काठमाडौंमै बङ्गला भएकी पूर्वराष्ट्रपति भण्डारीलाई मासिक १ लाख, अन्य सुविधा पनि कम छैनन्

भत्ता, सचिवालय, गाडी, चालक, बिजुली, पानी, पत्रिका, उपचार खर्च गरी थप लाखौँको खर्च

भण्डारीले अवकाशपछि कुनै पनि सरकारी सेवा–सुविधा नलिने भनिएको थियो । तर  अहिले उनले मासिक लाखौंको सुविधा लिने भएकी छन् । 

नेपालभ्युज

काठमाडौंमै बङ्गला भएकी पूर्वराष्ट्रपति भण्डारीलाई मासिक १ लाख, अन्य सुविधा पनि कम छैनन्

काठमाडौं। निवर्तमान राष्ट्रपति विद्या भण्डारीले राज्य कोषबाट रकम नलिने र आफ्नै घरमा बस्ने भन्दै प्रचार गरे पनि मासिक १ लाख रुपैयाँ र अरू थुप्रै सुविधावापत त्योभन्दा धेरै रकम लिने भएकी छिन् ।

भण्डारीले राष्ट्रपतिबाट अवकाश भएपछि राज्यको सुविधा नलिने भन्दै आफ्नो घर पुनर्निर्माण गराइरहे पनि घर मर्मत भन्दै मासिक एकलाख रुपैयाँ लिने भएकी हुन् । विकसित मुलुकको अभ्यास हेर्ने हो भने पदबाट बाहिरिएपछि आम नागरिकको रूपमा पूर्वशासकले जीवनयापन गरिरहँदा नेपालमा भने पूर्व राष्ट्रपति सेतो हात्ती जस्तै भइरहेका छन् ।

यसअघिका पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि आफ्नो घर हुँदाहुँदै भाडावापत भन्दै राज्य कोषबाट रकम लिँदै आएका छन् । भण्डारीले भने अवकाशपछि कुनै पनि सरकारी सेवा–सुविधा नलिने भनिएको थियो । तर  अहिले उनले मासिक लाखौंको सुविधा लिने भएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीको बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगालको नीलबाराही टोलमा निजी बंगला मर्मत भइरहेको छ। अबको एक महिनाभित्र सो बंगला मर्मत सकिने र उनी त्यही बस्ने पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ। अहिलेको लागि भने उनी छोरी उषा किरणकहाँ बसेकी छिन्।

नेपालमा उच्च पदस्थ पूर्वपदाधिकारीलाई सरकारले सुविधा दिने गरेको छ । जसमा पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उच्च अधिकृत, सुरक्षा निकायका प्रमुख लगायत  पर्दछन्।

पूर्व राष्ट्रपतिको सन्दर्भमा कानुन नभएकाले सरकारले मन्त्रिपरिषद्को निर्णयबमोजिम सुविधा उपलब्ध गराउँदै आएको छ । जसअनुसार पूर्वउपराष्ट्रपतिको नाममा पनि घरभाडा, बिजुली, पानी, मासिक भत्ता, सवारी, सवारी चालक, सचिवालय कर्मचारी र सुरक्षा उपलब्ध गराइने गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङले बताए ।

शीतलनिवास छाड्दै राष्ट्रपति भण्डारी, मर्मत सकिएन बुढानीलकण्ठको घर, कहाँ बस्लिन् ?

मन्त्रालयका सूचना अधिकारीसमेत रहेका तामाङले नेपालभ्युजसँग भने, ‘‘आवास सुविधाअन्तर्गत घर भाडाका लागि मासिक २ लाख रुपैयाँ उपलब्ध गराउने गरिएको छ । काठमाडौंमा घर भएको अवस्थामा मर्मत खर्च भनेर एक लाख रुपैयाँ दिइने छ। उहाँको घर भएको भन्ने सुनिएको छ। एक लाख रुपैयाँ पाउनुहुनेछ।’’

उनका अनुसार तत्कालीन नेपाल सरकारको निर्णय अनुसार पूर्व राष्ट्रपतिलाई मासिक ५० हजार रुपैयाँ पनि उपलब्ध गराइने छ । घरमा बिजुली, पानी र पत्रपत्रिकाको बिल अनुसार पैसा दिने भनिएको छ । साथै भण्डारीले निजी सचिवालयको लागि उपसचिवस्तरको कर्मचारी, सवारी चालक पनि सुविधा लिनेछिन्।

त्यस्तै, पूर्व राष्ट्रपतिलाई सवारी साधन र सोसरह इन्धन उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको अधिकारीहरू बताउँछन् । तामाङका अनुसार विशिष्ट व्यक्तिको सुरक्षा उपलब्ध गराउनका लागि २०७७मा सरकारले स्वीकृत गरेको कार्यविधिमा आधारित रहेर सुरक्षाकर्मी गृह मन्त्रालयले उपलब्ध गराउने गरेको छ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई अनावश्यक सुविधा उपलब्ध गराएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । रिटमा अदालतले कानुन बनाएर मात्र सुविधा दिन भनेको थियो। तर, त्यो सुविधाबारे सरकारले अहिलेसम्म कानुन नै बनाएको छैन ।

सर्वोच्च अदालतले २०६८ सालमा कानुन बनाएर मात्रै पूर्व पदाधिकारीलाई सुविधा उपलब्ध गराउन आदेश दिएको थियो । त्यसपछि सरकारले पूर्व पदाधिकारीको सुविधाबारे कानुन बनाउन भन्दै संसदमा पटकपटक विधेयक लगे पनि पूर्णता पाउन सकेको छैन।

यसअघि, पूर्व राष्ट्रपति डा‌. यादवलाई सरकारले औषधोपचार खर्च भन्दै लाखौँ रुपैयाँ दिइसकेको छ । पूर्वराष्ट्रपति यादवलाई हालसम्म ३५ लाख रुपैयाँ औषधोपचार खर्च उपलब्ध गराइएको गृह मन्त्रालयले जनाएको छ। यस्तै, जीवनयापन खर्च भन्दै केही लाख रकमसमेत दिइएको बताइएको छ।

विभिन्न शीर्षकमा राज्य कोषलाई ठूलो व्ययभार पर्ने गरी सुविधा दिँदा राजाको ठाउँमा नयाँ छोटे राजा भएको भन्दै कतिपयले आलोचना गर्दै आएका छन् । राजाले राज्यको दोहन गरे भनेर चर्को आलोचना भइरहँदा गणतन्त्रका हिमायतीले पनि उस्तै कार्यशैली देखाएको गुनासो आउनु अस्वाभाविक नभएको जानकार बताउँछन्।

भण्डारी राजनीतिमा स्थापित व्यक्ति हुन । उनको पहिलेदेखि नै आम नेपाली नागरिकभन्दा माथिल्लो स्तरको जीवनशैली थियो । सामान्यतया उनले सरकारको सुविधा नलिँदा पनि गर्जो टर्न गाह्रो हुने अवस्था नरहेको पारिवारिक स्रोतको दाबी छ।

पहिलो महिला राष्ट्रपति बन्न सफल हुनु आफैँमा ऐतिहासिक सम्मान थियो तर, यदि माग्दा पाइन्छ भने किन नलिने भन्ने मानसिकता देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved