कमरेड ओली भन्छन्-यी निर्दोष छन्, तर दोषी खै ?

संसदमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीको आफ्नै उखान टुक्का सहितको ‘शैली’ वा ‘ब्रान्ड’लाई निरन्तरता दिँदै तीनवटा कुरा सुनाए।

कमरेड ओली भन्छन्-यी निर्दोष छन्, तर दोषी खै ?

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राजनीतिमा चासो राख्नेहरूका लागि मात्रै होइन मिडियाकर्मीको पनि रोजाइमा पर्ने नेता हुन्। केपी ओलीले के बोल्छन् भन्दा पनि कुन ‘उखान’ र ‘शैली’ प्रयोग गर्छन् ? भन्ने धेरैको चासो हुन्छ। त्यसैले पनि उनले बोल्ने विषयलाई भन्दा शैलीलाई पछ्याउँदै मिडियाकर्मीले ओलीको प्रतीक्षा गरिरहेका हुन्छन्।

यतिबेला, देशभित्र मात्रै होइन अन्तर्राष्ट्रिय रूपमै चर्चा पाएको विषय हो ‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह’ माथिको प्रहरी अपरेसन । यो प्रकरणमा राजनीतिक दलका उच्च नेताकै संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ र अनुसन्धान थालेपछि संसदमा पनि यसले बढी महत्त्व पाइरहेको छ।

त्यसो त, प्रहरी अनुसन्धानबाट पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीसहित पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलका छोरासमेत मुछिएपछि ओलीले यसबारेमा ‘फायर’ नखोल्ने कुरै भएन । उनले यो विषयमा ‘बालकोट’ र पार्टी कार्यालय च्यासलबाट मात्रै होइन संसदबाट बोल्छु भनेर अग्रिम जानकारीसमेत दिएका थिए । तर, संसदमा आउँछु र बोल्छु भनेका दिन ४ जेठमा उनी बिरामी परे।

राष्ट्रपति रामचन्द्र पौडेलले ५ जेठमा संघीय संसद्को संयुक्त सभामा प्रस्तुत गरेको ‘नीति तथा कार्यक्रम’ सुन्न उपस्थित भएका ओलीले त्यस दिनमा पनि भुटानी ‘शरणार्थी’ प्रकरण र ‘नीति तथा कार्यक्रम’बारे कुनै प्रतिक्रिया दिएनन्।

त्यसपछि आइतबार ‘नीति तथा कार्यक्रम’ माथिको छलफलमा भाग लिन संसद पुगेका ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मधुर मुस्कानसहित हात मिलाए। छलफल सुरु भएलगत्तै रोस्ट्रममा उभिएका ओलीले २ घण्टा समय खर्चेर सम्बोधन गर्न भ्याए । संसदमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले आफ्नै उखान टुक्का सहितको ‘शैली’ वा ‘ब्रान्ड’लाई निरन्तरता दिँदै तीनवटा कुरा सुनाए।

पहिलो, सरकारबारे : ‘नीति तथा कार्यक्रम’ नाम दिइएको भन्दै सरकारले यसलाई फिर्ता लिएर पुनर्लेखन गर्नुपर्ने सुझाव दिए। ‘म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु,यो नीति तथा कार्यक्रम फिर्ता लिनुस्।’ उनले फिर्ता लिएपछि पुनर्लेखन गर्न पनि माग गरे । अझै अगाडि भने-‘जनताका लागि नीति तथा कार्यक्रम बनेको छैन। अर्को लेख्नुस् बरु त्यसमा प्रतिपक्ष दल सहयोग गर्नका लागि तयार छ।’

उनले एमालेका कामहरूलाई ‘बाइपास’ गरेको र दुश्मनी साँधेको भन्दै ‘धरहरा मैले बनाएको होइन, इतिहासले निर्माण गरेको छ । धरहरासँग तपाईंहरूको दुश्मनी किन ?’ समेत भने । सुझावसँगै एमालेले ल्याएजस्तो ल्याउनसमेत चुनौती दिए र पटक–पटक आफ्नै नेतृत्वको सरकारको तारिफ पनि गरे।

दोस्रो, प्रधानमन्त्री प्रचण्डबारे : उनले एमालेको पहलमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले २ महिनामै सरकारको ‘मुटु प्रत्यारोपण’मा लागेको भन्दै कटाक्ष गरे। एमालेसहित सात दलले प्रधानमन्त्री बनाए पनि सरकार बनाउने समयमा तीनवटा दललाई बाहिर राखेको उनको आरोप थियो। उनको भनाइमा नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धोका दिएर सरकारको मुटु प्रत्यारोपण गरिएको थियो ।

तेस्रो, नक्कली शरणार्थी प्रकरणबारे : यो प्रकरणमा ओलीले के बोल्छन् ? भन्ने  व्यग्र प्रतीक्षा गरिरहेका बेला ओलीले एकाएक भने–‘निर्दोषलाई फसाउने प्रयास भएको छ।’ उनी त्यत्तिमा मात्रै पनि रोकिएनन्। ‘निर्दोषलाई फसाउने प्रयास भइरहेको मात्रै होइन दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको छ’ उनले भने–,‘यो खालका प्रयासहरू नहोस्, तुरुन्तै बन्द गरियोस्।’

त्यसपछि पनि उनले सरकारलाई कटाक्ष गर्दै भने–‘भयंकर गरियो भनेर सरकारले ‘जुङ्गामा ताउ’ लगाइराख्न पर्दैन । यो दबाउन सकिने केस नै होइन । आगो छोप्न सकिन्छ होला तर, धुवाँ छोप्न सकिन्न।’ उनले सरकारले त ढाकछोप गर्न खोजेकै हो तर पनि ढाक्दा–ढाक्दै बाहिर आयोसमेत भने ।‘यो भुइँचालो हो, कसैले बोलाउनुपर्दैन आफैँ आउँछ’ ओलीको भनाइ थियो–‘भुइँचालो मैले ल्याएँ भन्न पाइँदैन।’

ओलीको यो भनाइपछि अब भने थप प्रश्न उब्जिएको छ, कि उनले कसलाई निर्दोष भन्न खोजेका हुन् ? यदि, टोपबहादुरहरू निर्दोष हुन् भने दोषी को हुन् त ? किन ओली यो खुलासा गर्दैनन् ? उनकै पार्टी उपाध्यक्ष समेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र बादल गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार इन्द्रजित राई निर्दोष हुन् वा होइनन् भन्ने कुराको छिनोफानो अदालतबाट हुने हो कि बालकोटबाट ?

अर्को कुरा, अहिले पक्राउ परेका र फरार भनिएकालाई दोषी कसैले भनेका छैनन्। अहिलेसम्म उनीहरूमाथि गम्भीर आरोप लागेको मात्रै हो । आरोपीले सम्मानित अदालतबाट ‘क्लिन चिट’ लिएर आउन सक्छन्। तर, ओली आफैंले चाहिँ उनीहरूलाई दोषी देख्नु अचम्म हुनसक्छ । जब टोपबहादुर फरार थिए । प्रहरीले पक्राउ गरेकै थिएन त्यो बेला पनि ओली भन्दै थिए–‘टोपबहादुर बाटोमा हिँड्दा हिँड्दै पक्राउ गर्नुपर्ने मान्छे होइन किन गरेको ?’

मानौं, टोपबहादुर पक्राउ परेको कुरा ओलीलाई थाहा थियो। त्यही कारण उनी बेचैन हुँदै बालकोटदेखि बालुवाटार दौडधुप गरिरहे । तर, टोपबहादुर भने पक्राउ परेकै थिएनन्। ओलीले संसदमा बोल्दा अर्को कुरा पनि खलाएका थिए की भुटानी शरणार्थी प्रकरणमा गतसाल नै उजुरी परेको थियो।‘गत साल नै उजुरी परेको रहेछ नि ! किन गुपचुप राखियो ? पक्राउ परेकालाई किन छाडियो ? म सरकारमा थिइनँ । मेरो तर्फबाट केही भएको छैन’–उनले संसदमै भने।

२०५१ मा आफू गृहमन्त्री हुँदा र पछि परराष्ट्रमन्त्री हुँदा शरणार्थीहरूको समस्या समाधानार्थ धेरै पहल गरेको भन्न सक्ने ओलीले ‘कुरोको चुरो’ किन खोल्दैनन् ? उनले भुटानी शरणार्थीबारे आफूले धेरै गरेको तर आफुलाई नै दोषी देख्न थालेको समेत गुनासो गरे।‘समस्या समाधानका लागि पहल गर्‍यो भन्नु त कता हो कता, मलाई नै दोषी देख्ने ?’ओलीले रोष्ट्रमबाटै दुःखेसो पनि गरे।

ओली एक जना झापाबाट निर्वाचित सांसद मात्रै वा प्रतिपक्षी दलका नेता वा एमाले अध्यक्ष मात्रै पनि होइनन्। उनी दुईपटक देशको कार्यकारी प्रधानमन्त्री भइसकेका शीर्ष र जिम्मेवार नेता पनि हुन्। अहिले प्रहरी हिरासतमा रहेका १६ जना र फरार सूचीमा रहेका १६ जना नै निर्दोष हुन् र सरकारले फसाउन खोजेको कुरामा ओली जानकार छन् भने दोषी को हुन् भन्ने पनि उनी जान्दछन् त ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved