सन्दर्भ : मनमोहन अधिकारीको २४औं स्मृति दिवस

‘मनमोहन अधिकारी कम्युनिष्ट नेता र प्रधानमन्त्री दुवैका रूपमा लोकप्रिय व्यक्तित्व हुन्’

‘मनमोहन अधिकारी नेपालको कम्युनिष्ट आन्दोलनकै एक आदरणीय, महत्त्वपूर्ण र सम्मानित नेता/नेतृत्व हुनुहुन्छ । नेपालको कम्युनिष्ट आन्दोलन उहाँबिना पूर्ण हुन सक्दैन ।’

‘मनमोहन अधिकारी कम्युनिष्ट नेता र प्रधानमन्त्री दुवैका रूपमा लोकप्रिय व्यक्तित्व हुन्’

मनमोहन अधिकारी नेपालको कम्युनिष्ट आन्दोलनकै एक आदरणीय, महत्त्वपूर्ण र सम्मानित नेता/नेतृत्व हुनुहुन्छ । नेपालको कम्युनिष्ट आन्दोलन उहाँबिना पूर्ण हुन सक्दैन । त्यसो त मैले आन्दोलन पूरा भइसक्यो भन्ने रूपमा यसो भनिरहेको छैन, तर अहिलेसम्मको आन्दोलनको कुरा गर्दा पनि उहाँ छुट्नुहुन्न र छुटाइनु हुँदैन । नेपालको कम्युनिष्ट आन्दलनको कुरा गर्दाखेरि उहाँ नछुट्ने र एक महत्त्वपूर्ण पात्र हुनुहुन्छ, नेता हुनुहुन्छ र आदरणीय हुनुहुन्छ ।

र, पहिलो निर्वाचित कम्युनिष्ट सरकारका प्रमुखका रूपमा त उहाँलाई झन् कसैले भुल्ने कुरै भएन । उहाँ निर्वाचित पहिलो कम्युनिष्ट प्रधानमन्त्रीका रूपमा निकै सफल व्यक्ति हुनुहुन्छ । उहाँले छोटो समयमै राम्रो काम गरेर, राम्रा कार्यक्रमहरू अगाडि बढाएर र छाप बस्ने ढङ्गको सरकार चलाएर/काम गरेर देखाउनुभयो । त्यसबाट जनताको विश्वास जित्नुभयो र सरकार उत्तिकै लोकप्रिय बन्यो, जनप्रिय बन्यो । त्यसैले उहाँ प्रधानमन्त्रीका रूपमा पनि निकै सफल व्यक्ति हुनुहुन्छ, सम्मानित व्यक्तित्व हुनुहुन्छ ।

जहाँसम्म हाम्रो व्यक्तिगत सम्बन्ध र आदरभावका कुराहरू छन्, उहाँ निकै सरल व्यक्ति हुनुहुन्थ्यो र मलाई पनि धेरै माया र विश्वास गर्नुहुन्थ्यो । त्यसैले त ०५१ सालमा बनेको सरकारमा मलाई पनि सहभागी गराउनुभयो । म त्यसबेला कानून, न्याय तथा संसदीय व्य्वस्था र सामान्य प्रशासनमन्त्री भएको थिएँ । उहाँले मलाई सधैँ सल्लाह, सुझावसँगै एउटा नेताले दिनुपर्ने माया दिनुहुन्थ्यो । उहाँलाई मैले नजिकबाट चिन्छु र सम्मान गर्छु ।

मलाई राम्रो सम्झना छ—  मैले परिवारभन्दा बाहिर पहिलोपटक दशैंको टीका लगाएको मनमोहन अधिकारीकहाँ हो, उहाँको हातबाट हो । मैले उहाँलाई आफ्नो अभिभावकजस्तो सम्झिन्थेँ, उहाँले पनि मलाई आफ्नो परिवारकै एक सदस्यजस्तै ठान्नुहुन्थ्यो । त्यसैले मैले उहाँलाई साह्रै-धेरै आदर गर्छु, सम्मान गर्छु । उहाँ त्यस्तै व्यक्तित्व हुनुहुन्छ ।

मैले अघि पनि भनेँ; उहाँ  कम्युनिष्ट सरकारका प्रधानमन्त्रीका रूपमा मात्रै होइन, अहिलेसम्म जुन-जुन पार्टीले सरकार चलाए, जो-जो प्रधानमन्त्री भए, उनीहरूमध्ये नै एक अविस्मरणीय नेता/प्रधानमन्त्री हुनुहुन्छ । त्यसैले त आज पनि मान्छेहरूले सफल सरकार र प्रधानमन्त्रीको कुरा गर्दा त्यही मनमोहन अधिकारी नेतृत्वको सरकार र प्रधानमन्त्री मनमोहन अधिकारीकै उदाहरण दिन्छन् । त्यसैले बताउँछ नि उहाँ कति लोकप्रिय प्रधानमन्त्री/नेता हुनुहुन्थ्यो र उहाँले हाँक्नुभएको सरकार कति लोकप्रिय/जनप्रिय थियो भनेर त । उहाँले चलाउनुभएको सरकार निकै लोकप्रिय थियो, त्यसमा विवाद नै भएन ।

म उहाँलाई नजिकबाट बुझेको, चिनेको र महसुस गरेको मान्छे हुँ । उहाँ निकै सरल र नम्र व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ पार्टीका लागि त महत्त्वपूर्ण हुनुहुन्थ्यो नै, सँगै देशकै लागि पनि एउटा महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले जनतामा भएको परिवर्तनको भावना, चाहना र आकांक्षालाई पूरा गर्ने दिशमा थुप्रै कामहरू गर्नुभयो, प्रयासहरू गर्नुभयो । त्यसैले त आज पनि कतिपयले टिप्पणी गर्छन् कि नेकपा [एमाले]ले अहिले पनि मनमोहन अधिकारी नेतृत्वको सरकारले कमाएको फल खाइरहेको छ भनेर । एक हिसाबले भन्ने हो भने त्यसलाई नकार्न पनि सकिन्न कि मनमोहन अधिकारीले राम्रो काम गरेकै कारणले आज [एमाले] ले कति ठाउँ सम्मान प्राप्त गरेको छ र जस पाएको छ ।

त्यसैले उहाँ निकै महत्त्वपूर्ण, सम्मानित र आदरणीय व्यक्तित्व हुनुहुन्छ । तर, दूर्भाग्य भन्नुपर्छ कि उहाँ धेरै समय रहनुभएन । उहाँ नरहनु भनेकोचाहिँ हाम्रो पार्टी नेकपा [एमाले] का लागि त हो नै सँगै देशका लागि पनि एक अपूरणीय क्षति हो, अपूरणीय हो । उहाँको देहावसानलाई दूर्भाग्यको रूपमा बुझ्छु मैले । मेरो पार्टीले पनि त्यसैगरी बुझ्छ र देशले पनि उहाँलाई गुमाउँदा धेरै क्षति बेहोर्‍यो । त्यसैले उहाँ नेपालको कम्युनिष्ट आन्दोलनका लागि मात्रै नभएर सिङ्गो देश र व्यवस्थाका लागि महत्त्वपूर्ण र सम्मानित नेता हुनुहुन्थ्यो । मैले उहाँलाई यहीरूपमा बुझ्छु र लिन्छु । उहाँजस्तो सम्मानित नेतालाई हामी सबैले त्यहीरूपमा लिनुपर्छ, सम्मानितरूपमा लिनुपर्छ । उहाँप्रति हार्दिक श्रद्धा-सुमन अर्पण गर्दछु ।

(प्रथम निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४औं स्मृति दिवसका अवसरमा नेकपा (एमाले) का उपाध्यक्ष एवम् तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारका कानून, न्याय तथा संसदीय व्य्वस्था र सामान्य प्रशासनमन्त्री सुवासचन्द्र नेम्वाङसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको सामाग्री ।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved