सत्ताबाट निरन्तर ओरालो यात्रामा एमाले !

नेपालभ्युज

सत्ताबाट निरन्तर ओरालो यात्रामा एमाले !

काठमाडौं। २०७९ पुस १० मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने अभिलाषा लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोटको बार्दलीमा पुग्दा एमालेको लागि सत्ताको ढोका खुलेको थियो।

कांग्रेससँगको चुनावी गठबन्धन तोडेर ढोकैमा आएका प्रचण्डलाई प्रधानमन्त्री दिएपछि एमालेले प्रतिनिधिसभामा सभामुख, संघीय सरकारमा ८ मन्त्रालय र प्रदेशमा ४ मुख्यमन्त्रीसहित दर्जन मन्त्री हात पार्‍यो। यो सँगै राष्ट्रपति र साँढे दुई वर्षपछि प्रधानमन्त्री समेत लिने दाउमा थियो एमाले ।

तर, फागुन २५ को राष्ट्रपति चुनावसम्म आइपुग्दा केन्द्र सरकारबाट ८ मन्त्री र सुदुरपश्चिम प्रदेश सरकार गुमाएको एमालेले ४ महिना भित्र सत्तामा लगातार ओरालो यात्रा गर्नुपरेको छ। पछिल्लो तीन दिनमा एमालेले थप दुई मुख्यमन्त्री समेत गुमाएको छ।

गत शनिबार गण्डकी प्रदेश सरकारको नेतृत्व र सोमबार लुम्बिनी प्रदेश सरकार ढलेसँगै एमालेसँग अब प्रतिनिधिसभामा सभामुख र कोशी प्रदेशको मुख्यमन्त्री मात्रै बाँकी छ। राष्ट्रियसभाको अध्यक्ष गणेश तिमिल्सिना भने नेकपाकालमै एमालेले भागबन्डाबाटै पाएको हो।

फागुन १३ मा राष्ट्रपति पदको उम्मेदवारी दर्ता गर्दा माओवादीले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेसँगै एमालेका मन्त्रीले १५ गते प्रधानमन्त्री प्रचण्डलाई सामूहिक राजीनामा बुझाएर बाहिरिएका थिए।

मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री रहेका विष्णु पौडेल, कृषिमन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल,उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले राजीनामा दिएपछि एमाले संघीय सरकारबाट बाहिर पुग्यो।

त्यसपछि एमालेको सत्ता बाहिर जानेक्रम प्रदेशतर्फ सोझियो । बागमती,मधेसप्रदेश र कर्णाली प्रदेशमा रहेका मन्त्रीहरू राजिनामा दिएर निस्किए । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा रहेका एमाले नेतृत्वको सरकार पनि अल्पमतमा पुग्यो ।

अल्पमतमा भएपनि एमालेका मुख्यमन्त्री कोशीका हिक्मत कार्की,गण्डकीका खगराज अधिकारी र लुम्बिनीका लिला गिरीले अल्पमतमै सरकारको नेतृत्व गरिरहे ।

गएको शनिबार गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेसँगै त्यसको ३ दिनपछि सोमबार लुम्बिनीका मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकार समेत ढल्यो। अल्पमतमा चलिरहेका यी दुवै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धि प्रस्ताव अस्वीकृत भएसँगै सत्ताको नेतृत्व गुमेको हो ।

यसअघि, विश्वासको मत नपाएपछि सूदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल नेतृत्वको सरकार पनि एक महिनामै ढलेको थियो। त्यतिबेला नागरिक उन्मुक्ति पार्टीको समर्थन नपाउँदा रावलको सरकार ढलेको थियो। यद्यपि, केन्द्र सरकारमा एमाले–माओवादी गठबन्धन टुटेको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved