कारबाही फुकुवा चुनावको मुखमा मञ्चित रणनीति होः गोविन्दराज जोशी

नेपालभ्युज

कारबाही फुकुवा चुनावको मुखमा मञ्चित रणनीति होः गोविन्दराज जोशी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेसले चुनावको मुखमा कारबाही फिर्ताको मञ्चन गरिएको भन्दै यसलाई अस्वीकार गर्ने बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले बारा, चितवन र तनहुँमा २०७९ सालको निर्वाचनमा पार्टीको आधिकारिक र पार्टीले समर्थन गरेको उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताले १० वैशाखको उपनिर्वाचनमा सहयोग गरेमा कारबाही फिर्ता गर्न सक्ने निर्णय गरेपछि जोशीले प्रतिक्रिया दिएका हुन् ।

‘नेपाली कांग्रेसले म र मसँग सम्बन्धित मान्छेसँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन’ उनले भनेका छन्, ‘चुनावको मुखमा मञ्चन गरिएको चुनावि रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाह विचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु ।’

उनले विज्ञप्तिमार्फत वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई नसघाउने संकेत गरेका छन् ।

यस्तो छ जोशीको प्रतिक्रिया-

वर्षौँदेखि नेपाली कांग्रेसको राजनितिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गरेको सजाय म र मेरो परिवारले वर्षौँदेखि भोग्दै आएको कुरा सबैमा जगजाहेरै छ। विगतका वर्षमा मैले जे जति भोगेको छु त्यसको श्रेय नेपाली काङ्ग्रेसलाई सक्काउन लागि परेका केही राजनितिज्ञहरूलाई जान्छ।

१० औँ हजार कार्यकर्ताको मतलाई वेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारबाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो, यो सरासर गलत हो। यसप्रति मेरो घोर आपत्ति छ। यो समस्या समाधानका निम्ति पटकपटक वार्ता टोली गठन गरी वार्ताको प्रयास गर्दा पनि पार्टीले बेवास्ता गरेको कुरा सम्पूर्ण जनतालाई जानकारी गराउन चाहन्छु।

सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टीमा सैद्धान्तिक विचलन ल्याउनेहरूबाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ।

नेपाली कांग्रेसले म र मसँग सम्बन्धित मान्छेसँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन। चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट विचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु।
म र नेपाली कांग्रेस पार्टीलाई नै सक्काउने उद्देश्यले गरिएको उक्त निर्णयको खण्डन गर्दै सोकाप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved