फिल्म समीक्षा

हल्कारा : बेमौसममा फुलेको कमलको फूल !

हल्कारा : बेमौसममा फुलेको कमलको फूल !

काठमाडौं। हिजो शुक्रबारबाट हलहरूमा ‘हल्कारा’को प्रदर्शन सुरु भएको छ। त्यसो त हलमा जारीको प्रदर्शन पनि जारी छँदैछ। पछिल्लो समय त नेपाली फिल्म जगतमा मौलिक फूलहरूको मेला नै लाग्न थालेको छ। ती फूलका अर्गानिक बास्ना लिन मेला धाउने नेपाली दर्शकहरूको सङ्ख्या पनि त बढ्दो छ। अर्को शब्दमा भन्ने हो भने नेपाली फिल्म जगतमा यतिबेला बहार छाउँदो छ।

खैर, फिल्मलाई फूल नै मान्ने हो भने नवोदित फिल्म निर्देशक विक्रम सापकोटाले यतिबेला कमलको फूल फुलाएका छन्। जसलाई नाम दिइएको छ- ‘हल्कारा’ । यो फूलको सौन्दर्यले दर्शकलाई अवश्य लोभ्याउनेछ तर पनि दर्शकलाई लागिरहन्छ, फूल त फुल्यो तर, बेमौसममा फुल्यो। साथै, दर्शकलाई यस्तो पनि लाग्नेछ कि यति सुन्दर फूल हिलोमै किन फुलेको होला? खैर, फूल फुलिसकेको छ त्यसको सौन्दर्यलाई हिलोसहित आत्मसात गर्नुको विकल्प छैन।

आउनुस्, यही कमलको फूलको सौन्दर्य नियालौँ, एकैछिन त्यसको हिलोसँग खेलौँ। वैशाख मसान्तछेउ फुलेको यो फूल कसरी बेमौसमी भयो ? त्यसमाथि पनि चर्चा गरौँ।

हिलो

१. लोकेसन

फिल्मलाई लोकेसनले केही ठाउँमा धोका दिएको छ। चिठी युगको कथाले एउटा दुर्गम गाउँको माग गर्छ। तर, जुन लोकेसनमा फिल्म खिचिएको छ त्यो उति दुर्गम लाग्दैन। फ्रेमबाट लुकाउन नसकिएका वा बिर्सिइएका बिजुलीका तारहरू देखिँदा अचानक तपाईंलाई चिठी पुर्‍याउने यात्राका दृश्य केही खल्लो लाग्न सक्छ। कथाले मागेजति नै दुर्गम गाउँहरू नेपालमा अहिले पनि पक्कै छन्।

खैर, लोकेसनको सवालमा फिल्म टिमले सम्झौता गर्नुको पछाडि आफ्नै कारण होलान्। तर, सम्झौतारहित फिल्मका लागि दर्शकले हक जताउन सक्छन् र पाउँछन्। साथै, मेरो विचारमा सचेत दर्शकले निभाउनपर्ने भूमिका पनि यही नै हो।

 

२. विश्वसनीयता

खुसी, पीडा, रिस, डर बरू अनुहारको भावभंगीमा झल्किन्छन् र थाहा लाग्छ। तर, विश्वसनीयता? संवेदनाभन्दा पनि कति अमूर्त कुरा है? फिल्म विश्वसनीय छ कि छैन? कसरी थाहा पाउने? त्यसका दृश्य आफूलाई विश्वसनीय लागिरहेको छ छैन? कसरी जान्ने?

तर, त्योभन्दा अघि यो बुझ्न जरुरी छ कि कुनै दृश्य विश्वसनीय छैन भन्नु असम्भव छ भनिनु होइन। अविश्वसनीय लाग्नु भनेको असम्भव दाबी गर्नु होइन, खाली विश्वास गर्न गाह्रो लाग्नु हो।

अब दृश्यतर्फ जाऊँ। फिल्ममा मुख्य पात्र हल्कारा अर्थात् राम र मियाको पहिलो भेटमै गहिरो दोस्ती देखिन्छ। अनौठो लाग्दैरहन्छ तर उनीहरूबीच सायद पुरानै चिनाजाना पो छ कि ? यो गौण अपेक्षा पुष्टि हुने दृश्य वा संवादको प्रतीक्षा रहन्छ र धैर्यसाथ बसिन्छ पनि। तर, जब थाहा लाग्छ कि यो नै उनीहरूको पहिलो भेट हो तब धैर्य टुट्छ र नजानिँदो छटपटीभित्र कतै सुरु हुन्छ। त्यो छटपटी हुन्छ प्रश्नको। ‘साच्चै?’, ‘पहिलोपटक नै भेटिएका हुन् त?’, ‘पहिलो भेटमै यति घनिष्ठता?’

हो, यसरी मनमा प्रश्न आउनु नै विश्वसनीयता खलबलिनु हो। हुन त, यथार्थमा यस्ता पात्र कहिल्यै नभेटिने होइनन् जो पहिलो भेटमै पुरानो साथीझैं हिमचिम गर्न पछि हट्दैनन्। खैर, यथार्थमै भेटिए पनि विरलै भेटिने त्यस्ता पात्रलाई देख्दा अनौठो र असहज महसुस हुन्छ नै। विश्वास गर्न गाह्रो हुन्छ कि तिनीहरू साच्चै नै त्यस्तै हुन्। र फिल्ममा त यस्ता विरलै पात्र एक मात्र होइन दुई-दुईजना देखिन्छन्। अझ ताजुप लाग्ने कुरा त, दुईमध्ये कुनैलाई पनि असहज महसुस हुँदैन पुरानो साथीझैं पहिलो भेटमै झ्याम्मिन।

तर, यसो हुनु असम्भव होइन, जसकारण मनमा जन्मिएका प्रश्नलाई अनेक जवाफले फकाई शान्त पारी दृश्यमाथि विश्वास उमार्न सक्ने छुट छँदैछ हामीसँग। कथौं, यो विश्वास एफर्टलेस हुन्थ्यो भने? खैर…

३. हेलचक्र्याइँ

हुन त सानो बजेटमा राम्रो फिल्म बनाउनु चुनौतीपूर्ण कुरा हो। तर, बजेटबाहेक फिल्म मेकरले लगाउन सक्ने अर्को लगानी हो सजगता, जसले फिल्मलाई राम्रो बनाउन ठूलो भूमिका खेल्नसक्छ।

तर, केही ठाउँमा सजगता नअपनाइँदा फिल्म हिलोमा हिँड्दा चिप्लिएको खुट्टोझैं भएको छ। यो सन्दर्भ हो खामको। कुन खाम किनियो तर, कुन खाममा चिठी पुर्‍याइयो। त्रुटि त सामान्य हो। खैर, अघि भनेजस्तै त्रुटिरहित फिल्मको माग गर्नु नै सचेत दर्शकले निभाउनपर्ने भूमिका हो।

४. सस्पेन्स

फिल्मको सुरुवाततिरै हुनुपर्छ सनाखतको दृश्यबीच पार्श्वमा एउटा रुवाइ सुनिन्छ। लगतै, अर्को लासको सनाखत हुन भने गाह्रो भएको देखिन्छ। फिल्मले सुरुवातमा राम्रो सस्पेन्स सिर्जना गरेको कुरा प्रशंसनीय छ।

कथा घर्किँदै जाँदा जब एक वृद्ध दम्पती म्यानपावरमा देखिन्छन्। तब भने, त्यो सुरुवातको सनाखतको दृश्य नराखिएको भए अझै केहीबेर सस्पेन्स होल्ड भइरहन सक्थ्यो कि भन्ने लोभ लाग्छ। र सुरुवातमा त्यो दृश्य देखाउनु अनिवार्य नलाग्नुले पनि त्यो दृश्य त्यहाँबाट गायब पारिदिन मन लाग्न सक्छ। त्यति गर्दा अझै राम्रो सस्पेन्स सिर्जना हुन्छ भने ह्वाइ नट?

खैर, यो सस्पेन्स खुलिहाले पनि कथाको मुख्य सस्पेन्स भने फिल्मले अन्तिमसम्मै होल्ड गरेर राखेकै छ।

५. मनोविज्ञान

विवाह गरेको हप्ता दिन नबित्दै आजभन्दा ३ वर्षअघि परदेशिएको लोग्नेको अत्तोपत्तो नभएकै ३ वर्ष भइसकेको छ।

घरमा बुढी सासू मात्रै छे। मिया एक्ली छे। अरूका बच्चाहरूसँग रमाउने मियालाई आफ्नै बच्चाको रहर लाग्दैन होला? बोलेरै भन्न पनि परेन, मौन नै सही तर, कसैगरी मातृत्वको बलियो संवेदनालाई मियाले कतै त पोख्नुपर्थ्यो। होइन र? कथा र पात्रमा डुबेर हेर्ने दर्शकलाई यहाँनेर यो मनोविज्ञान खड्किन सक्छ।

त्यसो त, बच्चाको हकमा त रामको मनोविज्ञान पनि उत्कर्षमा पुगेको हुनुपर्ने। या त ऊ बच्चा देख्नासाथ तर्किनुपर्ने हो। या त भावविह्वल भई विगतमा पछारिन पुग्नुपर्ने हो। या त कुनै न कुनै बालकप्रति उसमा विशेष मोह वा रुचि देखिनुपर्ने हो।

पात्रको मनोविज्ञानमा भने हुनुपर्ने जति काम नभएकै हो कि?

६. विम्ब

फिल्म भनेको कला हो। जसले कथा भन्न पात्रहरूलाई जिब्रो फड्कार्न मात्र नलगाओस्। अनेक काइदाले कथा भनोस्। मलाई फिल्मले विम्बको भाषा बोलेको असाध्यै कलात्मक लाग्छ। जब फिल्ममा म बिम्ब भेट्छु लाग्छ चर्को गर्मीमा डुब्की मारेर शीतल चाखिहालूँ झैं सङ्लो पोखरी भेटिएको होस्।

फिल्ममा पनि रामले छातीनेर खिलेको हुपसियो देख्दा त्यस्तै सङ्लो पोखरी देखेझैं अनुभूति भएको हो। आफ्नो कहालीलाग्दो विगतको खिललाई मानौँ उसले अझै पनि आफ्नो छातीमै लिएर हिँडिरहेको छ। उसको छातीभित्र मानौँ विगत बिझ्न छोडेकै छैन। यो कति मीठो एउटा विम्ब हुनसक्थ्यो यदि उसले औंठीसँग त्यसलाई नसाट्थ्यो भने।

अथवा औंठी फुकालेझैं हुपसियो पनि फुकालेर मिल्क्याउँथ्यो भने। तर, उसले हुपसियोलाई चलाएन। चलाउँथ्यो त कलात्मकताको साथसाथै एउटा ग्लानीको मनोविज्ञान पनि खुसी हुन्थ्यो। फिल्मले एउटा शक्तिशाली र अर्थपूर्ण बिम्ब खेर फाल्यो। यसरी शक्तिशाली विम्ब खेर जाँदा मन यसरी बिच्किन्छ मानौँ सङ्लो पानी देखेर चल्दा हातभरि हिलो टाँसिएको होस्।

फिल्ममा खेर गएको अर्को उस्तै शक्तिशाली विम्ब हो जाँतो। लागेको थियो त्यो दुर्घटनाले पात्रलाई जाँतोले मकै पिनेझैं पिन्यो। वास्तविकतामा दुख्नु आकर्षक विषय होइन। तर, फिल्म हेरेर दर्शक तौलेर हाँस्न, जोखेर दुख्न होइन बरु उन्मुक्त हाँस्न मन पराउँछ, कणकण दुख्न मन पराउँछ। सक्दो निचोरिन मन पराउँछ।

यसर्थ, समय-परिस्थितिमा फिल्मका पात्रप्रति फिल्ममेकरले पागल वा निर्मम हुन जान्नैपर्छ।

 

सौन्दर्य

१. छायांकन

सर्वप्रथमतः फिल्म सुरु हुँदैदेखि क्यामराको कामले तपाईंलाई यसरी बाँध्छ तपाईंलाई लाग्छ तपाईं कुनै न्यानो अंगालोभित्र हुनुहुन्छ। जसबाट छुट्टिन तपाईंलाई इच्छा नै जाग्दैन।

फिल्मको सुरुवाततिर पैतालासँगसँगै बगेको ट्र्याकिङ सट बडो कलात्मक लाग्छ। त्यसो त प्राकृतिक सौन्दर्यलाई वाइड र एक्स्ट्रिम वाइड एंगलबाट खिच्दा दर्शकको माइन्डमा फिल्मको लोकेशन अति स्पष्टसँग सेट हुन पाएको छ। अविराम त्यसैलाई पछ्याउँदै लिइएको डाउन सट्सले त दर्शकको दिल गार्डेन गार्डेन नै बनाउँछन्।

साथै, ठाउँ ठाउँमा मुख्य पात्र राम र मियालाई क्यामराले सेन्टरमा राखेर क्लोज अप सट्स लिएको छ। पात्रहरूको अनुहार नै बोलिरहेको जस्तो लाग्ने यी क्लोज अप सट्सले फिल्मलाई मौनताको भाषामा कथा भन्न सघाएको छ।

यत्ति भनूँ फिल्ममा पात्रहरू जति नै सशक्त आवाजमा क्यामरा पनि बोलेको छ।

त्यसो त अधिकांश वाइड सट्स फाइन आर्ट पेन्टिङजस्ता मनमोहक लाग्छन् भने अधिकांश क्लोज अप सट्स पोर्ट्रेट पेन्टिङझैं संवेगात्मक लागिदिन्छन्।

२. समाज

फिल्मको अर्को सुन्दर पक्ष भनेको समाजको यथार्थ चित्रण हो। हुन त चिठीयुगको कथा भए पनि फिल्ममा कुनै निश्चित समयकाल तोकिएको छैन। यद्यपि, वैदेशिक रोजगारीका लागि युवाहरू गाउँ नै रित्तिने गरी पलायन हुनु आज पनि सान्दर्भिक नै लाग्छ।

फिल्मले एउटा हल्काराको कथा भन्ने बहानामा वैदेशिक रोजगारीको मोहले स्वदेशमा, गाउँ-समाज र घर-परिवारमा निम्त्याएको विविध समस्यालाई छताछुल्ल पारिदिएको छ। साथै, यहीबीचमा म्यानपावरमा हुने विकृति र निरन्तर घट्दै गरेको मानवीयताको ग्राफलाई पनि फिल्मले छर्लङ्ग देखाइदिएको छ।

गाउँमै केही गर्न खोज्नेलाई नगन्ने र साथ नदिने विकृत सामाजिक प्रवृत्तिमाथि व्यङ्ग्य गर्न पनि भ्याएकै छ फिल्मले।

३. लेयरिङ

फिल्ममा देखिएका लगभग सबै पात्रसँग आ-आफ्ना कथा छन्। सबैका कथा पृथक छन्। तर पनि, कतै न कतै ती जोडिएका छन्। कोही अवसाद छल्न पलायनको बाटो खोज्दैछन्। कोही जस्तै निस्सारताबीच पनि पलायन हुन मानिरहेका छैनन्। कोही विदेश जाने लहडमा छन्।

कोही गाउँ-ठाउँमै केही गर्ने हठमा छन्। कोही पराईका लास पर्खिरहेका छन्। कोही आफ्ना मान्छे फर्किने आस गरिरहेका छन्। कतै कोही आफ्ना भएर पनि, सँगै भएर पनि एक-अर्कालाई बुझ्दैनन्। कतै कोही एकअर्कालाई चिन्दैनन्, जान्दैनन् र पनि उस्तै पीडा र छटपटी भोग्दाछन्।

यसरी हरेक पात्रलाई आ-आफ्नो बेग्लै र सग्लै कथा बाँच्न दिएर पनि सबैका कथालाई खप्टिएर एउटै कथा बनाउन सक्नु फिल्मको स्वागतयोग्य पक्ष हो। र यहाँनेर भन्नैपर्ने कुरा के हो भने, पात्रहरूको कथा एक-अर्काका कथामा खप्टिएका त छन्, जोडिएका त छन् तर, जेलिएका छैनन्।

४. नारी चित्रण

फिल्ममा अधिकांश नारी पात्रहरूको पात्रत्व शक्तिशाली देख्न पाइन्छ।

उदाहरणका लागि मिया र उसकी आमाजुलाई लिऊँ, पुरुष पात्रको गालामा पाँच औंलाको छाप लगाउने यी दुवै नारी पात्रले दर्शकको मनमा समेत राम्रै छाप पार्नेछन्। एकातिर मिया छे जो एउटा अपरिचित लोग्ने मान्छेलाई घरमा बास दिन सासुको मत पर्खिन वा कसैसँग अनुमति माग्न जरुरी ठान्दिनँ।

समाजले के भन्छ वा आफन्तले के भन्छन् भन्ने डर मियामा देखिँदैन। आफ्नो निर्णय आफैँ लिनसक्ने सशक्त पात्र हो मिया। र अर्कातिर उसकी आमाजु आत्मनिर्भर हुन, आफ्नै व्यवसाय गर्न र आफ्नो जीविकोपार्जनका लागि स्वरोजगारमुखी बाटाहरू खोज्दै हिँडिरहेकी भेटिन्छे।

त्यसो त चिठीयुगमै भए तापनि मियाकी सासुसमेत सचेत लाग्छे। ऊ पुरातनवादी सोच राख्दिन। प्रगतिशील विचार राख्ने ऊ पनि समझदार पात्र हो।

पछिल्लो समय नेपाली फिल्म जगतमा आम नारी चरित्रले समेत फरक धार पाइरहेका छन्। सशक्त र आत्मनिर्भर नारी पात्रहरू फिल्ममा देखिनु स्वागतयोग्य कुरा त हो नै साथै यसले समाजमा महिलाहरूको स्थिति र चेतनामा बदलाव आइरहेको समेत पुष्टि गर्छ। यसो भन्न सकिन्छ, यो तथ्यको एउटा साक्षी बन्न हल्कारा सफल छ।

५. प्रतीक

चिठी पढेर सुनाउँदै गर्दा प्यासको कुरा हुनु र लगत्तैको अर्को दृश्यमा रामले मदिरा पान गर्नु। मियासँग चिठी लुकाइरहेको रामलाई केही कुरा लुकाइरहेका छौ भन्दै गर्दा रामले आफ्नो विगत सम्झिनु। मियालाई चिठी दिइसकेपछि रामले औँठी फुकाल्नु। फिल्ममा प्रतीकात्मक रूपमा यस्ता धेरै कुरा आएका छन्। खैर, फिल्ममा भेटिने सबैभन्दा मीठो प्रतीकको कुरा गरौँ।

फिल्ममा पटकपटक देख्न पाइने दृश्य हो ऐनाअघि उभिएर मियाले सिन्दूर लगाइरहेको। चिठी नपाइरहँदा उसले सिन्दूर लगाउने प्रक्रिया र चिठी पाइसकेपछिको प्रक्रियामा स्पष्ट भिन्नता देख्न सकिन्छ। सिन्दूर लगाउने यो प्रक्रिया घरी सन्देह र नैराश्यको प्रतीक बनेको छ त घरी उत्साह र आशाको। अझै अर्को शब्दमा भन्ने हो भने मृत्यु भय र जीवन उल्लासको!

६. पात्र विकास

थ्री याक्ट स्ट्रक्चरमा बनेको फिल्मको सुरुवातमा जेका लागि मिया अटल थिई क्लाइमेक्ससम्म आइपुग्दा त्यही पाइसकेपछि भने ऊ दोमन भएकी छे।

तर, सुरुवातमा जे कुरालाई रामले नगण्य सम्झेको थियो अन्तिमसम्म आइपुग्दा त्यसैप्रति उसले जिम्मेवारीबोध गरेको छ।

७. अभिनय

फिल्मको सबैभन्दा सुन्दर पक्ष क्यामरा हो भनिरहँदा सोही ठाउँमा अभिनय भन्न पनि मन थियो। तर, दुवैलाई एकसाथ भन्न नमिल्दा अभिनयलाई मुनि राख्न मन भयो। तर, मुनि लेखिए पनि कलाकारहरूको अभिनय भने खुनी नै हो। अर्थात् ज्यानमारा!

मुख्य पात्र राम अर्थात् हल्काराको भूमिका निभाएका कलाकार महेश त्रिपाठीले केन्द्रीय पात्रका रूपमा पहिलोपटक मा यसै फिल्ममा अभिनय गरेको भनिए पनि यस्तो लाग्दैन कि अभिनयमा साच्चै नै उनको यो प्रथम बाजी थियो। अवसादपूर्ण विगत, ग्लानी र कुण्ठा बोकेर बाँचिरहेको पात्रलाई त्रिपाठीको अभिनयले गर्न सकिने जति वा चाहिने जति न्याय गरेको छ।

त्यसो त ठूलो पर्दामा अर्को नौलो अनुहार विनिता थापा मगरलाई पनि नौलो मान्न मन लाग्दैन। विमलाकुमारी आमैका लागि चिठी पढिरहँदाकी मियालाई हेरेर नरुने दर्शक साच्चै नै बाक्लो त्वचाका हुन्। उनी पात्रभित्र यसरी बाँचेकी छिन् लाग्छ वास्तविकतामा पनि उनी विनिता होइनन्, मिया नै हुन्।

यसो भनूँ, नेपाली फिल्म जगतमा हल्काराले दुईजना ताराहरू हिजै स्थापित गरिसक्यो भन्दा फरक नपर्ला।

बेमौसमको कथा

हिलो खेल्दै कमलको फूलको सौन्दर्य नियाल्दै गर्दा मौसमको ख्याल गर्न झण्डै बिर्सिएको। हल्कारा आखिर बेमौसमको फूल किन हो?

अँ, हल्कारा खिचिएको करिब ५ वर्षअघि हो। कारणवश प्रदर्शनमा ढिलाइ हुँदा नेपाली फिल्म जगतको मौसम फेरिइसकेको छ। यस दौरान बुलबुल, चिसो एस्ट्रे, प्रकाश, राधा, ऐना झ्यालको पुतली, जारी जस्ता फरक धारका अब्बल सिनेमा बाहिरिसक्दा नेपाली दर्शकहरूको फिल्म बुझ्ने चेतनास्तर र फिल्मप्रति राख्ने अपेक्षाको ग्राफ निकै माथि पुगिसकेको छ। यसअर्थमा, हल्कारा मौसम घर्किसकेपछि बेमौसममा फुलेको फूल बन्न पुगेको छ।

खैर, मेनस्ट्रिमको परम्परागत नियमलाई भत्काउँदै अलग धारमा बुनिएको हल्कारा हिलोमा फुलेको कमलको फूल हो। हिलोलाई नजरअन्दाज गरेर हेर्ने हो भने फूलको शेष सौन्दर्यले तपाईंलाई वशीभूत पार्दैन भन्न सकिन्न। कमलको चिठी पोखरीमा खसेपछि हल्काराको खाँटी कहानी सुरु हुन्छ। चिठी पुर्‍याउने हुलाकीको एउटा मामुली लाग्ने जागिरको संवेदनशीलताको गहिराइले दर्शकलाई मुटुमै छुन्छ। र त्यसको महत्त्व मगजमै टाँसिएर बस्छ।

पुनश्च:

जाँदाजाँदै, सहायक भूमिकामा अति थोरै देखिए तापनि घुर्मैलो सेतो वस्त्रमा केश फिजारेर थरथर काँपिरहेका हातले स्वेटर बुन्दै गरेको त्यस डार्क क्यारेक्टरले दर्शकलाई निकै परसम्म पछ्याइरहन्छ।


Comment

One thought on “हल्कारा : बेमौसममा फुलेको कमलको फूल !

  1. मनबाट भन्दा पनि मस्तिष्कबाट लेखिएको समिक्षा रहेछ । दिमाग नै हल्लाइदिने तपाई पनि डेन्जर । फिल्म त हेरिन्छ आइतबार

Leave a Reply to Rabikiran Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved