टोपबहादुरको नक्कली फेसबुक एकाउन्ट बनाएर जथाभावी पोस्ट गर्नेको खोजीमा जुट्यो प्रहरी

नेपालभ्युज

टोपबहादुरको नक्कली फेसबुक एकाउन्ट बनाएर जथाभावी पोस्ट गर्नेको खोजीमा जुट्यो प्रहरी

काठमाडौं। टोपबहादुर रायमाझीको नाम र फोटो दुरुपयोग गरी नक्कली फेसबुकको एकाउन्ट खोलेर जथाभावी पोस्ट गर्नेको प्रहरीले खोजी गरिरहेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले यसबारे अनुसन्धान थालेको हो ।

उक्त फेक अकाउन्टबाट लेखिएको स्ट्याटसमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरूको नाम जोडिएको छ ।

रायमाझी पक्राउ परेपछि उनको नामबाट फेसबुकमा लेखियो, ‘म नेकपा माओवादी केन्द्रमा सचिव पदमा रहँदा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सरकारमा हुँदा भएको यो भुटानी शरणार्थी बनाउने प्रक्रिया २०७४ साल जेठ महिनाको सात गते नेपाली कांग्रेसबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा रामशरण महत, प्रकाश शरण महत, बालकृष्ण खाण, माओवादी केन्द्रबाट गृहमन्त्री जनार्दन शर्मा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कृष्ण महरा, लीलामणि पोख्रेल, वर्षमान पुन, शक्ति बस्नेत स्वयम् म टोपबहादुर रायमाझी बसेर यस योजना तयार बनाएको सम्पूर्ण नेपाली जनतालाई जानकारी गराउँछु ।’

 

यसअघि उनको स्वास्थ्य अवस्था ठिक नभएको भनेर सूचना बाहिर आएपछि फेरि अर्को स्टाटस आयो । लेखिएको थियो,,‘ मेरो स्वास्थ्य अवस्थामा खराबी आएको कारण म केही समय अस्पतालमा गई उपचार गराइरहेको थिएँ। सबै जनाले मेरो नाम शरणार्थी घोटाला गरेको भन्ने सुने । यसप्रति मेरो गम्भीर आपत्ति छ, सत्य तथ्य अनुसन्धानले बताउला । नेपालको प्रचलित कानुन अनुसार दोषी ठहरिएमा सजायको भागिदार हुन तयार छु । त्यस कारण म माथि लागेका झुटा आरोपलाई झुटो साबित गर्न आज दिनको ५ः३० बजे नेपाल प्रहरीको अनुसन्धानलाई सहयोग गर्न उपस्थित हुनेछु । धन्यवाद !’

उनी फरार भइरहेकै अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जोडेर अर्को स्ट्याटस आयो । लेखिएको थियो,‘ कमरेड ओली मेरा प्रधानमन्त्री थिए । जेजे गरे त्यो उहाँको आदेश र सहमति अनुसार नै गरेँ । जसरी अहिले मलाई एकल बलिको बोका बनाइँदै छ, यो गलत छ । सरासर ममाथि अन्याय भएको छ । म अहिले आफ्नै पार्टीका कमरेडबाट असुरक्षित महसुस गरेको छु । सरकारले मेरो ज्यानको सुरक्षा गरोस् !’

यसबारे साइबर ब्युरोले रायमाझीको नाममा आएको स्ट्याटस सबै ‘फेक’ भएको भन्दै उक्त स्ट्याटस फेसबुकमा सेयर गर्नेहरूमाथि पनि अनुसन्धान अघि बढाएका जनाएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved