पूर्वक्रिकेटर गौचन भन्छन्- ‘धेरै उत्साहित नबनौँ, सम्हालिएर खेले सुखद नतिजा आउनेछ’

नेपालभ्युज

पूर्वक्रिकेटर गौचन भन्छन्- ‘धेरै उत्साहित नबनौँ, सम्हालिएर खेले सुखद नतिजा आउनेछ’

पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले उच्च नतिजा हात पारिरहेको छ । पछिल्लो समय खेलेका ११ खेलमध्ये १० खेल जितेको छ भने एक खेलमा मात्रै हार व्यहोर्नुपरेको छ ।

नेपालमा नै भएको स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिज होस् वा यूएईमा भएको यूएई र पपुवा न्युगिनीसँगको खेल होस् ।आज नेपालले लिग–२ को अन्तिम खेल यूएईसँग खेल्दैछ । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु भएको खेलमा विश्वकप छनोटमा पुग्न नेपालले जित हासिल गर्नुपर्ने छ ।

पूर्वराष्ट्रिय क्रिकेटर शक्ति गौचनले नेपालले आजको खेलमा धेरै उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएछन् । गौचनले भने, ‘सम्हालिएको प्रदर्शन र विगतका खेलहरूलाई निरन्तरता दिए आज पनि नेपालले सुखद् नतिजा निकाल्ने सक्नेछ।’

नेपालले युएईलाई आजको खेलमा हराएमा टेस्ट मान्यता प्राप्त राष्ट्रहरूसँग खेल्न पाउनेछ । आजको खेलको बारेमा हामीले नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी शक्ति गौचनसँग यसै सन्दर्भमा केन्द्रित रहेर कुराकानी गरेका छौँ ।

पछिल्ला खेलमा नेपालले निकालेका सफलतालाई कसरी लिनुभएको छ ?

नेपाली टोलीले पछिल्लो समय पाएको सफलता निकै सकारात्मक छ । यसअघि पनि खेल त्यस्तो बिग्रिसकेको भने थिएन । त्यो बीचमा टोलीमा समावेश भएको केही खेलाडीमा अनुभवको कमी थियो । सो अवस्था हामी अनुकूल थिएन ।

अहिले आएर टोली सम्हालिएको छ । केही उतारचढाव टोलीमा हुन्छन् । अहिले सम्हालिएको छ । भोलि हुने ३६औं खेलमा खेलाडीले धेरै अनुभव बटुलिसकेका छन् । सो क्रममा ११ खेल खेल्दा १० खेलमा नतिजा निकाल्न सफल भएको छ ।

आजको खेल निकै अर्थ पूर्ण तरिकाले हेरिनेछ । खेल ऐतिहासिक हुनेछ । सबै ठीक भए नेपालले जित निकाल्दै विश्वकप छनोटमा स्थान बनाउनेछ ।

पछिल्लो समय नेपाली टोलीले प्राप्त गरेको सफलताको रहस्य के हुनसक्छ ?

अहिले टोली एक भएको छ । खेल्दा खेल्दा नयाँ खेलाडीले अनुभव बटुलिसकेका छन् । पछिल्लो १० खेलको नतिजाबाट खेलाडीमा अनुभव मिलेको देखियो । अहिलेको अवस्थामा नेपाली टोली नतिजा अनुकुल भइरहेको छ । अहिले जुन टोलीसँग खेले पनि नतिजा निक्लिन्छ भन्ने लागेको छ । यो अवस्था आउन खेलाडीको अथक मेहनत छ । उनीहरूको कडा मेहनत देखिएको हो ।

खेलाडीले वर्षौंदेखि गरेको हात पार्न गरेको मेहनत मैदानको खेलबाट देखिएको छ । सबै संयन्त्रबाट सही काम भएको अवस्थामा सफलता मिल्छ भन्ने यसबाट सन्देश मिलेको छ ।

यसअघि बलिङ पक्ष राम्रो भनिन्थ्यो, तर अहिले अन्तिमसम्म पनि ब्याटिङ लाइन राम्रो देखिएको छ, पर्दा पछाडिको रहस्य नयाँ प्रशिक्षक हुन् कि अन्य कुनै कारण पनि छन् ?

यो अवस्थासम्म आइपुग्दा सबै विषय जोडिएका छन् । खेलाडीको मेहनत हुने नै भयो । अर्को भनेको अन्तर्राष्ट्रिय स्तरमा ब्याटिङको अनुभव हो । कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा मौका पाउनु नै सुधारका लागि अवसर हो । अहिले टिममा नयाँ जोश छ । नयाँ लक्ष्यका साथ टोली अगाडि बढिरहेको छ।

टिमको एक मात्र लक्ष्य भनेको विश्वकप छनोटमा स्थान बनाउने रहेको छ । सँगै जोडिनुभएका प्रशिक्षक मोन्टी देशाई हुन् । उहाँसँग मैले ४-५ वटा भ्रमण गरेको छु । उहाँ ब्याटिङ प्रशिक्षक र कन्सल्टेन्टको रूपमा जोडिनुभएको थियो । सो क्रममा मैले धेरै नयाँ कुरा सिकेको छु ।

उहाँ निकै सजिलो र सरल तरिकाले सिकाउने प्रशिक्षक हुनुहुन्छ । साथै, उहाँले ठूला विषयलाई सहज तरिकाले सल्टाउनसक्ने क्षमता राख्नुहुन्छ । उहाँको यही खुबी नै अहिलेको टिममा परेको हो जस्तो लाग्छ । यस्तै यस्तै विषयको समिश्रणले गर्दा टोली लयमा देखिएको छ ।

नेपालले लिगकै अन्तिम खेल यूएईसँग खेलिरहेको छ, जुन निकै महत्त्वपूर्ण छ, उक्त खेलको अनुमान के छ ?

नेपालले बिहीबार यूएईसँग खेल्दै गर्दा म निकै उत्साहित छु । यो उत्साह म मात्रै हैन समग्र नेपाल पनि यस खेलमा उत्साहित छ ।
सबै नेपाली प्रतीक्षामा छन् । उत्साहलाई खुसियालीमा परिणत गर्न पाऊँ भन्ने छ । सुखद् नतिजा निकाल्दै छनोट यात्रा तय गरेको अवस्थामा ट्वान्टी–२० पछिको सबै भन्दा यादगार क्षण हुनेछ ।

यो क्षण २०१४ पछिको हुनेछ । २०१४ मा नेपालले ट्वान्टी–२० खेलेको थियो । यूएईसँगको खेलपछि नेपाली टोलीले समग्र नेपालीलाई खुशी अवश्य नै दिनेछ ।

नतिजा कस्तो हुन्छ होला ?

हामी जसरी भए पनि यो खेलमा सुखद् नतिजा निकाल्ने हो । अहिलेको टोलीमा जोश र जाँगर छ । टोलीले लक्ष्य निर्धारण गरेको छ । जति सक्दो राम्रो खेल्ने हो । योजनवद्ध तरिकाले खेल्यौं भने अवश्य नै नतिजा पोल्टामा पर्छ । बल बाई बल अगाडि बढ्नुपर्छ । रणनीतिअनुसार खेल्दा अपेक्षा गरिएको सफलता पाउनेछौं ।

विपक्षी टोलीबिरुद्ध कस्तो रणनीति हुन्छ होला ?

कुनै पनि खेलमा विपक्षीसँग कस्तो खेल्ने भन्ने विषयमा टिम म्यानेजमेन्ट, प्रशिक्षक र कप्तानले निर्धारण गरेको हुन्छ । बाहिर बसेर धेरै कुरामा टिप्पणी गर्नसक्दैँनौँं । सबै विषयमा मूल्यांकन ड्रेसिङ रुममा भएको हुन्छ ।

अघिल्ला खेलमा प्राप्त नतिजाको आधारमा भन्नुपर्दा यूएईलाई अन्तिम खेलमा पराजित गर्न कठिन हुने छैन । सहज तरिकाले हामीले नतिजा निकाल्न सक्छौं ।

समर्थक र खेलाडीलाई सुझाव के छ ?

जुन लयका साथ टोलीले खेलिरहेको छ त्यो लयलाई निरन्तरता दिन आग्रह गर्दछु । कप्तानले पनि राम्रो तरिकाले टोलीको नेतृत्व सम्हालिरहनुभएको छ ।

धेरै उत्साहित हुनेपर्ने अवस्था होइन । बलबाई बल केन्द्रित रहेर खेल्दा नतिजा हाम्रै पक्षमा पर्छ । अघिल्ला खेल लिएको लयलाई निरन्तरता दिनु राम्रो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved