राष्ट्रियसभाको बैठक ६ मिनेट बसेर २९ मिनेटका लागि स्थगित

नेपालभ्युज

राष्ट्रियसभाको बैठक ६ मिनेट बसेर २९ मिनेटका लागि स्थगित
फाइल तस्वीर ।

काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै राष्ट्रिय सभाको बैठकमा अवरोध भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २९ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

बैठक अवरुद्धपछि बोल्न समय पाएका नेकपा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठले जन्मसिद्धका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्नेमा पक्षमा रहेको तर सरकारले असंवैधानिक बाटो समातेको बताए ।

उनले गत जेठ १२ गते सरकारले राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाएको पत्र असंवैधानिक रहेको र राष्ट्रपतिको काम असंवैधानिक रहेको बताए । सांसद श्रेष्ठले त्यसबारेमा सरकारले जवाफ नदिएसम्म संसदको नियमित कामकारवाही अघि बढाउन नदिने उल्लेख गरे । यस्तै, उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा लिपुलेक, कालापानीको जग्गा भारतसँग साट्न सकिने प्रस्ताव राखेको र त्यो आपत्तिजनक रहेको भन्दै त्यसबारेमा प्रष्ट पार्न माग गरे ।

अध्यक्ष तिमिल्सिनाले सरकारलाई त्यसबारेमा जवाफ ध्यानाकर्षण गराएको बताउँदै बैठक अघि बढाउन आग्रह गरे पनि सांसदहरुले अवरोध कायमै राखेपछि २९ मिनेटका लागि बैठक स्थगित गरे । राष्ट्रिय सभाको बैठक ६ मिनेट बसेर स्थगित भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved