प्रधानमन्त्रीको भारत भ्रमण : विज्ञ भन्छन्- विश्वास बढाउने अवसरको रूपमा लिनुपर्छ

देखाउनकै लागि धेरै लामो सूची बनाउनेभन्दा पनि दुवै पक्षको सहमतिमा हुनसक्ने महत्त्वपूर्ण मुद्दामा काम गर्नुपर्ने विज्ञको सुझाव छ। बरु त्यसका लागि प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच राजनीतिक हिसाबले विश्वासको वातावरण बन्नुपर्ने उनीहरु बताउँछन् ।

नेपालभ्युज

प्रधानमन्त्रीको भारत भ्रमण : विज्ञ भन्छन्- विश्वास बढाउने अवसरको रूपमा लिनुपर्छ

काठमाडौं। नेपाल र भारतबीच एक आपसमा उच्चस्तरीय राजनीतिक भ्रमण एक वर्षअघि मात्रै भएको थियो। अघिल्लो चैतमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत गएका थिए। त्यसअघि, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत गएको तीन वर्षपछि देउवा २०७८ को १८ चैतदेखि २० सम्म तीन दिने भ्रमणमा गएका थिए। अहिले १४ महिनापछि फेरि अर्को भ्रमण हुँदैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने निश्चित भएसँगै दुई मुलुकबीच गर्नुपर्ने समझदारी र सम्झौताका एजेन्डा तय गर्न गृहकार्य तीव्र छ । भ्रमणका क्रममा लगानी, व्यापार, प्रविधि विस्तार, विकास आयोजना निर्माण, अपराध नियन्त्रण तथा अनुसन्धानमा सहकार्यलगायत विषयले प्राथमिकता पाएका छन्।

प्रधानमन्त्रीको भ्रमणमा समावेश गराउनुपर्ने विषयको प्रस्ताव अधिकांश मन्त्रालयले परराष्ट्रमा पठाइसकेका छन्। प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं अन्तर्राष्ट्रिय मामिलाका जानकारसँग पनि सुझाव लिएका छन् ।

देखाउनकै लागि धेरै लामो सूची बनाउनेभन्दा पनि दुवै पक्षको सहमतिमा हुनसक्ने महत्त्वपूर्ण मुद्दामा काम गर्नुपर्ने विज्ञको सुझाव छ। बरु त्यसका लागि प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच राजनीतिक हिसाबले विश्वासको वातावरण बन्नुपर्ने उनीहरु बताउँछन् । पढौं केही विज्ञको सुझाव :

भेषबहादुर थापा, भारतका लागि पूर्वराजदूत

नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतमा यसको सम्मेलन गर्ने कि नगर्ने, नगर्ने भए सार्कलाई आउँदो दिनमा के गर्ने भन्ने विमर्श गर्नुपर्छ। त्यसैले, सार्कलाई कसरी प्रभावकारी बनाएर सामूहिक तवरमा तयारी गर्ने ? त्यससम्बन्धी तुरुन्तै सार्क स्तरीय छलफल आवश्यक छ। त्यसका लागि अध्यक्षको नाताले प्रधानमन्त्रीले समकक्षीसित उपयुक्त वार्तालाप गर्नुपर्छ।

नेपाली उत्पादनलाई विभिन्न नाममा दिइने निर्यातमा सास्ती कम गर्ने पहल गर्नुपर्छ। व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा छलफल गर्नुपर्छ। प्रबुद्ध समूह ‘ईपीजी’को प्रतिवेदन ग्रहण गर्नुपर्छ। सम्भवतः धेरै वर्षपछि पञ्चेश्वर परियोजना अगाडि बढाउनेबारेमा एउटा नयाँ समझदारी हुनेछ।

टंक कार्की, परराष्ट्र मामिलाका जानकार

यसपटकको देखाउनकै लागि धेरै लामो सूची बनाउनेभन्दा पनि दुवै पक्षको सहमतिमा हुनसक्ने महत्त्वपूर्ण मुद्दामा काम गर्नुपर्छ। प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच राजनीतिक हिसाबले विश्वासको वातावरण बन्नु पर्छ।

भारतले नेपाली भूमि मिचेको विषय पुरानो होइन। पूर्वको श्रीअन्तु डाँडादेखि पश्चिमको टनकपुरसम्मै भारतले सीमा मिचेको नेपाली दाबी छ। ती स्थानमध्ये पछिल्लो पटक चर्चामा आएको स्थान हो, लिम्पियाधुरा–कालापानी–लिपुलेक। ती विषयमा नेपालले आफ्नो नक्सामा समेटेको छ। तर भूमि फिर्ता आएको छैन। त्यो विषय नेपालले उठाउनुपर्छ।

रुट, पेट्रोलियम पाइपलाइन, अन्तरदेशीय डिजिटल भुक्तानी र प्रसारण लाइनलगायत सम्झौता तथा घोषणा जस्ता विषय चर्चामा छन्। यो टुङ्गो लगाउनुपर्छ।

डा.उद्धव प्याकुरेल– परराष्ट्रविद्

नेपाल–भारतबीचमा रहेका समस्या समाधानका लागि प्रधानमन्त्रीस्तरीय भेटवार्तामात्रै सम्भव हुँदैन । त्यसको अलावा दुई देशबीच रहेका संयन्त्रलाई क्रियाशील बनाउनुपर्छ।‘नेपाल र भारत यस्ता देश हुन, जसको बीचमा दुई दर्जनभन्दा बढी संयन्त्रहरु दैनिकरूपमा काम गरिरहेका हुन्छन्’ उनी भन्छन्–‘परराष्ट्रमन्त्रीस्तरीय जोइन्ट कमिटीदेखि भन्सारको अधिकृत तहसम्म पनि विभिन्न संरचनाहरु काम गरिरहेका हुन्छन् । तर, हामी जहिले पनि प्रधानमन्त्री भारत जाने बेला भएपछि चाहीँ मेनु लिएर ठिक्क परेका हुन्छौं । यो यो गरिदिनुपर्छ भन्छौं, मलाई लाग्छ समस्या त्यहीँ छ।’

नेपाल र भारतको अहिलेको अवस्था के हो ? सम्बन्ध विग्रेको हो कि सुध्रेको हो भन्ने कुरा अहिलेसम्मका प्रधानमन्त्रीले छलफल नै नगरेको उनको भनाइछ । ‘भारत भ्रमणबाट फर्केर आउँदाखेरी नेपाल र भारतको बीचमा कुनै समस्या नै छैन भनिरहनुभएको हुन्छ । तर, समस्याका थुप्रो सधैं छ । फेरि अर्कोपटक जाँदाखेरी त्यही पोकोहरू खुलाइरहेको हुन्छौं,’–उनले भने ।

डा. दुर्गेशमान सिंह–परराष्ट्रविद् एवम् भारतका लागि पूर्व राजदूत

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण उपलब्धीमूलक हुनका लागि विश्वास जित्ने र विश्वास दिने काम सबैभन्दा महत्त्वपूर्ण हुन्छ। ‘विश्वास जित्ने र विश्वास दिने त्यो कुराचाहिँ सबैभन्दा महत्त्वपूर्णजस्तो लाग्छ’ उनी भन्छन्–‘त्यो भएपछि नेपाल–भारतबीच धेरै कुराहरू सम्हालिँदै गएर समस्या समाधानको बाटोतिर जान्छ।’

नेपाल–भारतबीच रहेका विभिन्न संयन्त्रलाई क्रियाशील बनाएर समस्याको साधान गर्न आवश्यक रहेको छ । नेपाललाई भारत जति महत्त्वपूर्ण रहेको छ, भारतलाई पनि नेपाल त्यत्तिनै महत्त्वपूर्ण रहेको छ। नेपालको भौगोलिक अवस्थिति र विकास साझेदारीमा पनि दुवैलाई फाइदा हुने कुराको मनन गराउन आवश्यक हुन्छ।

डा.राजन भट्टराई–नेकपा (एमाले) विदेश विभाग प्रमुख       

नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउनपर्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको उद्देश्यलाई प्रमुख प्रतिपक्षी दल एमालेले पनि सोहीरूपमा बुझेको छ। ‘छिमेकी देश मात्रै होइन, हाम्रो अत्यन्त महत्त्वपूर्ण मुलुक हो–भारत । द्विपक्षीय व्यापारका हिसाबले, लगानीका हिसाबले, आर्थिक–सांस्कृतिक हिसाबले भारतसँगको सम्बन्ध राम्रो छ, ऐतिहासिक छ, फराकिलो छ । यसका बहुआयामिक अवस्था छ । यो बुहुआयामिक सम्बन्धलाई हामीले जहिले पनि प्राथामिकताको साथ लिएका छौं’–भट्टराई भन्छन्।

दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्ताबाट वर्षौदेखि समाधान नभएका समस्या समाधान हुनेतर्फ सोच्न आवश्यक रहेको छ। नेपाल र भारतबीचको समस्या बिग्रिँदा नेपालको हित हुन्छ भन्ने हिसाबले एमालेले सोचेको छैन।

राम कार्की, राजनीतिज्ञ

प्रधानमन्त्रीको भ्रमणलाई एक अर्काको कुरा सुन्ने र बुझ्ने अवसरका रूपमा लिइनुपर्छ। नेपाल र भारतबीच छलफल गर्नुपर्ने विषयहरू तमाम छन् । ती सबै विषयमा पनि छलफल होला। तर, मुख्यतः केही समययता देखिएको दुई देशबीचका अप्ठ्यारालाई चिर्ने र सौहादर्ता कायम गर्ने विषय नै मुख्य हुनुपर्छ।

यसबाहेक हवाई रुटका विषयमा यसअघि लामो समयदेखि प्रयास भइरहे पनि भारत तयार थिएन। तर, हवाई रुटका विषयमा नेपाली टोली र भारतीय हवाई क्षेत्रका अधिकारीबिच द्विपक्षीय वार्ता भइसकेको छ। यो पटक टुङ्गो लाग्ने देखिन्छ।

त्यसै गरी भ्रमणमा नेपाल र भारतले जलविद्युत क्षेत्रमा संयुक्त लगानी गरेर नयाँ आयोजनाहरू बनाउनेबारे पनि छलफल गर्नुपर्छ।

डा. दिनेश भट्टराई, पूर्व राजदूत

यस पटक धेरै आर्थिक मुद्दामा केन्द्रित भन्दा पनि विश्वास आर्जनमा र पुराना सम्झौता कार्यान्वयनमा जोड दिनुपर्छ। भारत सर्वाधिक महत्त्वको छिमेकी भएकाले बहु आयामिक सम्बन्धमा छलफल हुनुपर्छ।

हामीले सीमा समस्या, १९५० को सन्धिलगायतका जे विषय प्रस्तुत गर्छौँ, वैकल्पिक मार्गचित्रसमेत लिएर संवाद गर्नुपर्छ । जुन भारतले चासो दिएको छैन। अव भारतलाई विश्वासमा लिएरै अघि बढ्नु आवस्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved