उद्योग वाणिज्य महासंघमा त्रिपक्षीय भिडन्त, अबको वरिष्ठ उपाध्यक्ष को ?

वरिष्ठ उपाध्यक्षमा महासंघका पूर्ववस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र सांघाई प्रतिस्पर्धीका रूपमा देखिएका छन्। उनीहरू चुनावी तयारीमा सक्रिय छन्।

नेपालभ्युज

उद्योग वाणिज्य महासंघमा त्रिपक्षीय भिडन्त, अबको वरिष्ठ उपाध्यक्ष को ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिएसँगै वरिष्ठ उपाध्यक्षका आकांक्षीहरूले आफ्नो पक्षमा माहोल तताउने क्रम तीव्र पारेका छन् । २८ र २९ चैतमा हुने निर्वाचनपछि महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष भएपछि वरिष्ठ उपाध्यक्षमा कसले बाजी मार्ला भन्ने चासो बढेको छ।

तीन वर्षे कार्यकाल रहने महासंघमा ढकालपछि यसपटक जसले वरिष्ठ उपाध्यक्षमा चुनाव जित्छ सोही व्यक्तिले नेतृत्व गर्नेछ। वरिष्ठ उपाध्यक्ष पदमा तीन जनाले उम्मेदवारी घोषणा गरे पनि पूरा प्यानल बनाइसकेका छैनन्। अहिले बन्ने वरिष्ठ उपाध्यक्ष अर्काे महाधिवेशनपछि स्वतः महासंघको नेतृत्वमा पुग्नेछन्।

वरिष्ठ उपाध्यक्षमा महासंघका पूर्ववस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र सांघाई प्रतिस्पर्धीका रूपमा देखिएका छन्। उनीहरू चुनावी तयारीमा सक्रिय छन्।

विगतमा चुनाव आउनु एक वर्षअघिबाटै आफ्नो पक्षमा माहौल बनाउन उम्मेदवारका आकांक्षी व्यस्त रहन्थे । यसपटक भने अर्थतन्त्रमा आएको संकटका कारण प्रतिस्पर्धाहरू ढिलो गरी मैदानमा उत्रिए। अर्काेकुरा यसपटक वरिष्ठ उपाध्यक्षका आकाँक्षी बिना प्यानल आफ्नो पक्षमा माहौल बनाउन देश दौडाहामा छन्।

सोमबार दिउँसो एक कार्यक्रम गरी प्यानल घोषणा गरेर अघि थप प्रचारमा होमिने वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ बताउँछन्। श्रेष्ठ अहिले आफू मतदाता भेट्नमा व्यस्त छन्। केही महिनायता देशका विभिन्न जिल्ला तथा नगर दौडमा रहेका उनी तीन उम्मेदवार मध्य बलिया प्रतिस्पर्धी मानिन्छन्। पूर्वअध्यक्षहरु र अब अध्यक्षको जिम्मेवारी सम्हाल्ने चन्द्र ढकालको समर्थन श्रेष्ठलाई छ।
श्रेष्ठले आफ्नो प्यानलबाट जिल्ला\नगर उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधानलाई उम्मेदवार बनाउँदैछन्।

आफू नेतृत्वमा आएमा शिथिल रहेको देशको अर्थतन्त्रलाई उकासेर चलायमान बनाउने र निजी क्षेत्रको महत्त्व सरकारलाई बुझाउन सफल हुने वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठको दाबी छ।

उनी भन्छन्, ‘‘मध्यमवर्गको आम्दानी बढाउन, अर्थतन्त्रमा आएको शिथिलता न्यूनीकरण गर्न, उद्योग व्यवसायलाई चलायमान बनाउन, संस्थागत सुदृढीकरण एवं सङ्गठनलाई सबल, असल र सक्षम नेतृत्व बनाउन मेरो भूमिका रहनेछ । निजी क्षेत्रका समस्यालाई बलियो रूपमा सम्बोधन गर्नेछु।’’

सोही कारण उपाध्यक्षका श्रेष्ठ आफू वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनेमा ढुक्क देखिएका छन्। जिल्ला तथा नगरको मतसमेत आफूलाई आउने उनको दाबी छ। उनी जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अधिवेशन तथा कार्यक्रमहरूमा पुगिरहेकाले पनि मत आफ्नो पक्षमा पार्न सफल हुने आकलन छ।

वरिष्ठ उपाध्यक्षका आकांक्षी अञ्जन श्रेष्ठले आर्थिक संकटको समाधान, ब्याजदरको समस्या हल गर्ने जस्ता मुद्दा उठाएका छन्।

वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी उमेशलाल श्रेष्ठले भने उद्योगी व्यवसायीको खास समस्या समाधान आफ्नो एक मात्र एजेन्डा भएको बताउँदैआएका छन्। अहिले उद्योगीहरूले भोगिरहेको आर्थिक, मौद्रिक र राजनीतिक समस्याको समाधानका लागि महासंघले ठोस पहल गर्ने गरी आफूले काम गर्ने उनको भनाइ छ।

वरिष्ठ उपाध्यक्षका अर्का दाबेदार साँघाइ भने अर्थतन्त्रमा आफ्नो योगदान नै प्रमुख चुनावी एजेन्डा मान्छन्। उद्योगी व्यवसायीको समस्या समाधान गर्दै मुलुकको अर्थतन्त्रमा ४० वर्ष देखि योगदान गरिरहेको उनले दाबी गर्छन्।

महासंघको नेतृत्व देशको अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने क्षमताको आउनुपर्ने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा)को पूर्वअध्यक्ष समेत रहेका व्यवसायी अच्युत गुरागाईँ बताउँछन्।

उनी भन्छन्, ‘‘अहिले अर्थतन्त्रमा समस्या देखा परेको छ। उद्योग व्यवसाय कसरी चलाउने भन्ने र उद्योगलाई कसरी बचाउने भन्ने मुख्य समस्या छ। त्यसैले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने क्षमतावान् नेतृत्वले जितेमा समस्या हल गर्न सक्नेछन्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved