बलात्कार घटनामा पीडकसँग प्रहरीको मिलेमतो ! ‘मेडिकल टेस्ट’ गर्न पठाइएकी किशोरी बाटैबाट फिर्ता (भिडिओ)

प्रहरीको बहाना : उजुरी दर्ता गर्नका लागि जन्मदर्ता र बुवा-आमा झिकाइयो

पीडित भनिएकी किशोरीको उजुरी लिइएन। उजुरी दर्ता नगराउनकै लागि काठमाडौं परिसरबाट महिला सेल पठाइयो। महिला सेलमा ‘मेडिकल टेस्ट’को लागि आइसकेको गाडी फिर्ता गरेर जन्म दर्ता लिएर आउन भन्दै पीडितलाई फर्काइयो। आइतबार पीडितले जन्म दर्ता लिएर जाँदा बाबुआमा लिएर अपराध महाशाखा जानु भन्दै पठाए।

नेपालभ्युज

बलात्कार घटनामा पीडकसँग प्रहरीको मिलेमतो ! ‘मेडिकल टेस्ट’ गर्न पठाइएकी किशोरी बाटैबाट फिर्ता (भिडिओ)

काठमाडौं। संघीय राजधानी काठमाडौंमै बलात्कारजस्तो जघन्य अपराधका घटनाका दोषीलाई प्रहरीकै मिलेमतोमा उन्मुक्ति दिन खोजिएको घटना बाहिरिएको छ । २१ वैशाख बिहीबार काठमाडौं महानगरपालिका ३० ज्ञानेश्वरस्थित मसाज सेन्टरमा आफू बलात्कृत भएको भन्दै १७ वर्षीय किशोरी निवेदन लिएर प्रहरी कार्यालय जाँदा दर्ता नगरी पीडकलाई उन्मुक्ति दिन खोजिएको हो।

राजेश जायन नाम गरेका व्यापारीले स्पाको क्यास काउन्टरमा जागिर लगाइदिन्छु भनेर स्पा सञ्चालन गरिएको घरको एक कोठामा लगेर बलात्कार गरेको पीडित किशोरीको आरोप छ। एक सातादेखि भेट्ने प्रस्ताव गरिरहेको ती व्यापारीले दरबारमार्गमा भेटेको र ज्ञानेश्वरस्थित स्पामा लगेको पीडित किशोरीले बताएकी छिन्। घटनापछी उजुरी लिएर जाँदा प्रहरीले दर्ता गर्न नमानेपछी आफू उजुरी लिएर कहिले काठमाडौं परिसर, कहिले प्रहरीको महिला सेल कालीमाटी त कहिले अपराध महाशाखा घुमिरहेको पीडितकोकाे गुनासो छ।

घटनाको भोलिपल्टै २२ गते शुक्रबार प्रहरी परिसर काठमाडौं जाँदा आफूलाई दिनभर कुराएर जन्म दर्ता प्रमाणपत्र लिएर आउन भन्दै फर्काएको पीडित किशोरीले गुनासो गरेकी छिन्। भोलिपल्ट शनिबार भएकोले आफू नगएको र आइतबार (आज) २२ वैशाखमा जाँदा आमाबुबा लिएर आउन भन्दै फर्काइएको उनले बताइन्।

निवेदन लिएको गएको पहिलो दिन २२ गते शुक्रबार महिला सेलले आफूलाई स्वास्थ्य परीक्षणको लागि थापाथली अस्पताल लग्ने तयारी गरिसकेपछि फिर्ता पठाएको पीडित किशोरीको दाबी छ।

ती किशोरीले नेपालभ्युजसँग भनिन् ‘‘पहिलो दिन महिला सेलमा लगियो। त्यहाँ मेडिकल रिर्पाेटको लागि पाँच मिनेटमा भ्यान आउँछ। भन्नुभयो। तर पीडकसँग उहाँहरूको कुरा भएपछि त्यो प्रक्रिया रोकियो। साँझ ६ बजेसम्म मलाई त्यहीँ राखेर जन्म दर्ताको प्रमाणपत्र लिएर आउन भन्दै मलाई फर्काइयो।’’

पहिलो दिन उजुरी लिएर काठमाडौं प्रहरी परिसर जाँदा महिला सेल कालीमाटी पठाइएको र महिला सेलमा उजुरी लिएर जाँदा अपराध महाशाखा बानेश्वर पठाइएको किशोरीले बताइन्।

आइतबार महिला सेलमा जन्म दर्ताको प्रतिलिपि लिएर उजुरी गर्न जाँदा फेरि बाबुआमा लिएर आउन भन्दै फर्काएको उनले गुनासो गरिन्। उनले भनिन्, ‘‘आज फेरि उहाँहरूले भनेजस्तै जन्म दर्ताको प्रमाणपत्र लिएर गएँ। तर, उहाँहरूले बुबाआमा लिएर आउनुस् भन्दै फर्काउनुभयो। अब यहाँ नआउन भन्दै अपराध महाशाखा पठाउनुभएको छ।’’

पीडित बताउने किशोरीको निवेदन

आफ्नो बाबुआमा गाउँमा रहेको बताउँदै पीडित किशोरीले आफूलाई यो सबै प्रक्रिया गर्न लगाएको बहानामा प्रमाण नष्ट गरेर पीडकलाई बचाउन खोजेको आरोप लगाइन्।

ती किशोरीले भनिन्, ‘‘म आफू बलात्कृत भएको हुँ भन्दै जाँदा रातिसम्म राखेर फर्काइयो। कहिले के कहिले के बहानामा भोलि आउनुभन्दै फकाइएको छ। यहाँ के भइराखेको छ मैले बुझ्नै सकिन।’’

यस विषयमा काठमाडौं प्रहरीले भने संवेदनशील विषयमा आफूले लापरबाही नगर्ने बताएको छ। प्रहरी परिसर काठमाडौंका प्रवक्ताले भनेका छन्, “यबारेमा के भएको हो । हामी बुझ्नेछौँ । घटनाबारे अनुसन्धान हुनेछ र सत्यतथ्य घटना बाहिर ल्याउनेछौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved