कांग्रेसको कार्यसमितिको बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुनेछौं : आचार्य

नेपालभ्युज

कांग्रेसको कार्यसमितिको बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुनेछौं : आचार्य

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मधु आचार्यले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुने चेतावनी दिएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित नेपाली कांग्रेस रुपान्तरण अभियानको वागमती प्रदेश विशेष कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य आचार्यले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गरे । उनले पार्टीको विधान अनुरुप हरेक २ महिनामा कम्तिमा एक पटक केन्द्रिय कार्यसमिति बैठक बस्नुपर्ने भएपनि १० महिनासम्म बैठक बस्न नसकेको बताए । उनले पार्टीका उपसभापति र महामन्त्रीहरुले समेत पदाधिकारी बैठकमा केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गरिएपनि नेतृत्वले नसुनेको बताए । उनले पार्टीको औपचारिक समितिका बैठकहरु नबोलाएमा विधानले दिएको अधिकार प्रयोग गरी विशेष महाधिवेशन बोलाइने बताए ।

‘नेताहरुलाई विनम्रतापूर्वक भन्छौँ, पार्टीका औपचारिक प्लेटफर्महरु यदी सञ्चालनमा ल्याइँदैन । बेलैमा मिटिङहरु बसाइँदैन । केन्द्रिय समितिको बैठक बस्दैन । वर्षमा एकपटक बोलाउनुपर्ने महासमितिको बैठक बस्दैन’, ‘पार्टीको केन्द्रिय समितिको बैठकले निर्णय गरेको ६ महिनाभित्रमा नीति अधिवेशन गर्ने भनेको कुराको यदी नीति अधिवेशन पनि बोलाइँदैन भने फेरि विधानले दिएको अधिकारहरु प्रयोग गरेर हामी भोलि विशेष महाधिवेशन समेत बोलाउन बाध्य हुनेछौँ ।’

उनले पार्टीले भ्रष्टाचारका कुराहरुलाई ढाकछोप गर्दै हिँडे आगामी दिनमा कठिनाइ हुने बताए । कांग्रेस बिग्रिन र सिद्धिन लागेको भन्दै उनले पार्टीलाई सो अवस्थाबाट जोगाउन रुपान्तरण अभियान चलाएको उल्लेख गरे । आफूहरुको अभियान काँग्रेसको चिन्ता गर्नेहरुको अभियान भएको स्पष्ट पारे ।

उनले भने,  ‘एउटा निस्कर्षमा, समाधानमा जानका लागि पार्टीलाई जबरजस्त आवश्यकता भइसक्यो । अब यही गतिविधिबाट, यही हिँडाइबाट, यही ढाँचाबाट या भ्रष्टाचारका कुराहरुमा पनि हामी ढाकछोप गर्दै हिँड्ने, पार्टीले एउटा प्रष्ट अभिव्यक्ति नदिने, यही ढंगले हिँड्यौँ भने जनताका बीचमा बस्नुपर्ने पार्टी र जनताको नजरमा दिनहुँ व्यवहार गर्नुपर्ने पार्टी साथीहरुलाई कठिनाइ हुनेछ ।’

‘जे–जे परिवर्तन गर्नुपर्छ, जे–जे सुधार गर्नुपर्छ । हाम्रै बीचबाट हामी नै गरौँ । हाम्रै काँग्रेसलाई राम्रो बनाउँ । यसैलाई बलियो बनाऔँ । यहीँभित्र देश र जनताको भविष्य सुनिश्चित गरौँ भन्नका लागि यो अभियान अगाडी बढेको हो । त्यसकारण काँग्रेसको बारेमा चिन्ता गर्ने अभियान व्यक्तिको अभियान या गुटको अभियान हुँदैन’, ‘काँग्रेसको चिन्ता गर्ने अभियान नेपाली काँग्रेसको अभियान हो । त्यसकारण यो सिंगो कांग्रेसको आवश्यकता हो । सिंगो काँग्रेसको आन्दोलन अभियान हो ।’

आचार्यले आफूहरुले चलाएको अभियान कुनै एक व्यक्ति वा गुटको अभियान नभएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved