आलु महोत्सवमा काउली र सिमीको चर्चा !

नेपालभ्युज

आलु महोत्सवमा काउली र सिमीको चर्चा !

काठमाडौं। पर्यटकीय नगरी पोखरामा ११औं राष्ट्रिय हेम्जा आलु महोत्सव जारी छ। वैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक सय २० वटा स्टल रहेका छन्।

कोरोनाका कारण तीन वर्षपछि मात्रै भएको महोत्सवमा आलुसँगै काउली र सिमीको चर्चा बढी छ। आयोजकले महोत्सवमा प्रदर्शन गरेको झाँकीमा पनि त्यो देखिन्छ। साथमा स्टेजमा बजेको ‘म काउली…’ भन्ने गीतले समेत चर्चा बटुलेको देखिन्छ।

महोत्सव अवधिमा करिब ४० टन आलु बिक्रीवितरण हुने आयोजक पक्षको दाबी छ। ‘सुन्दर ठाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खा’ अनी आलु एक, परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव भइरहेको हो। जसमा आमा समूहले आलुसँगै काउली र सिमीको माला, टोपी र परिकार बनाएर प्रदर्शनीमा राखेका छन्।

महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, बोटबिरुवाको परीक्षण तथा रोगको निधान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रमसमेत भइरहेको छ।

महोत्सवमा कृषि विज्ञ र किसानबीच अन्तर्क्रिया कार्यक्रम पनि भएको छ। साथै, दर्शकले राष्ट्रिय कलाकारहरूबाट गीत संगीतको मनोरञ्जनसमेत लिइरहेका छन्।

महोत्सवमा प्रतिकिलो ३५ रुपैयाँमा आलु बिक्री भइरहेको र महोत्सवमा राखिएका मध्य २५ प्रतिशत स्टलहरू कृषिसँग सम्बन्धित स्टल रहेको महोत्सव आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए।

यसैगरी, आलु महोत्सवकै सन्दर्भमा जैविक विविधतासम्बन्धी कृषि गीत प्रतियोगिता समेत गरिएको महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको सहजीकरणमा भएको प्रतियोगितामा वडा नं. ३३ को कृषि सञ्जाल प्रथम, पुरन्चौरस्थित उपकार आमा समूह द्वितीय, पोखरा २२ पुम्दीभुम्दी स्थित बेमौसमी तरकारी कृषक समूह तृतीय र  हेम्जा कृषि सञ्जालको समूह सान्त्वना भए।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ती समूहहरूले क्रमश रु.१० हजार, ७ हजार, ५ हजार, ३ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

त्यस्तै, महोत्सवका आलुको कारोबार पनि दिनप्रतिदिन वृद्धि हुँदै गएको महासचिव श्रेष्ठको भनाइ छ। आलु किन्नकै लागि कास्कीलगायत छिमेकी जिल्ला तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, म्याग्दीबाट समेत मानिसहरू हेमजा आएको र महोत्सव स्थलबाट हालसम्म करिब २० टन आलु बिक्री भएको कृषि परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved