‘रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्छ’

आजमात्रै चितवन झरेका प्रधानमन्त्री प्रचण्डले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारका फाइल खोल्न तयार रहेको बताएका छन् । 

नेपालभ्युज

‘रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्छ’

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति तथा संसदीय समितिको संयुक्त बैठक बस्दैछ । बैठक सोमबार बिहान ११ बजे बसुन्धरास्थित पार्टी कार्यालयमा बस्ने महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले बताए ।

प्रवक्ता ढकाल सरकारलाई दिएको समर्थनबारे पनि छलफल हुने बताउँछन् । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैछ ? भन्ने प्रश्नमा प्रवक्ता ढकाल भन्छन्, “बैठकमा छलफल हुन्छ र छलफलबाट एउटा निर्णय हुन्छ ।”

स्रोतकाअनुसार रास्वपाले समर्थन फिर्ता लिने निर्णय पनि गर्न सक्नेछ । स्रोतले नेपालभ्यूजसँग भन्यो, “हामीले सरकारलाई दिइरहेको समर्थनको औचित्य नदेखिएको पछिल्लो विश्लेषण छ । जबकी न्यूनतम साझा कार्यक्रमबाट हाम्रा मागहरू हटाइएका छन् । त्यसैले हामीले सरकारलाई समर्थन गरिरहनुपर्ने कुनै औचित्य छैन । त्यस मानेमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि हुन सक्छ ।”

रास्वपा अहिले सत्ता गठबन्धनमै छ । पछिल्लोपटक विस्तार भएको मन्त्रिपरिषद्‌मा सहभागी नभएको रास्वपा अहिले समर्थन फिर्ता लिने ‘मूड’मा देखिएको छ । सभापति रवि लामिछानेले पनि समर्थन फिर्ता लिने सङ्केत गरेका छन् । वैशाख १० को उपनिर्वाचनमा चितवन २ बाट भारी मतान्तरसहित निर्वाचन उनले भनेका छन्, ‘समर्थन फिर्ता लिन पनि सकिन्छ । गठबन्धनमा हाम्रो कार्यक्रमहरू हटाइएका छन् ।’

यदि रास्वपाले समर्थन फिर्ता लिएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुन: विश्वासको मत लिनुपर्छ । पुस १० गते सरकार बनेपछि पुस २६ गते र नेकपा (एमाले) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि फागुन ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले भने रास्वपालाई सरकारमा ल्याउन कसरत गरिरहेका छन् ।

यसअघि आइतबार मात्रै प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेबीच भेटवार्ता भएको थियो । उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले ‘सरकारमा जसरी भएपनि सहभागी हुनूस्’ भनेर भनेका थिए । त्यसमा लामिछानेले पार्टीमा छलफल गर्ने बचन दिएका छन् । आजमात्रै चितवन झरेका प्रधानमन्त्री प्रचण्डले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारका फाइल खोल्न तयार रहेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved