गतिले काम गर्न नसकेको बताए । उनले गठबन्धनका नेताहरुले भागबण्डा गर्न ढिलाइ गर्नु नहुने र समिति सभापति चयन हुनुपर्नेमा जोड दिए ।

‘संसदले जसरी तिब्र गतीमा काम गर्न सक्नुपथ्र्यो, काम गर्न नसक्नुको महत्वपूर्ण पार्ट भनेको समितिहरुको सभापति तिब्र गतिमा निर्वाचित नहुनु हो। राजनीतिक दलहरुको काम गर्ने तरिका ढिलासुस्ती छ । त्यही भएर त हामी आलोचना खेपीराखेका छौँ’ उनले भने, ‘समितिका सभापति क–कसलाई कुन भागमा पर्ने हो तुरुन्त बाँडेर तुरुन्त समितिलाई सक्रिय बनाउनुपथ्र्यो किन ढिलाइ गरेको होला ?  गठबन्धनका नेताहरुले तुरुन्तै बसेर समितिको कार्याविभाजन गर्ने कसलाई कुन समिति पर्ने हो ? त्यस अनुसार समितिको सभापति टुंग्याउनुपर्छ अहिले तारिख धान्ने जस्तो प्रकृतिको बैठक छ ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले समिति सभापति नहुँदा समितिको काममा प्रभाव परेको बताए । उनले कतिपय विषय सभापति आएपछि गर्ने भनेर पनि राखिएको बताए । उनले बजेट पास भएपछि समिति सभापति चयन हुने बताए।

नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले यतिका दिनसम्म समिति सभापति चयन हुन नसक्नु अनुत्तरदायी र गैरजिम्मेवारीको पराकाष्ठा भएको बताए । उनले सत्तापक्षको कारण सभापति चयन हुन नसकेको उल्लेख गर्दै सत्तापक्षलाई गम्भिर बन्न आग्रह गरे ।

‘छिटोभन्दा छिटो समिति सभापति चयन गर्नुपर्‍यो, सभापति नभएका कारणले बैठकहरु नियमित हुन सकिराखेका छैनन् । सघन ढंगले गम्भिरताका साथ छलफल हुन सकिराखेको छैन । सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने, निगरानी गर्नुपर्ने, यि कामहरु पनि हुन सकिराखेका छैनन्’ उनले भने,  समिति काम चलाउ मात्र छ अहिले । त्यसले गर्दा संसदको प्रभावकारिता बढ्न सकेको छैन । सत्तापक्षको कारणले गर्दा समिति सभापति चयन हुन नसकेको हो । यसमा सत्तापक्ष गम्भिर बन्नुपर्‍यो।’

नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले अविलम्ब सभापति चयनको कार्यतालिका सार्वजनिक गर्न सभामुखलाई आग्रह गरे । अनन्तकालसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नु नहुने उनको भनाई छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले समितिको कामलाई प्रभावकारी बनाउन समिति सभापति चाँडै चाहिएको बताए ।

जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले ज्येष्ठ सदस्यले समिति बैठकको अध्यक्षता गरिरहेको उल्लेख गर्दै समितिको प्रभावकारीता ज्येष्ठ सदस्यको इच्छाशक्तिमा भर पर्ने बताईन् । यद्यपी हालसम्म समितिको काम नरोकिएको उनको भनाई छ । उनले समिति सभापति चाँडै चयन हुनेमा विश्वास व्यक्त गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved