सरकारको कामबाट भ्रष्टहरू अत्तालिएका छन् : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

सरकारको कामबाट भ्रष्टहरू अत्तालिएका छन् : प्रधानमन्त्री प्रचण्ड
फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् ।

शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको बताएका हुन् ।

‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष गर्‍यौं  त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ’ उनले भने, ‘तर एउटा वर्गलाई यो कुरा मन परेको छैन यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू पनि छन्। सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्वहरू अत्तालिएका छन्।’

उनले राम्रो गर्दै नगर्ने, राम्रो गर्नै नदिने तत्वहरू विरोधका लागि विरोध गरिरहेको बताउँदै उनले जनतालाई  सचेत आग्रह गरे ।

‘विकासमा राजनीतिक पूर्वाग्रह राख्नु हुँदैन, विकासका लागि राजनीतिक सहमति र राष्ट्रिय संकल्प चाहिन्छ’ प्रधानमन्त्रीले भने,’अर्थतन्त्रको चुनौतीका बीच पनि नीति, कार्यक्रम र बजेटमा अधिकतम सन्तुलन मिलाएका छौँ। कृषिलाई उच्च प्राथमिकता दिएका छौँ, उत्पादन र उत्पादकत्व प्रवर्धन गर्ने नीति लिएका छौँ।’

‘विदेशिएका युवाहरू स्वदेश फर्काउने कार्यक्रम ल्याएका छौँ। राज्य अभिभावक बनेर उत्पादन र रोजगारी प्रवद्र्धन गर्न तत्पर छ। विदेशबाट आर्जन गरेको पुँजी, सीप, प्रविधिको सदुपयोग गर्ने वातावरण बनाएका छौँ’ उनले भने, ‘यसपटक राष्ट्र र जनताको पक्षमा राम्रो मात्र गर्ने, नराम्रो गर्दै नगर्ने नीति लिएको छु। विदेशमा रहेका लाखौं नेपाली सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भएका छन्। सेवाग्राही कार्यालयका लामालामा लाइन हटेका छन्।’

प्रधानमन्त्रीले सरकार भ्रष्टाचारका विरूद्ध कठोर रूपमा प्रस्तुत भएको र भ्रष्टाचारविरोधी अभियानले निरन्तरता पाउने बताए ।

‘यसपटकको भारत भ्रमण देशको स्वाधीनता, विकास र समृद्धिका पक्षमा महत्वपूर्ण सहमति भएका छन्। इतिहासमा पहिलोपटक देशको शीर ठाडो पारेर फर्किएको छु’ उनले भने,’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा समस्या सम्बोधन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउनुभएको छ, यो ठूलो कुरा हो। यो सिंगो राष्ट्रका लागि गौरवको विषय हो। २६ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना ३ महिनाभित्र अगाडि बढाउने सहमति भएको छ।’

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत, नुवाकोटका संघीय सांसद हितबहादुर तामाङ, प्रदेश सभाका सदस्यहरू राधिका तामाङ, रमेश महत लगायतले सम्बोधन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved