प्रचण्डका अनेक रुप : सर्ट पाइन्टदेखि दौरा सुरुवाल, मार्क्सदेखि भगवान्

चितवनको नारायणी विद्या मन्दिरमा पढ्दा एसएलसीको फारम भर्नेबेला उनले छविलालबाट पुष्पकमल दाहाल नाम लेखेर फारम भरे । त्यसपछी उनले पार्टीमा क.प्रचण्ड, क.कल्याण, क.विश्वास, क.निर्माणजस्ता नाम राखे ।

प्रचण्डका अनेक रुप : सर्ट पाइन्टदेखि दौरा सुरुवाल, मार्क्सदेखि भगवान्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भौतिकवादी नेता हुन् । धर्मभन्दा दर्शन रुचाउने प्रचण्ड मार्क्स , एंगेल्स, लेनिन, स्टालिन र माओका अनुयायी हुन् ।

नेपालमा २०५२ फागुन १ देखि सुरू भएको १० वर्षे जनयुद्धका सर्वोच्च कमान्डर पनि हुन् प्रचण्ड । उनकै नेतृत्वमा जनयुद्ध चलेको र ०६३ पछि विस्तृत शान्ति सम्झौता गर्दै प्रचण्ड संविधानसभा निर्वाचनलगत्तै गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए ।

उनी शान्ति प्रक्रियामा आएपछि भने धर्म र दर्शन दुवैको ‘फ्यूजन’ गर्दै अघि बढेका प्रचण्डले बुबाको मृत्यु हुँदादेखि छोरी ज्ञानु र छोरा प्रकाशको मृत्युमा पनि छालाको जुत्ता लगाएर घाटमा गएको भन्दै आलोचित बन्नुपरेको थियो । कुनै बेला सुनसरीमा ‘भैंसी-पूजा’ गरेको कुरादेखि देशको कार्यकारी रहँदा शिलान्यास गरेका कार्यक्रममा पनि प्रचण्ड जुत्ता नफुकाली शिलान्यास स्थलमा पूजा गर्न तम्सिएको तस्वीरले पनि उनलाई आलोचित बनाएको थियो ।

उनै प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएपछि यतिबेला भारत भ्रमणमा छन् । उनकी पत्नी सीता दाहाल भने अर्धचेत अवस्थामा छिन् । यदि सीता दाहाल बिरामी नभएको भए आज ‘प्रथम लेडी’ का रूपमा भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डसँगै हुन्थिन् । तर, उनको बिमारका कारण प्रचण्डसमेत कहिलेकाहीँ चिन्तित हुने गरेका छन् ।

पत्नी सीताको अनुपस्थितिमा छोरी गंगा दाहाललाई भ्रमण टोलीमा राखेर दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड बिहीबार साँझसम्म भेटघाटमा व्यस्त थिए । तर, शुक्रबारको उनको व्यस्तता भने बेग्लै प्रकारको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा पुगे । उनको मन्दिर यात्रा छोटो र घुमफिर मात्रै थिएन । उनले त्यहाँ पत्नी सीता दाहालको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेका छन् ।

प्रचण्डको मन्दिर यात्राका क्रममा भारतीय प्रहरीले स्थानीयलाई झन्डै ५ घण्टा मन्दिर प्रवेशमा रोक लगाएको थियो । जहाँ प्रधानमनत्री प्रचण्डले लामो समय लगाएर पूजा गरे । प्रधानमन्त्रीले शुक्रबार भारतको मध्य प्रदेशको भ्रमण गर्ने कार्यक्रमअनुसार प्रचण्ड बिहान नयाँ दिल्लीबाट इन्दौर हुँदै उज्जैन पुगेका थिए । उनले महाकाल बाबाको गर्भगृहमा पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको भ्रमण टोलीमा रहेका एक सदस्यले बताएका छन् ।

प्रधानमन्त्रीको विशेष पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेल पनि उपस्थित थिए । स्रोतकाअनुसार मन्दिरका शासकीय पुजारी पण्डित घनश्याम शर्माले प्रधानमन्त्री प्रचण्डबाट पत्नी सीताको लागि विशेष पूजा गराएका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालबाटै लगेको रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ पनि चढाएका थिए ।

भारतको उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा श्रीमती सीता दाहालको स्वास्थ्यलाभको कामनासहित पूजा गर्दै प्रधानमन्त्री प्रचण्ड ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा खैरो सर्ट-पाइन्टमा पहिलोपटक ०६३ असारमा बालुवाटार सार्वजनिक भएका प्रचण्डले त्यसपछि पोशाकको रंग र डिजाइन फेर्दाफेर्दै अहिले दौरा-सुरुवालमा भारत पुगेका छन् । तीनपटक प्रधानमन्त्री भएर भारत भ्रमण गरिसकेका प्रचण्ड दौरा-सुरुवालमा भारत पुगेको यो पहिलो पटक हो । त्यसो त उनले यही कार्यकालको शपथ ग्रहणकै दिन १० पुस २०७९ मा दौरा-सुरुवाल लगाउन सुरू गरेका हुन् ।

प्रचण्डले पार्टी जीवनमा ६ पटक आफ्नै नाम परिवर्तन गरे भने पार्टीको नाम पनि ६ पटक नै परिवर्तन गरे । ३४ वर्षको उमेरमा नेकपा मशालको महामन्त्री भएका प्रचण्ड त्यसपछि नेकपा एकता केन्द्रको महामन्त्री भए । १० वर्षे जनयुद्धसँगै झन्डै २४ वर्ष भूमिगत जीवन बिताएका प्रचण्डले २०५१ मा पार्टीको नाम फेरेर नेकपा माओवादी राखे । युद्धपछि एकीकृत माओवादी हुँदै पार्टीको नाम नेकपा (माओवादी केन्द्र) भयो । नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकतापछि पार्टीको नाम नेकपा रह्यो भने त्यसपछि दुई पार्टीको एकतालाई अदालतले ‘बदर’ गरेपछि पुनः प्रचण्ड नेकपा (माओवादी केन्द्र) को अध्यक्ष छन् ।

पार्टीको नाम फेरिएजस्तै प्रचण्डले आफ्नै नाम पनि धेरैपटक फेरिसकेका छन् । उनको न्वारनको नाम घनश्याम दाहाल थियो । तर, उनले विद्यालयमा भर्ना गर्दा बुबाले छविलाल दाहाल नाम लेखाए । चितवनको नारायणी विद्या मन्दिरमा पढ्दा एसएलसीको फारम भर्नेबेला उनले छविलालबाट पुष्पकमल दाहाल नाम लेखेर फारम भरे । त्यसपछी उनले पार्टीमा क.प्रचण्ड, क.कल्याण, क.विश्वास, क.निर्माणजस्ता नाम राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved